मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार १ आइतबार ०८:०८:००
Read Time : > 1 मिनेट
समाचार

सडक नै नभएको ठाउँमा  आठ करोडको पुल 

पुल निर्माण सुरु भएपछि मात्र स्थानीयले थाहा पाए, सडकको ट्रयाक खोलिँदै

Read Time : > 1 मिनेट
२०७६ असार १ आइतबार ०८:०८:००

सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन । 

गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो । दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो । ५० लाख बजेट खर्चेर विभागले पुलसम्म पुग्ने झन्डै डेढ किलोमिटर बाटो बनाएपछि बल्ल स्थानीयले थाहा पाए खोलामा पुल बन्दै छ भनेर । त्यसअघि न सडकको ट्र्याक नै थियो, न त पुल हुँदै पुग्ने गन्तव्यका बारेमा चर्चा नै । 

सडक विभागले ०७१ मा ६० मिटर लामो आर्क डिजाइनको पुल बनाउन लगाएको ठेक्काअनुसार अहिले काम भइरहेको छ । ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दी र पुलसम्म पुग्ने सडककै कारण काममा ढिलाइ भएको जनाएको छ । बन्चरेबाट उक्त पुलसम्म पुग्ने सडक अहिले पनि पूरै अस्तव्यस्त छ । सो बाटो भएर कुनै पनि सवारीसाधन चल्ने अवस्थासमेत छैन । कन्काई इन्टरनेसनल बिल्डर्सले दोलखाको रिमाल निर्माण सेवालाई सब कन्ट्र्याक्टरका रूपमा कामको जिम्मेवारी सुम्पेको थियो । दोलखास्थित रिमाल निर्माण सेवाका प्रमुख हेमराज रिमालले दुवैतर्फ आवत–जावत गर्ने एप्रोच सडक नभएकै कारण काममा ढिलाइ भएको बताए । त्यसबाहेक ठेक्का सम्झौता भएलगत्तैको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दीले समेत काममा उल्लेख्य प्रगति हुन नसकेको रिमालको दाबी छ । 

स्थानीय बुधवीर थामीले आफूहरूले धेरैपछि मात्रै पुल बन्न लागेको खबर थाहा पाएको सुनाए । सुरुमा सडक नै नभएको ठाउँमा पुल बनाउन लागेको देख्दा आफूहरू निकै अचम्ममा परेको उनको भनाइ छ । 

तीन महिनामा पुल निर्माण सकिने
अहिलेसम्म गुमुखोला पुल निर्माणको भौतिक काम ६० र आर्थिक प्रगति १५ प्रतिशत मात्रै पूरा भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाका इन्जिनियर पुरुषोत्तम भण्डारीले पुल निर्माणको जटिल काम आर्क विस्तार भइसकेको जानकारी दिए । निरन्तर काम हुने हो भने दुईदेखि तीन महिनासम्ममा काम सम्पन्न हुने उनले बताए । 

इन्जिनियर भण्डारीले पुल ठेक्का लाग्दा उक्त ठाउँमा सडकको ट्रयाक नै नभएको स्विकार्दै त्यसबारे आफूलाई जानकारी नरहेको बताए । ‘विभागले स्वीकृत कार्यक्रमका आधारमा ठेक्का लगायो, त्यसपछि व्यवसायी छानिए, हामी काममा लाग्यौँ अरू जानकारी छैन,’ उनले भने । उनका अनुसार दुई वर्षअघि नै ठेक्काको म्याद सकिए पनि एक साताअघि भएको नियमावलीको सातौँ संशोधनका आधारमा म्याद थपको प्रक्रिया अघि बढ्नेछ । 

कालिञ्चोक गाउँपालिका–४ गुमुखोलाबाट गौरीशंकर गाउँपालिका–२ जुँगु तर्ने पुलबाट पछिल्लो समय स्थानीय तहहरूले बजेट विनियोजन गरी नाम्दु क्षेत्रपा सडकको एबो भन्ने ठाउँ र लामोसाँघु–जिरी सडकखण्डको सिद्धाथानसम्म पहुँच पुग्ने गरी सडकको ट्र्याक खनिरहेका छन् । सडक निर्माणको काम भइरहेको गौरीशंकर गाउँपालिका–४ का वडाध्यक्ष प्रह्लाद कार्कीले जानकारी दिए । 

पुल निर्माणबारे भौतिक मन्त्रालयका सचिव नै अनभिज्ञ
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुल बनिसकेपछि त्यसको प्रयोग गर्नुको विकल्प नरहेको बताए । उनले सो ठाउँमा महँगो र आधुनिक पुल बन्ने कार्यक्रम कसरी पर्‍यो भन्नेमा आफू अनभिज्ञ रहेकोसमेत जानकारी दिए । ‘अब पुल निर्माण सम्पन्नको तयारीमा पुगिसकेपछि त्यसबारे बहस गर्नु कुनै अर्थ छैन,’ कार्कीले भने । पुलको अधिकतम प्रयोग गर्न स्थानीय तह सडक निर्माणमा सक्रिय हुनुपर्ने उनको भनाइ छ ।