सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि आयात गरेको हो । ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत जडान गर्न सकिने भए पनि गुणस्तर मापनका लागि प्रयोगशाला नहुँदा प्रविधि प्रयोगमा आउन सकेको छैन । प्रविधि आयात र परीक्षण गरिए पनि लगानी गर्ने निकाय उत्साहित नहुँदा प्रविधिको प्रयोग भएको छैन । नास्टले जापान, चीन र अमेरिकाबाट एक–एकवटा मेसिन ल्याएर अनुसन्धान गरिरहेको छ । चीनबाट ल्याएको मेसिनले एकपटकमा १० केजी प्लास्टिक खपत गर्छ । जापान र अमेरिकाबाट ल्याएका मेसिन एक–एक केजी क्षमताका मात्रै छन् ।
प्रयोगशाला नहुँदा समस्या
प्लास्टिकजन्य फोहोर व्यवस्थापनको समस्या सुल्झाउन नास्टले सन् २०१५ देखि निरन्तर अनुसन्धान गरिरहेको छ । तर, प्लास्टिकबाट उत्पादित इन्धनको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सहयोग पुगेको छैन । चालू आर्थिक वर्षमा मात्रै अनुसन्धानका लागि एक करोड रुपैयाँ सकिएको छ ।
नास्टका प्रविधि विभाग प्रमुखसमेत रहेका वैज्ञानिक डा. रवीन्द्र ढकाल भन्छन्, ‘प्लास्टिकबाट पेट्रोल, डिजेल र मट्टितेल निकाल्न सकिन्छ, हामीले प्रयोग गरेर उत्पादन पनि गरेका छौँ तर गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा अहिलेसम्म यसलाई व्यवहारमा प्रयोग गर्न सकिएको छैन ।’ उनले नेपालमा इन्धनको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा प्लास्टिक फोहोर व्यवस्थापनका लागि थालिएको इन्धन उत्पादन गर्ने सपना पूरा हुन नसकेको बताए ।
वर्षेनी छुट्याइन्छ बजेट
बागमती सफाइ अभियानका क्रममा प्लास्टिकजन्य फोहोरको मात्रा बढी रहेको पाइएपछि दिगो समाधानका लागि नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अघि सारेको हो । नास्टको प्रस्ताव स्विकार गरी सरकारले वर्षेनी आवश्यक बजेट उपलब्ध गराउँदै आएको छ । तर, अनुसन्धान, छलफल, अन्तक्र्रिया र अवलोकनमा गरी चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ सकिएको नास्टले जनाएको छ । यो अवधिमा नास्टअन्तर्गत नै रहेर २० जना विद्यार्थीले खोज–अनुसन्धान गरी शोधपत्र (थेसिस) तयार गरेका छन् ।
नास्टले काठमाडौंसहित झापा, मोरङ, मकवानपुर, चितवन, नवलपरासी, सुर्खेत, बाँके, काभ्रेलगायत जिल्लामा उद्योग वाणिज्य संघसँग सहकार्य गरी स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी र सरोकारवालासँग अन्तक्र्रियासमेत गरेको छ । ती कार्यक्रममा आसपासमा रहेका प्लास्टिक फोहोर संकलन गरी उनीहरूकै अगाडि प्लास्टिकबाट इन्धन निकालेरसमेत देखाइएको ढकालले बताए ।
गुणस्तर मापन गर्ने प्रयोगशाला नहुँदा अविश्वास
उत्पादित इन्धनको गुणस्तर मापन गरी डिजेल, मट्टितेल या पेट्रोल के हो भनी छुट्याउन नसक्दा आममानिसले विश्वास गर्न नसकेको ढकाल बताउँछन् । उनी भन्छन्, ‘हामीले उत्पादन गरेको वस्तु इन्धन हो, तर गुणस्तर कस्तो छ भन्न सकिन्नँ, धेरै स्थानीय तहले प्रयोगमा ल्याउन प्रयास गरे पनि गुणस्तर परीक्षण नभएका कारण योजना रोकिएका छन् ।’ ढकालले उत्पादित इन्धन फर्नेस तेलका रूपमा भने प्रयोग गरिएको बताए ।
