मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु थापा
२०७५ मङ्सिर २९ शनिबार ०९:३४:००
Read Time : > 3 मिनेट
अर्थ

एकल बिमाशुल्क भुक्तानी जीवन बिमा

Read Time : > 3 मिनेट
मञ्जु थापा
२०७५ मङ्सिर २९ शनिबार ०९:३४:००

भविष्यको सुरक्षा र बचत दुवै प्रयोजनार्थ जीवन बिमा गर्ने गरिन्छ । बजारमा कम्पनीहरूले विभिन्न प्रकारका जीवन बिमा लेख बिक्री गरिरहेका छन् । त्यसैले कुनै पनि व्यक्तिले आफूलाई अनुकूल हुने बिमा लेख खरिद गर्न सक्छन् । बिमा कम्पनीहरूले बिक्री गरिरहेका विभिन्न बिमा लेखमध्ये निकै चलेको एकल बिमा शुल्क भुक्तानी पनि हो । 

सामान्यतया जीवन बिमा लेखको बिमाशुल्क भुक्तानी त्रैमासिक, अर्धवार्षिक र वार्षिक हुन्छ । केही बिमा लेखमा मासिक भुक्तानीको सुविधा पनि दिइएको हुन्छ । बिमाशुल्क कति–कति अवधिमा तिर्ने गरी बिमा लेख खरिद गरिएको छ, सोहीअनुसार प्रथम बिमाशुल्क भुक्तानीपछि बिमाशुल्क तिर्दै जानुपर्छ । कम्पनीहरूले बिक्री गरेका बिमा लेखहरू हेर्ने हो भने अधिकांश बिमितले वार्षिक वा अर्धवार्षिक रूपमा बिमाशुल्क भुक्तानी गर्ने विकल्प छनोट गरेका पाइन्छन् । यसो गर्नुको मुख्य कारणमा बिमाशुल्क भुक्तानी गर्ने मिति पटक–पटक सम्झनुपर्ने झन्झटबाट मुक्त हुन र बिमाशुल्कमा पाइने छुट रहेको पाइन्छ ।

एकल बिमाशुल्क भुक्तानीमा भने सम्पूर्ण बिमाशुल्क बिमालेख जारी भएको समयमै तिर्नुपर्छ । सामान्यतया यस्तो बिमाको अवधि ५ देखि ४० वर्षसम्म रहेको पाइन्छ भने बिमाशुल्क अवधिका आधारमा तय गरिएको हुन्छ । यो पनि अरूजस्तै बिमालेख हो । यसमा बिमाशुल्क भुक्तानी गर्ने तरिका मात्र फरक हुन्छ । यसमा बिमालेख व्यतीत हुने जोखिम रहँदैन भने बिमितलाई पनि पटक–पटक सम्झिएर बिमाशुल्क बुझाउनुपर्ने झन्झट पनि रहँदैन ।

 समर्पण मूल्यमा सजिलो 
सामान्यतया बिमालेखहरूमा बिमित कम्तीमा पनि दुई वर्षको बिमाशुल्क भुक्तानी गरेपछि मात्र समर्पण मूल्य प्राप्त गर्न योग्य हुन्छन् । बिमाशुल्क वार्षिक भुक्तानी गर्ने गरी खरिद गरिएकामा बिमालेख जारी भएको १ वर्षपछि र अर्धवार्षिक रूपमा बिमा शुल्क भुक्तानी गर्ने गरी खरिद गरिएकामा बिमालेख जारी भएको १ वर्ष ६ महिनापछि मात्र समर्पण मूल्य प्राप्त हुन्छ । तर, एकल बिमाशुल्क भुक्तानी हुने गरी जारी भएका बिमालेखमा भने जारी भएको मितिले ३० दिनपछिदेखि नै समर्पण मूल्य प्राप्त हुन्छ ।

समर्पण मूल्य भनेको बिमितले कुनै विशेष कारणले बिमालेख सुचारु गर्न नसक्ने भएमा निजले भुक्तानी गरेको बिमाशुल्क, बाँकी रहेको बिमा अवधिका आधारमा विशेष सूत्र लगाएर निकालिएको बिमालेखको आजको मूल्य (डिस्काउन्टेड भ्यालु) हो । बिमालेखको धितोमा ऋण लिनुपर्ने भएमा पनि समर्पण मूल्य निकालेर बढीमा त्यसको ९० प्रतिशतसम्म ऋण लिन सकिन्छ । त्यसैले अन्य बिमालेखमा बिमालेखको धितोमा ऋण लिनुपरेमा वा बिमालेख समर्पण गर्नुपरेमा कम्तीमा पनि ३६५ दिन पर्खनुपर्ने हुन्छ, तर एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखमा हालको व्यवस्थाअनुसार ३० दिनपछि नै समर्पण मूल्य वा ऋण दुवै प्राप्त गर्न सकिन्छ ।

 सुविधामा उस्तै हो
कुनै पनि व्यक्तिले वार्षिक रूपमा बिमाशुल्क भुक्तानी गर्ने गरी १० लाख रुपैयाँको १५ वर्षे जीवन बिमालेख खरिद गरेको छ भने उसले उमेरअनुसार वार्षिक ६५ हजार रुपैयाँको हाराहारीमा बिमाशुल्क बुझाउनुपर्छ । सोही जीवन बिमा एकल बिमाशुल्क भुक्तानी हुने गरी लिएमा एकमुष्ट करिब ८ लाख २५ हजार रुपैयाँको हाराहारीमा तिर्नुपर्ने हुन्छ । जीवन बिमालेख खरिद गर्न चाहनेले के बुझ्नु आवश्यक छ भने त्यसरी वार्षिक ६५ हजारको हाराहारीमा बिमाशुल्क बुझाउने र एकमुष्ट ८ लाख रुपैयाँभन्दा बढी बिमाशुल्क बुझाउने दुवैले प्राप्त गर्ने सुरक्षा (सुविधा)मा भने केही पनि फरक हुँदैन । दुवैले बिमा प्रारम्भ भएको मिति र समयबाटै १० लाख रुपैयाँबराबरकै रक्षावरण गरेका हुन्छन् । त्यस्तै दुवै बिमालेखमा प्राप्त हुने बोनस पनि उस्तै हुन्छ । 

