मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चिरञ्जीवी चापागाईं
२०७६ जेठ ३० बिहीबार १५:४२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

बिमाप्रति बढ्दो विश्वास

Read Time : > 4 मिनेट
चिरञ्जीवी चापागाईं
२०७६ जेठ ३० बिहीबार १५:४२:००

वित्तीय प्रणालीको एउटा महत्वपूर्ण अंगका रूपमा रहेको बिमा क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा काम गर्दै नियमनकारी निकाय बिमा समिति गत  बुधबार ५१औँ वर्षमा प्रवेश गरेको छ । यो सुखद कुरा हो । र पछिल्ला दशकमा यसले खेलेको भूमिका पनि उदाहरणीय रहेकामा गर्व महसुस हुन्छ । दिनदिनै क्षेत्र विस्तार हुँदै छ । बिमा कम्पनीहरूको पहुँच बढ्दै छ । साथै बिमा व्यवसाय पनि वृद्धि भएको छ । 

बिमाको योगदान 
खुसीको कुरा हो कि विश्व बजारमा बिमा क्षेत्र अपेक्षाभन्दा तीव्र गतिमा बढेको छ । नेपालमा पनि त्यो हावाले नछोएको होइन । विश्वमा सन् २०१६ को तुलनामा २०१७ मा बिमाशुल्क ४ दशमलव शून्य १ प्रतिशतले वृद्धि भयो । कारोबार ४८ खर्ब ९ अर्ब डलर थियो । कारोबारमा एसिया अगाडि देखिन्छ । बिमाशुल्क संकलन वृद्घिदर सात प्रतिशत छ । सबैभन्दा कम वृद्घिदर ओसेनियाको १ दशमलव ४१ प्रतिशत छ । विश्व बिमा बजारमा क्षेत्रगत अधारमा अमेरिका अगाडि छ । जुन ३४ दशमलव ३६ प्रतिशत छ । त्यसैगरी, बिमा क्षेत्रले युरोपमा सबैभन्दा बढी ६ दशमलव ४५ प्रतिशतका दरले कुल गार्हस्थ उत्पादनमा योगदान पु¥याएको देखिन्छ । सबैभन्दा कम अफ्रिकामा २ दशमलव ९६ प्रतिशत मात्र योगदान छ । 

नेपालमा बिमाको योगदान ३ प्रतिशत 
बितेको वर्ष मुलुकको वित्तीय प्रणालीका ३ वटै क्षेत्रहरू बैंकिङ, बिमा र धितोपत्र बजार अत्यधिक चलयमान रहे । मुख्य समाचारको विषय बनिरहे । बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहमा तालमेल मिलाउन नसक्दा वर्षैभरि ‘क्रेडिट क्रन्च’ भइरह्यो । धितोपत्र बजारअन्तर्गत वर्षको सुरुमा १ हजार ८ सयको हाराहारीमा रहेको नेप्से सूचक चैत आइपुग्दा १ हजार २ सयमा झ-यो । वित्तीय प्रणालीको अर्को महत्वपूर्ण क्षेत्र बिमा व्यवसायको भने उत्साहजनक कार्य रह्यो । इतिहासमै स्मरण गर्न लायक नतिजाका साथ अत्यन्तै सफल वर्षका रूपमा रहन गयो । ०७५ को सुरुमा १० प्रतिशत नागरिकमा बिमा सीमित थियो । ०७५ फागुनसम्म १७ दशमलव ६ प्रतिशत नाघ्यो । 

बिमा समितिको प्रक्षेपणअनुसार चालू आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्ममा बिमाको पहुँच करिब २० प्रतिशतसम्म पुग्नेछ । मुलुकको कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदान पनि क्रमशः बढ्दै गएको छ । अघिल्लो वर्ष कुल गार्हस्थ उत्पादनमा बिमाको योगदान २ दशमलव शून्य ३ प्रतिशत थियो । ०७५ सालको असार मसान्तसम्म आइपुग्दा २ दशमलव ६ प्रतिशत पुग्यो । हाम्रो प्रक्षेपणअनुसार चालू आर्थिक वर्ष ०७५÷७६ को अन्त्यसम्ममा कुल गार्हस्थ उत्पादनमा बिमाको योगदान ३ प्रतिशत पुग्नेछ । 