‘बजारमा उपलब्ध फर्नेस तेलभन्दा यो धेरै गुणस्तरीय छ, हामीले प्रयोग गरेर पनि हे-यौँ,’ उनले भने । ढकालका अनुसार इन्धनको गुणस्तर परीक्षणका लागि कोरिया र भारत पठाउने तयारी छ । इन्धनको गुणस्तर परीक्षण नभई व्यवसायीले लगानी गर्न नचाहेका उनले बताए । नास्टले उत्पादन गरेको इन्धनलाई नेपाल आयल निगमले पनि गुणस्तरीय भएको बताएको नास्टका वैज्ञानिक बताउँछन् । तर, आयल निगमसँग पनि गुणस्तर मापन गर्ने प्रयोगशाला छैन ।
स्थानीय तह उत्साहित
देशका धेरै स्थानीय तहलाई फोहोर व्यवस्थापन मुख्य चुनौती बनिरहेको छ । त्यसमा पनि प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न मुस्किल परिरहेको छ । नास्टले प्लास्टिकजन्य फोहोर छुट्याएर इन्धन निकाल्न सकिने जानकारी गराएपछि स्थानीय तह उत्साहित भएका नास्टका प्रवक्ता डा. सुरेश ढुंगेल बताउँछन् । उनी भन्छन्, ‘यो प्रविधिको प्रयोगबाट फोहोर व्यवस्थापन गर्न स्थानीय तह उत्साहित छन्, केही त अब छिट्टै प्रयोग गर्ने तयारीमा पनि छन् ।’
स्थानीय तहले मेसिन जडान गरी फोहोर प्लास्टिकबाट इन्धन निकाल्न एकपटकमा करिब चार करोड खर्च गर्नुपर्छ । एकपटक जडान भएको मेसिनले १५ वर्षसम्म काम गर्छ । नास्टका अनुसार चीनले बनाएको मेसिन हाल ४० भन्दा बढी देशमा प्रयोगमा छ । यो प्रविधिबाट ठूला राष्ट्रहरूले समेत फोहोर व्यवस्थापन गरेका छन् । प्लास्टिक फोहोरबाट विद्युत्समेत उत्पादन हुने नास्टका वैज्ञानिक बताउँछन् ।
नेपालमा पनि इको पार्टी जापानको सहयोगमा भूकम्पपछि प्लास्टिक फोहोर नफालौँ भन्ने सन्देशसहित देशका विभिन्न विद्यालयमा पुगेर प्लास्टिकबाट विद्युत् उत्पादन गरी नृत्य प्रतियोगिता गरिएको ढकालले बताए । उनी भन्छन्, ‘एक व्यक्तिले दैनिक सरदर तीन सय १७ ग्राम फोहोर फाल्छ । त्यसमध्ये १२ प्रतिशत फोहोर प्लास्टिकजन्य हुने गर्छ । प्लास्टिकजन्य फोहोरको करिब ६० प्रतिशतबाट मात्रै इन्धनका लागि प्रयोग गर्न सके पनि वातावरण प्रदुषण त कम गर्छ नै, मुलुकको इन्धन खपतमा पनि केही प्रतिशत योगदान पुग्ने देखिन्छ ।’ सरकारले आवश्यक बजेटको व्यवस्था गरिदिए नेपालमै इन्धन परीक्षण प्रयोगशाला स्थापना गर्नसमेत नास्ट तत्पर रहेको ढुंगेल बताउँछन् ।
पोलिथिनबाट बढी इन्धन
पोलिथिन, पिभिसी, प्लास्टिक बोतल, एलडिपी, पोली प्रोपाइलिन, पोलिस्टाइलिन प्लास्टिकका प्रकार छन् । तीमध्ये बोतल र पिभिसीबाट इन्धन बनाउन सकिँदैन । बाँकीमध्ये पोलिथिन प्लास्टिकबाट सबैभन्दा धेरै इन्धन बनाउन सकिने ढकाल बताउँछन् । उनका अनुसार सामान्यतः एक केजी प्लास्टिकबाट एक लिटर कच्चा पदार्थ तयार हुन्छ । ढकाल भन्छन्, ‘त्यसलाई सीधै फर्नेस तेलका रूपमा प्रयोग गर्न सकिन्छ । जो हाल भारतबाट आयातितभन्दा बढी गुणस्तरीय र सस्तो पनि पर्छ । तयार भएको कच्चा पदार्थलाई फिल्टर गरी डिजेल, पेट्रोल र मट्टीतेल पनि छुट्याउन सकिन्छ ।’