वैदेशिक रोजगारीका लागि ६ वर्षअघि कुवेत पुगेका धनुषाको जनकपुरधाम नगरपालिका–१६ कपलेश्वरका ४७ वर्षीय रामबाबु मोची सडक पार गर्ने क्रममा दुर्घटनामा परे । दुई लाख ऋण लिएर स्थानीय एजेन्टबाट २०१३ मा उनी कतार पुगेका थिए । करिब २७ महिना बसेपछि सवारी दुर्घटनाको सिकार हुन पुगे । तीन महिना कोमामा बसेपछि अस्पतालबाट डिस्चार्ज त भए, तर कम्पनीले वास्ता गरेन । त्यसपछि नेपालीकै सहयोगमा उनी भाँच्चिएको दाहिने हात र प्वाल परेको पेट लिएर नेपाल फर्किए । त्यसपछि शिक्षण अस्पताल काठमाडौंमा उनको शल्यक्रिया भयो ।
करिब १० महिना पेटमा पाइप लगाएर बस्नुपर्यो । तर, हात सीधा भएन । उपचारकै क्रममा उनले अनेकौँपटक वैदेशिक रोजगार विभाग धाए । तर, एक रुपैयाँ सहयोग पाएनन् । ‘बिमाको समय सकियो भनेर मलाई एक रुपैयाँ नदिई फर्काए,’ नयाँ पत्रिकासँग उनले आफ्नो पीडा सुनाए ।
आर्थिक अभावमा थप उपचार गराउन नसक्दा उनको हात अझै बांगै छ । जिल्ला प्रशासन कार्यालय धनुषाले गत २० माघमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई आवश्यक सहयोग गर्न पत्राचार गर्यो । तर, बोर्डले टेरपुच्छर लगाएन । त्यसपछि उनीसँग सर्वसाधारणसामु हात फैलाउनुको विकल्प रहेन । बांगिएको हात लिएर आर्थिक सहायता माग्दै उनी यतिवेला सिरहा आइपुगेका छन् । विभिन्न गाउँ, बजार घुम्दै सिरहा आइपुगेका मोचीले नयाँ पत्रिकामार्फत सहयोगको याचना गरे ।
पाँच छोरीको दायित्व काँधमा
पाँच छोरीका पिता उनी मागेर उपचार खर्च जुटाउँदै हिँडेका छन् । गाउँमा पाँच धुर जग्गा रहेका मोचीले वैदेशिक रोजगारीमा जानेवेला लिएको ऋणसमेत तिर्न सकेका छैनन् । तर, आर्थिक सहायता जुटे हातको उपचार गराउने र छोरीहरूप्रतिको उत्तरदायित्व निर्वाह गर्ने उनको चाहना छ । ‘मबाहेक घरमा काम गर्ने अरू कोही छैनन्, छोरीहरू हुर्काउने र पढाउने जिम्मेवारी मेरै काँधमा छ,’ उनले भने, ‘तर, आर्थिक अभावमा आफ्नै उपचार गराउन सकिरहेको छैन ।’