बिमाप्रतिको विश्वास 
यस वर्ष नेपाली बिमा क्षेत्रको विकासका लागि केही महत्वपूर्ण संस्थागत तथा कानुनी सुधार भए । यसले सर्वसाधारणको बिमाप्रतिको विश्वास बढाउने काम ग¥यो । यसको विस्तार पनि निकै उत्साहप्रद देखिन्छ । कम्पनीहरू गाउँ जान थालेका छन् । निष्क्रिय बसेका कम्पनीहरू सक्रिय भएका छन् । कम्पनीहरूमा भुक्तानी गर्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ । भुक्तानी सहज बन्दै छ । यसले बिमाप्रति विश्वास पनि बढ्दोे छ ।

४० अर्ब बिमाशुल्क संकलन 
हाल जीवन बिमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ पुगेको छ । ०७५ फागुनसम्ममा सबै जीवन बिमा कम्पनीमार्फत कुल ६० लाख ३० हजार बिमालेख बिक्री भयो । त्यसमध्ये करिब १ लाख ४६ हजार वैदेशिक रोजगार म्यादी जीवन बिमा छ । यसै अवधिमा जीवन बिमा कम्पनीले ४० अर्ब बिमाशुल्क संकलन गरे । पछिल्ला वर्षहरूमा जीवन बिमा कम्पनीको खुद मुनाफा, वार्षिक बिमाशुल्क, जारी बिमालेख संख्या र लगानी लगातार बढिरहेको छ । आर्थिक वर्ष ०७४र७५ मा जीवन बिमा कम्पनीहरूले समितिबाट १ सय ७ बिमालेख स्वीकृत गराएका थिए । 

अघिल्लो वर्ष कुल गार्हस्थ उत्पादनमा बिमाको योगदान २ दशमलव शून्य ३ प्रतिशत थियो । ०७५ सालको असारसम्म आइपुग्दा २ दशमलव ६ प्रतिशत पुग्यो । चालू आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्ममा कुल गार्हस्थ उत्पादनमा बिमाको योगदान ३ प्रतिशत पुग्ने अनुमान छ ।

निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको संख्या २० छ । ०७५ साल फागुन मसान्तसम्ममा सबै निर्जीवन बिमा कम्पनीमार्फत कुल १३ लाख ३८ हजार बिमालेख बिक्री भयो । यसै अवधिमा निर्जीवन बिमा कम्पनीले १४ अर्ब बिमाशुल्क संकलन गरे । निर्जीवन बिमा कम्पनीहरूको नाफामा र दाबी भुक्तानी पछिल्ला वर्षहरूमा उतार-चढाव हुँदै वृद्धि भइरहेको देखिन्छ । आर्थिक वर्ष ०७४/७५ मा निर्जीवन बिमा कम्पनीहरूले ४८ बिमालेखहरू स्वीकृत गराएका थिए । 

कृषिमा नयाँ-नयाँ बिमालेख 
चालू आर्थिक वर्षमा कृषितर्पm धेरै नयाँ खालका बिमालेख जारी गरेका छौँ । यो वर्ष मात्रै नेपाल सरकार कृषि मन्त्रालयको प्राविधिक सहयोगमा चिया, कफी र बाख्रा बिमालेख जारी गरियो । केही बिमालेख परिमार्जन पनि गरेका छौँ । जस्तै, माछा बिमालेख परिमार्जन ग-याैं । आगामी दिनमा सुन्तला र कागती बिमालेख जारी गर्ने क्रममा छाैं । बिगतमा लागतमा आधारित कृषि बिमालेखहरू जारी गरिन्थ्यो । गत वर्षदेखि उत्पादनमा आधारित बिमालेख तयार गरेका छाैं । 

सरकारले कृषि क्षेत्रको विकास र विस्तार एवं प्रोत्साहन गरी व्यावसायिक कृषिमार्फत उत्पादकत्व वृद्धिका साथै स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि बिमामा अनुदान दिँदै आएको छ । हालको नीतिअनुसार बिमाशुल्कको ७५ प्रतिशत सरकारले अनुदान दिने र बाँकी २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ । यस कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष ०७४/७५ मा १३ खर्ब २२ अर्ब रुपैयाँ बिमांकको ५७ करोड ४३ लाख रुपैयाँ बिमाशुल्क थियो । त्यसमध्ये सरकारबाट ४३ करोड ६ लाख रुपैयाँ अनुदान आयो । चालू आर्थिक वर्ष फागुन मसान्तसम्ममा ९ खर्ब ११ अर्ब बिमांकबराबरको ४२ करोड बिमाशुल्कमध्ये ३१ करोड ८२ लाख रुपैयाँ अनुदान प्राप्त हुने क्रममा छ । 