बिमालेख धितो राखेर ऋण लिन पाइने सुविधा सबै बिमा कम्पनीले उपलब्ध गराएको छ । समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पाइन्छ । तर, एकल बिमाशुल्कको हकमा पहिलो वर्षमा करिब ८० प्रतिशत, दोस्रो वर्षमा ८५ प्रतिशत र त्यसपछिका वर्षहरूमा मात्र ९० प्रतिशत लिन पाइन्छ । यसरी लिइएको ऋणमा ब्याज तिर्नुपर्ने हुन्छ । बिमा कम्पनीहरूको आ–आफ्नै नीतिअनुसार ब्याजदर निर्धारण गरेका हुन्छन् । तैपनि, यस्तो ऋणमा प्रायः ११ प्रतिशत ब्याज लगाइन्छ ।

 अभिकर्तालाई मात्र नसुनौँ
बिमा गराएबापत बिमितले तिर्ने बिमाशुल्कको निश्चित प्रतिशत रकम बिमा अभिकर्ताले कमिसनका रूपमा पाउँछन् । कमिसनको दर बिमालेखको अवधि, भुक्तानीको प्रकारलगायतमा निर्भर हुन्छ । जीवन बिमा कम्पनीहरूले आफ्नो बजार हिस्सा बढाउन अभिकर्ताहरूलाई नियमित कमिसनबाहेक पनि निश्चित टार्गेट पुर्‍याएमा विभिन्न प्रकारका सुविधा दिने घोषणा गरेका हुन्छन् । त्यसैले एकातिर कमिसनको लोभ र अर्कोतिर कम्पनीले घोषणा गरेका सुविधा प्राप्त गर्ने लालचका कारण पनि अभिकर्ताले आफूलाई अनुकूल हुने बिमालेख खरिद गर्न विभिन्न तरहले बाध्य बनाएको हुन सक्छ । बिमालेख आफूले खरिद गर्ने हो । बिमाशुल्क आफूले तिर्नुपर्ने हो । त्यसबापत प्राप्त हुने सुविधा बिमितले नै प्राप्त गर्ने हो । त्यसैले बिमित आफूले खरिद गर्न लागेको बिमालेख र त्यसबापत प्राप्त हुने सुविधाबारे स्पष्ट हुनैपर्छ । त्यसका लागि सोधपुछ गर्न, कम्पनीका वेबसाइट हेर्न, अन्यसँग पनि सोधपुछ गर्न हिचकिचाउनुहुँदैन । हतारमा निर्णय गरेर पछि पछुताउनु पक्कै पनि राम्रो हुँदैन । 

 यस्ता व्यक्तिका लागि उपयुक्त
एकमुष्ट बिमाशुल्क भुक्तानी गर्नुपर्ने यस्तो बिमालेख खरिद गर्दा पटक–पटक बिमाशुल्क भुक्तानी गर्नुपर्ने झन्झट हुँदैन । कोही कसैलाई निश्चित समयावधिपछि मात्र पैसा चाहिएको हुन सक्छ । र, अहिले उसले जग्गा बिक्रीबापत, अवकाशमा उपदानका रूपमा वा कुनै पनि माध्यमबाट ठूलो रकम प्राप्त गरेको हुन्छ । ऊ त्यो रकम बचतसँगै आफ्नो जीवन सुरक्षा (जोखिम बहन) पनि बनोस् भन्ने चाहन्छ भने त्यस्ता व्यक्तिका लागि यस्तो बिमालेख उपयुक्त हुन्छ । र, यो त्यस्तै व्यक्तिहरूका लागि डिजाइन गरिएको योजना हो । 

 निर्णय तपाईंकै हातमा
बिमाको मुख्य उद्देश्य सुरक्षा हो । त्यसैले यसलाई अन्य वित्तीय उपकरणजस्तो उच्च प्रतिफल दिने साधनका रूपमा लिइनुहुँदैन । जीवन बिमा कम्पनीहरूलाई मनपरी लगानी गर्ने स्वतन्त्रता हुँदैन । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको निर्देशनबमोजिम बिमा कम्पनीले बिमितको पैसा सुरक्षित हुने गरी तोकिएका क्षेत्रमा मात्र लगानी गर्नुपर्ने हुन्छ । लगानी गर्ने क्षेत्रको सीमितताका कारण बिमा कम्पनीको प्रतिफल पनि सीमित हुन्छ । त्यसैले जीवन बिमामा बोनसको माध्यमबाट निकै उच्च प्रतिफल प्राप्त गर्ने अपेक्षा गर्नुहुँदैन । सीमित साधनस्रोतको उच्चतम् सदुपयोग हुने गरी गरिएको निर्णय नै विवेकपूर्ण कदम हुन्छ । त्यसैले भोलिका दिनमा आफैँलाई अप्ठ्यारो पर्ने निर्णय कसैले पनि गर्नुहुँदैन ।
(थापा बिमा समितिका सहायक निर्देशक हुन् ।)