मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ जेठ ३० बिहीबार ०६:१९:००
Read Time : > 1 मिनेट
प्रदेश

विपत्तिमाथि विपत्ति : कञ्चनपुरमा फेरि हावाहुरी, ७ घाइते

Read Time : > 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ जेठ ३० बिहीबार ०६:१९:००

एक साताभित्र दोस्रोपटक आएको हावाहुरीले कञ्चनपुरमा फेरि वितण्डा मच्चाएको छ । बुधबार बिहान साढे ६ बजेतिर आएको हुरीले सातजना घाइते भएका छन् भने २३ वटा घरमा क्षति पुगेको छ । एक साताअघि बिहीबार साँझ आएको हुरीबाट २३ जना घाइते भएका थिए भने, एक हजार पाँच सय ६१ वटा घरमा क्षति पुगेको थियो । पछिल्लो समय पश्चिम तराईका जिल्लामा हावाहुरी आउने क्रम बढेको छ । १७ चैतमा बारा र पर्सामा आएको टोर्नाडोबाट ३० जनाको ज्यान जानुका साथै ६ सय जनाभन्दा बढी घाइते भएका थिए ।

बुधबारको हुन्डरीबाट महाकाली नगरपालिका ६ दोधाराकी ६० वर्षीया फुलादेवी डाहा, ४५ वर्षीय बलबहादुर थापामगर, ३० वर्षीया कमला थापा, महाकाली नगरपालिका ५ की ४८ वर्षीया हिमादेवी मगर, भीमदत्त नगरपालिका १९ बाफाँटाकी १५ वर्षीया मीना भण्डारी र बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी लक्ष्मी उपाध्याय र पार्वती बुढा घाइते भएका छन् । दोधाराकी वृद्धा फुलादेवीको घर भत्किएर उनको ढाड भाँचिएको छ । उनको भारतीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेले महाकाली, दोधारा र बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् । 

महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले वडा नम्बर ६ दोधारा धामीटोलमा १० घरमा क्षति भएको बताए । उनले घाइते र क्षति भएका पीडित परिवारलाई नगरपालिकाकै तर्फबाट राहत दिइने बताए । ‘हाम्रोतर्फबाट हुने सहयोग गछौँ,’ सिजालीले भने, ‘थप राहतका लागि प्रदेश संघीय सरकारसँग माग गछौँ ।’ उनका अनुसार हावाहुरीले भानु मावि र सिर्जना आधारभूत विद्यालयको छानासमेत उडाएको छ । बेलडाँडी गाउँपालिकामा पाँचवटा घरमा क्षति पुग्नुका साथै कृषि शाखा भवनमा समेत क्षति पुगेको छ । गाउँपालिकाका प्रवक्ता अम्मरसिंह खत्रीले कृषि भवनको जस्ता उडाएर लगेको बताए । बेलौरी नगरपालिकामा एउटा घर र एउटा राइसमिल तथा पुनर्वास नगरपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । 

अघिल्लोपटक आएको हावाहुरीले महाकाली नदीपारि खासै क्षति पु-याएको थिएन । यसपटक भने यो यही क्षेत्रमा बढी क्षति भएको छ । साता दिनअघिको हावाहुरीबाट सबै पीडितले अझै राहत पाएका छैनन् । बेलौरी नगरपालिकाले त्रिपाल तथा आंशिक क्षति भएकालाई १५ सय र पूर्ण क्षति भएकालाई ३५ सय रुपैयाँ राहत दिने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाले एक करोडको विपत् कोष खडा गर्ने निर्णय गरेको छ । वेदकोट नगरपालिकाले घाइतेलाई जनही १० हजारका दरले राहत दिने बताएको छ । 

हावाहुरीबाट क्षति पुगेका कञ्चनपुरका प्रहरीचौकी पुनर्निर्माण र मर्मत भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ज्ञानबहादुर विष्टले बढी क्षति भएको झोलुंगे प्रहरीचौकी पुनर्निर्माण भने सुरु नभएको बताए ।