बिमकको नियमित निरीक्षण र सुपरिवेक्षण
हाम्रो चुनौतीमध्ये एक हो, निरीक्षण र सुपरिवेक्षण । बिमकहरूले समितिबाट जारी नीति, निर्देशन, मार्गदर्शन र परिपत्रलगायत सञ्चालक समितिबाट जारी गरेका नीतिहरूको परिधिभित्र रही कार्य गरेका छन्–छैनन् ? वित्तीय रूपमा स्वस्थ छन–छैनन् ? बिमितको हित संरक्षण भएको छ/छैन ? भन्ने सुनिश्चितताका लागि नियमित निरीक्षण र सुवरिवेक्षण गर्दै आएका छौँ । समितिले बिमकको निरीक्षणका क्रममा स्थलगत र गैरस्थलगत निरीक्षण गर्ने गरेको छ । समितिको गैरस्थलगत शाखाले बिमकहरूबाट प्राप्त सूचना, जानकारी एवं विवरणहरूको वित्तीय विश्लेषण गर्ने गर्छ । आव ०७४/७५ को अन्त्यतिर सम्पूर्ण बिमकहरूलाई त्रैमासिक वित्तीय विवरणका साथै वित्तीय अनुपातहरू पेस गर्ने गरी निर्देशन दिएका छाैं । समितिले बिमकहरूबाट प्राप्त वित्तीय अनुपातहरूको आवधिक परीक्षण गर्ने गरेको छ । अन्तर्राष्ट्रिय प्रचलनका आधारमा वित्तीय अनुपातहरूको ‘बेन्च मार्किङ’ गर्ने काम पनि सुरु गरेका छाैं । 

जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्न समितिबाट गैरस्थलगत रिपोर्टिङ दिग्दर्शन तयार गर्ने कार्य सञ्चालन गरेका छाँै । समितिले आव ०७५÷७६ को फागुन मसान्तसम्म १५ बिमकको परिपालनामा आधारित समष्टिगत सुवरिवेक्षण र १२ बिमकको विषयगत आकस्मिक स्थलगत निरीक्षण ग-यौँ । 

बिमकमा नेपाल वित्तीय प्रतिवेदनमान लागू 
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत आव ०७३/७४ देखि बिमा कम्पनीहरूमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) लागू गर्न निर्देशन गरेको थियो । त्यतिवेला आवश्यक तयारी गर्न सकिएन । त्यसैकारण एनएफआरएस लागू गर्न सकिएको थिएन । यसबाट समिति, बिमा कम्पनी र समग्र बिमा क्षेत्रबारे आलोचना हुँदै आएको थियो । सामान्यतया वैदेशिक लगानी आकर्षणका लागि अन्तर्राष्ट्रिय समुदायले समेत बुझ्ने लेखाको साझा भाषाका रूपमा रहेको अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान नेपालमा पनि लागू गर्ने राज्यको प्राथमिकतामा छ । 

यसै तथ्यलाई मध्यनजर गरी गत आव ०७४/७५ देखि सम्पूर्ण बिमा कम्पनीहरूले समितिले जारी गरेको बिमकको वित्तीय विवरणसम्बन्धी निर्देशन ०६५ बमोजिम बनाइएको वित्तीय विवरणका साथै एनएफआरएसअनुरूपको वित्तीय विवरणसमेत समितिमा पेस गर्न निर्देशन दिएका छाैं । पहिलोपटक एनएफआरएसअनुरूप वित्तीय विवरण बनाउँदा व्यावहारिक कठिनाइ र द्विविधा हुन्छ नै । त्यसले गर्दा बिमा कम्पनीहरूले गत आर्थिक वर्ष ०७४/७५ को वित्तीय विवरण अन्य वर्षहरूमा भन्दा केही ढिलो गरी पेस गरे । वित्तीय विवरण पेस गर्न बाँकी कम्पनीहरूलाई समेत समयसीमा तोकेर निर्देशन दिइसकेका छौँ ।