४० मेगावाटको खानीखोला निर्माण असोजमा सकिने 

मुलुककै सबैभन्दा उचाइमा विद्युत् उत्पादन

२०७६ जेठ ३० बिहीबार ०८:३१:००

मुलुककै सबैभन्दा उचाइमा निर्माणाधीन ४० मेगावाटको खानीखोला जलविद्युत् आयोजना आगामी असोजमा निर्माण सम्पन्न हुने भएको छ । समुद्री सतहबाट ३४ सय ५० मिटर उचाइमा रहेको आयोजनाको काम अहिले झन्डै ८० प्रतिशत सकिएको ग्रिनलाइफ हाइड्रोका निर्देशक केसाङ लामाले बताइन् । सन् ०१२ बाट सुरु भएको आयोजना दोलखाको गौरीशंकर–७ मार्बु कोप्लाङस्थित खानीखोला, हानपु र नाप्के खोलामा रहेको छ । ‘यो मुलुककै सबैभन्दा उचाइमा बन्न लागेको आयोजना हो । हिउँदमा हिउँ पर्छ । बर्खामा झरी आउँछ । ती दुवै सिजनमा काम गर्न सकिन्न । त्यसो हुँदा यहाँ निर्माणको काम तीन महिना मात्रै चल्छ,’ उनले भने, ‘हाई अल्टिच्युड लाग्ने भएकाले अन्यत्रका कामदारले यहाँ काम गर्न सक्दैनन् । सामान ढुवानी गर्न पनि उत्तिकै गाह्रो छ । असोजसम्म काम सक्ने लक्ष्य छ ।’

६ अर्ब ५० करोड लागतको जलविद्युत्का लागि प्रयोग हुने हानपु, नाप्के र खानी खोलाको स्रोत हिउँ भएकाले खोलामा निरन्तर पानी बग्छ । खानी खोलाबाट २५, हानपु र नाप्के खोलाबाट १५ गरी कुल ४० मेगावाट जलविद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । त्यसका लागि पहाड फोडेर करिब १९ किलोमिटर सुरुङ निर्माण गरिएको छ ।
सुरुङबाट ल्याइएको पानी ९ सय ४३ मिटर उचाइको भर्टिकल टर्वाइनमा खसालिनेछ । यसरी पानी खसाल्दा पानीको धार तेजिलो हुने र विद्युत् उत्पादन बढ्ने कम्पनीका इन्जिनियर तासी लामाले बताए । उनले भने, ‘हामीले यो हाइड्रोमा केही युनिक प्रविधि प्रयोग गरेका छौँ । सुरुङबाट संकलित पानीलाई ९ सय ४३ मिटर उचाइबाट तल झरिएको छ । त्यसमध्ये पनि चार सय ८० मिटरको भाग ९० डिग्रीको भर्टिकल एंगलमा झर्छ । यसो गर्दा पानी ज्यादा धारिलो हुन्छ । विद्युत् उत्पादन बढी हुन्छ । सम्भवतः यो नेपालकै नौलो प्रविधि हो ।’

कम लागत, बढी नाफा 
सदरमुकाम चरिकोटबाट ७१ किमि उत्तरी हिमाली क्षेत्रमा पर्ने आयोजनामा निर्माण सामाग्री ढुवानी गर्न कम्पनीले झन्डै ३१ किमि सडक आफैँ निर्माण गरेको छ । त्यस्तै, पहाडी क्षेत्रमा सामान ढुवानी गर्न १२ सय मिटरको दुईवटा रोपवे बनाएको छ । यी सबै खर्च जोड्दा पनि आयोजनाको विद्युत् प्रतिमेगावाट  बढीमा १७ करोड रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ । 

दोलखालाई हाइड्रो टुरिजम बनाइने 
मुलुककै उच्च भागमा निर्माणाधीन हाइड्रो सबैका लागि नमुना हुने भएकाले यसलाई हाइड्रो टुरिजम हबका रूपमा विकास गरिने दोलखाबाट निर्वाचित सांसद पार्वत गुरुङले बताए । ‘झन्डै ३५ सय मिटर उचाइमा हाइड्रो बन्दै छ ।  यहाँ प्रयोग भएको प्रविधि र सिप अरूका लागि पनि नमुना बन्न सक्छ । त्यसो हुँदा यसलाई हामी अब हाइड्रो टुरिजम हब बनाउँछौँ,’ उनले भने, ‘आयोजनाले खनेको सडकको अब स्तरोन्नति हुनेछ । यहाँबाट च्छोरोल्पा, गौरीशंकर हिमाल र  सगरमाथासम्मको यात्रा गर्न सकिन्छ ।’ 

प्रतिकृया दिनुहोस