१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मी काफ्ले झापा
२०७६ जेठ ३० बिहीबार ०६:२७:००
Read Time : < 1 मिनेट
समाचार

८१ वर्षकी वृद्धालाई आठ वर्षदेखि बोक्सीको आरोप

वडामै मिलाउने भन्दै जनप्रतिनिधिले तीन साता उजुरी दर्ता गर्न दिएनन्

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले झापा
२०७६ जेठ ३० बिहीबार ०६:२७:००

तीन साताअघि मेचीनगर–९ को वडा कार्यालयमा पुगेर ८१ वर्षकी गंगामाया बस्नेत डाँको छाडेर रोइन् । ‘बाबु मलाई ८ वर्षदेखि छिमेकीले बोक्सीको आरोप लगाइरहेका छन्,’ उनले वडाध्यक्ष गोपाल खड्कालाई भनिन्, ‘यति दिनसम्म सहेरै बसेँ । अब त अति भो म कहाँ जाऊँ ?’ धुलाबारीस्थित पाथीभरा टोलमा ‘माता चोक’ छ । त्यहाँ मन्दिर बनाएर बसेकी छिन् आफूलाई ‘माता’ बताउने पवित्रा सिवाकोटी ।

उनीकहाँ एकदिन सोही वडाकी कुमारी चम्लागाईं ग्रहदशा हेराउन गइन् । माताले चम्लागाईंलाई बक्न लगाइन् । चम्लागाईं तिनै ८१ वर्षीया वृद्धा बनेर भनिन्, ‘म बस्नेतनी आमै हुँ । गोपाललाई मैले नै खाएँ । खसी पनि मैले खाएँ । १२ बजे राति नाच्छु । मेरी छोरी पनि मसँगै नाच्छे ।’ वडाको न्यायिक समितिले निवेदन लिन मानेन । त्यसपछि उनी ७ जेठमा प्रहरीकहाँ पुगिन् ।

वडाले गाउँको विवाद हामी गाउँमै मिलाउँछौँ भनेपछि प्रहरीले पनि उजुरी लिएन । त्यसपछि जनप्रतिनिधिले घटना वडा कार्यालयमै मिलाउन खोजे । ‘यो जमानामा पनि बोक्सीको मुद्दा बोकेर कसरी अदालत जानु ? वडाकै बेइज्जत हुन्छ भनेर मैले वडामै मिलाउन खोजेको हुँ,’ वडाध्यक्ष खड्काले भने । खड्काले बस्नेत, ‘माता’ सिवाकोटी र चम्लागाईंलाई राखेर सहमति गराए । तर, वडाले दिएको ‘न्याय’मा बस्नेतको चित्त बुझेन । ‘ऊ कतै जाने वेलामा मलाई देखे साइत बिग्रिन्छ भन्दै घरभित्र पस्थी,’ बस्नेत भन्छिन्, ‘यतिन्जेल सहेँ, अब सहन्नँ ।’ ‘बोक्सीको नातिनी’ भनेर नातिनीको बिहे हुन गाह्रो भएकोसमेत उनले दुःखेसो गरिन् ।

अन्ततः मंगलबार प्रहरीले उनको उजुरी दर्ता ग-यो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले जिल्ला अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ चम्लागाईंलाई पक्राउ गरिने जानकारी दिए । अन्धविश्वासले जकडिएका स्थानीय भने सयौँ बिरामी निको पारेको दाबी गर्ने माताको विश्वास गर्छन् । उनको मन्दिरमा भीड लाग्ने गरेको छ ।