१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ ३० बिहीबार ०८:२६:००
Read Time : > 1 मिनेट
अर्थ

चैतेधानको उत्पादन ३० प्रतिशत बढ्यो

बाली लगाउँदा उत्साहित हुने किसान मूल्य नपाउँदा सधैँ निराश

Read Time : > 1 मिनेट
२०७६ जेठ ३० बिहीबार ०८:२६:००

गौरादह नगरपालिका–९ बैगुन्धुराका किसान गोपाल घिमिरे यतिवेला धान उठाउने चटारोमा छन् । चैतेधान उठाएर जतिसक्दो चाँडो हिउँदे धानका लागि खेत तयार पार्न यतिवेला उनीसँगै झापाका किसान व्यस्त छन् । विशेष गरी गौरीगन्ज, कमल, शिवशताक्षी र गौरादह नगरपालिकाका किसान चैतेधान काट्न व्यस्त छन् । मनग्य सिँचाइ सुविधा पुगेका यी गाउँपालिकाका ३५ सय बिघामा रोपेको धान असार नलाग्दै पाकिसक्यो । 

तालिका बनाएर नियमित पानी उपलब्ध गराएका कारण ३० प्रतिशत उत्पादन बढेको कन्काई सिँचाइ प्रणालीका प्रमुख वीरेन्द्र यादवले बताए । सिँचाइ सुविधा उपलब्ध भएपछि अहिले यो क्षेत्रमा बर्सेनि दुई बाली अन्न उत्पादन हुने गरेको छ ।

उत्पादन बढ्यो, मूल्य छैन
 गत वर्ष ८ सय ५० रुपैयाँ प्रतिमनसम्म धानको मूल्य पाएका किसानले योपटक ५ सय रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता छ । ‘मल, बिउ, जोत्ने, रोप्ने सबै खर्च जोड्दा एक कट्ठा खेतमा धान रोप्न ७ सय रुपैयाँजति खर्च हुन्छ,’ बैगुन्धुराका किसान राजन बरालले भने, ‘तर, बेच्ने वेलामा चित्तबुझ्दो मूल्य पाइँदैन, चैतेधानको मूल्य सधैँ अस्थिर छ ।’

सिँचाइ सुविधाले उत्पादन बढे पनि किसानले धानको मूल्य पाउन नसकेकोमा कन्काई सिँचाइ प्रणालीका प्रमुख वीरेन्द्र यादवले बताए । ‘किसानले कहिल्यै राम्रो भाउमा धान बेच्न पाएनन्,’ उनले भने, ‘बाली लगाउने वेलामा उत्साहित हुने किसान धान बेच्ने वेलामा सधैँ निराश हुन्छन् ।’ कन्काई सिँचाइ जल उपभोक्ता संस्थाका सचिव नेत्रपति पोखरेलका अनुसार यस क्षेत्रका किसान उचित मूल्य नपाएर घाटामा छन् । ‘सरकारले आफैँ धानको मूल्य तोक्न सक्नुपर्छ, ठाउँठाउँमा ड्रायर मेसिन, उद्योग र भण्डारण गर्ने स्थल बनाइदिनुपर्छ,’ पोखरेलले भने, ‘यस विषयमा हामीले स्थानीय तहसँग छलफल गर्दा आश्वासन मात्र पायौँ ।’ 

मेचीकै ठूलो सिँचाइ प्रणाली
मेची अञ्चलकै ठूलो कन्काई सिँचाइ कन्काईको मूल नहर ३६ किलोमिटरसहित २२ वटा शाखाको ७४ किलोमिटर र २ सय ८७ वटा प्रशाखाको १ सय २५ किलोमिटर गरी कुल २ सय ३५ किलोमिटरको नेटवर्क छ । यो सिँचाइले ८ हजार हेक्टर क्षेत्रफल सिँचाइ गर्छ । त्यसमध्ये धान उत्पादन हुने क्षेत्र ७ हजार हेक्टर हो । सिँचाइ प्रणाली व्यवस्थित भएसँगै यहाँको धान उत्पादन बढेको छ । गत वर्ष ४.९ टन प्रतिहेक्टर उत्पादन भएको धान अहिले ५.१२ टन प्रतिहेक्टर छ ।