१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७५ पौष १६ सोमबार ०९:०३:००
Read Time : > 1 मिनेट
विश्व

हिंसाबीच बंगलादेशमा आमनिर्वाचन

चुनावसँग सम्बन्धित हिंसामा कम्तीमा १५ को मृत्यु

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष १६ सोमबार ०९:०३:००

बंगलादेशमा हिंसाबीच आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मतदानका क्रममा विभिन्न ठाउँमा हिंसात्मक घटना भएको छ । चुनावसँग सम्बन्धित हिंसामा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । बंगलादेशमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको थियो । होहल्लाकै भरमा हिंसा मच्चिने आशंकामा निर्वाचनअवधिभर इन्टरनेट सेवा बन्द गरिएको थियो । निर्वाचनमा महिलाको न्यून सहभागिता रहेको थियो । निर्वाचनमा देशभर धाँधली भएको गुनासो बढेको र यसबारे अनुसन्धान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रहरीसँगको झडपमा १५ जनाको मृत्यु
मतदान केन्द्रमा विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप भएका विवरण सार्वजनिक भएका छन् । दक्षिणी सहर बासखालीमा विपक्षीहरूले मतदान केन्द्रमा आक्रमण गरेको र जवाफी कारबाहीमा प्रहरीले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा आधा दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले बताए । त्यसैगरी, दक्षिणपूर्वी क्षेत्रमा पर्ने रंगमती जिल्लामा पनि विपक्षीहरूले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तै, देशका अन्य मतदान केन्द्रमा भएका झडपमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिंसाका कारण केही क्षेत्रमा मतदान स्थगित भएको छ ।

ठूलो संख्यामा प्रहरी परिचालन
मतदान अवधिभर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । देशभर ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन अभियान सुरु भएदेखि नै हिंसाका घटना बढेकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । सुरक्षाकर्मीलाई विभिन्न समूहमा विभाजन गरेर मतदान केन्द्रमा खटाइएको थियो । यसअघि निर्वाचन प्रचारका क्रममा भएको हिंसामा १३ जनाको मृत्यु भएको र अन्य हजारौँ घाइते भएका थिए ।

अवामी लिग र बिएनपीबीच मुख्य प्रतिस्पर्धा
मुस्लिम समुदायको बाहुल्यता रहेको बंगलादेशमा प्रधानमन्त्री सेख हसिनाको दल अवामी लिग र प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपी) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानमन्त्री सेख हसिनाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएकी छिन्, तर विपक्षीहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन् । सेख हसिनाको अवामी लिग (एएल) ले सन् २००९ देखि बंगलादेशमा सत्ताको बागडोर सम्हालिरहेको छ । उनकी दीर्घकालीन प्रतिद्वन्द्वी खालिदा जिया भ्रष्टाचार अभियोगमा यसै वर्षको सुरुदेखि जेलजीवन बिताइरहेकी छिन् । जियाको अनुपस्थितिमा पूर्वपरराष्ट्रमन्त्री कमल हुसेनले विपक्षी गठबन्धनको नेतृत्व गरेका छन् ।

 दुई नेतृको बढ्दो मतभेद
प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपी) की नेतृ बेगम खालिदा जिया भ्रष्टाचार आरोपमा ढाकास्थित जेलमा छिन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् । दुवै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिमा सक्रिय छन् । यसअघि दुवै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापनामा महत्पूवर्ण भूमिका निभाएका थिए ।
सन् १९९१ मा प्रधानमन्त्रीमा जिया विजयी भएपछि यी दुई महिला नेतृबीच चरम विवाद बढेको छ । त्यसपछिका चुनावबाट यी दुई नेतृ पालैपालो प्रधानमन्त्री बनेका छन्, तर प्रतिशोधको राजनीति चरम बिन्दुमा पुगेको छ । अदालतले जियालाई भ्रष्टाचार अभियोगमा १७ वर्षको जेलसजाय तोकेको छ । आइतबार सम्पन्न निर्वाचनमा विजयी भए सेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासीन हुने रेकर्ड बनाउनेछिन् ।