ब्याडमिन्टनका प्रिन्स

२०७६ जेठ ३० बिहीबार १३:५५:००

नेपाली खेलाडी कस्ता छन् ? प्रिन्स दाहालजस्ता छन् । नेपाली खेलाडीलाई खेल्न त आउँछ, तर बोल्न आउँदैन । आफ्नै घरभित्र त बोल्न लजाउने प्रिन्सले बाहिर बोल्नुपर्‍यो भने के होला ? ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड पावर्ड बाई गोल्डस्टार’को पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा पर्दा बोल्ने पालो प्रिन्सको पनि आयो । तर, उनको मुखबाट शब्द नै निस्केन । अवाक पो भए, उनी । अरू धेरै नेपाली खेलाडीजस्तै उनलाई पनि सबैका अगाडि धेरै बोल्न आउँदैन । 

त्यो मनोनयन घोषणाको कार्यक्रममा प्रिन्सको परिवारका सदस्य पनि उपस्थित थिए । प्रिन्सले बोल्न नसक्दा उनीहरू भने हाँसिरहेका थिए । एक प्रकारले त्यो अपेक्षित थियो । अहिले उनीहरूले योजना बनाएका छन्, अब प्रिन्सलाई बोल्न पनि सिकाउनुपर्छ । धन्न प्रिन्सलाई उनीहरूले राम्रो खेल्न सिकाउनुपरेन । ब्याडमिन्टनका यी किशोर खेलाडीको र्‍याकेट भने पक्कै बोल्छ र त्यसैले उनलाई वर्ष २०७५ को एउटा चर्चित खेलाडी बनाएको छ । 

नेपालमा धेरै लामो र समृद्ध इतिहास भएको खेलमा पर्छ, ब्याडमिन्टन । धेरै त्यस्ता किस्सा सुन्न पाइन्छन्, जसमा नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा तहल्का मच्चाएको घटना हुने गर्छ । यस्तै एउटा क्षण वर्ष २०७५ मा बुनियो, जतिवेला प्रिन्सले दुबईमा भएको जुनियर इन्टरनेसनल सिरिजमा स्वर्ण जिते । यो त्यस्तो उपलब्धि थियो, जसले उनलाई रातारात चर्चाको शिखरमा पुर्‍यायो । धेरैलाई भन्न कर लाग्यो, को हुन् यी ब्यान्डमिन्टनका प्रिन्स ? 

यसको सीधा उत्तर हो, दार्चुलामा जन्मिएका प्रतिभा हुन्, प्रिन्स । साँगामा रहेको नेपाल प्रहरीको स्कुलमा भर्ना भएपछि उनी ब्याडमिन्टनतिर यसरी तानिए कि यो नै उनको जीवनको सर्वाधिक महत्वपूर्ण भाग बन्यो । निकै मिहिनेती छन्, यी प्रिन्स । यही मिहिनेतले उनलाई सफल पनि बनायो र दिलायो दुबईको सफलता । उनी आफैं पनि भन्छन्, ‘मैले नेपालमा धेरै जितेँ, तर मलाई दुबईमा जितेको स्वर्ण विशेष लाग्छ ।’

किशोर उमेरमै पाएको सफलताले उनी पक्कै पुलपुलिएका छैनन्, उल्टै थप प्रयास गर्न तयार छन् । उनी भन्छन्, ‘यति ठूलो अवार्डको पिपुल्स च्वाइसको विधामा मनोनयन हुँदा म धेरै खुसी छु । मैले यसबारे सोचेकै थिइनँ । म एकदमै खुसी छु, व्यक्त गर्ने शब्द नै मसँग छैन ।’ त्यही शब्दको अभावकै कारण उनले मनोनयन घोषणाको दिन खासै बोल्न नसकेका हुन् । जे होस्, उनको यो भनाइमा सबथोक छ, उनको मनको कुरा । खालि के देखिन्छ भने यत्ति भन्दा उनी कति धेरै लजाए । खास भन्ने हो भने उनी ‘लामो रेसका घोडा’ हुन्, नेपाली ब्याडमिन्टनले प्रिन्सबाट धेरै आशा गर्न सक्छ । 

प्रतिकृया दिनुहोस