लेखकलाई दुई औँलाको भर

सहरमा संघर्ष

२०७६ जेठ २९ बुधबार १०:५९:००

मुकेश थापा

साहित्यकार महेश थापा (४१) कम्प्युटरछेउको कुर्सीमा बस्ने कोसिस गर्छन् । उनलाई श्रीमती निशा शर्माले त्यहाँ बसाउँछिन् । अनि महेश बलपूर्वक हातलाई कम्प्युटरको माउससम्म पु-याउँछन् ।  विगत १४ वर्षदेखि उनी यसरी नै लेखिरहेका छन् । तीनवटा कृति प्रकाशित गरिसकेका छन् । उनी दाहिने हातको साइली र माझी औँलाले ले मात्र टाइप गर्न सक्छन् । उनको पछिल्लो कथासंग्रह ‘मरिचिका’ केही साताअघि मात्र विमोचन भयो । महेश भन्छन्, ‘मैले आफ्नो इच्छा शक्तिलाई सिर्जनात्मकतामा ढालेँ, मेरो आत्मविश्वासकै कारण लेख्न सकेँ ।’

बसेका वेला पनि उनका घुँडा चलिरहन्छन् । उभिन भरसमेत दिँदैनन् । श्रीमती निशाकै सहारामा उभिन्छन् । निशाकै सहारामा गोडा चाल्छन् । तर, लर्बराउँदै । महेश भन्छन्, ‘पारिवारिक सपोर्टका कारण हौसला मिलेको छ, लेख्ने माहोल बनेको छ ।’ 

सर्लाहीको हरिवन–९ मा जन्मिएका महेश डेढ दशकअघि सर्लाहीबाट प्रकाशित हुने ‘अभियान’ साप्ताहिकका सम्पादक थिए । ०५९ सालमा माओवादी द्वन्द्वको खबर संकलन गरेर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परे । दाहिने हात भाँचियो । प्लास्टर निकालेपछि पनि दाहिने हात राम्रोसँग चलेन । पछि देब्रे हात पनि चलेन । अनि बिस्तारै खुट्टा र जिब्रोमा पनि समस्या देखिनथाल्यो । उनी थलिए । 

त्यही दुर्घटनाका कारण ‘मोटर न्योरन’ नामक रोगको सिकार भए । यो रोगले शरीरको नसालाई लगातार हमला गर्छ । अंगलाई लुलो बनाउँदै लान्छ । डाक्टरले उनलाई तीनदेखि पाँच वर्ष मात्रै बाँच्न सक्ने सुनाएका थिए । तर, रोगलाई आफ्नो आत्मविश्वास र हौसलामाथि हाबी हुन दिएनन् । उनी भन्छन्, ‘शरीरले साथ नदिए पनि मन र मस्तिष्कले साथ दिएको छ ।’

उनी बुद्धिचालका राम्रा खेलाडी थिए । राष्ट्रियस्तरको प्रतियोगिता खेलेर थुप्रै मेडल जितेका छन् । पछि मोटर न्युरनका कारण हात चलाउन सकेनन् । यत्तिसम्म कि चेसका गोटी उठाउन पनि नसक्ने भए । अनि खेल्न छाडे । 

तर, उनले लेख्नकै लागि धेरै संघर्ष गर्नु परेको छ । लेख्दा–लेख्दै औँला घोटिएर घाउ भए । उनले लेख्न भने छाडेनन् । उनी सुत्ने कोठाभरि किताब छरिएका छन् । बजारमा नयाँ किताब आए भने मगाएर पढिहाल्छन् । उनको दैनिकी लेखन र अध्ययनमा बितिरहेको छ । दैनिक १४/१५ घन्टा लेख्ने कोसिस गर्छन् । 

साहित्यकार प्रदीप नेपालले उनको हौसलामाथि इँटा थप्ने काम गरे । प्रदीप नेपालकै हौसलाका कारण पत्र–पत्रिकामा लेख पठाउन थाले । समसामयिक र राजनीतिक लेख पाठकले रुचाए । अनि हिमालखबर पत्रिकामा नियमित राजनीतिक स्तम्भ लेख्न थाले । एकपटक आफ्नो स्तम्भका लागि व्यंग्य पठाए । अनि लगातार तीन वर्ष व्यंग्य नै लेखे । 

उनी बुद्धिचालका राम्रा खेलाडी थिए । राष्ट्रियस्तरको प्रतियोगिता खेलेर थुप्रै मेडल जितेका छन् । पछि मोटर न्युरनका कारण हात चलाउन सकेनन् । यत्तिसम्मकी चेसका गोटी उठाउन पनि नसक्ने भए । अनि खेल्न छाडे । तर, चेसको भोक मेटिएको छैन । चेस छुटेपछि नै उनको अशक्त जीवनले सिर्जनात्मक बाटो पहिल्यायो । त्यसको श्रेय उनी आफ्नै गाउँका नवराज चौलागाईंलाई दिन्छन् । ‘नवराजले माउसबाट लेख्न सिकाएपछि म कम्प्युटरसँग लोभिएँ, आजकाल कम्प्युटर चलाउने लतै बस्यो,’ उनले भने । सुरुवाती चरणमा कम्प्युटर चलाउँदा हातमा धेरैपटक घाउ भयो । तर, उनले चलाउन छाडेनन् । त्यसैले तीनवटा पुस्तक प्रकाशन सम्भव भयो ।

उनको जीवन धेरै फेरिएको छ । फेरिएको जीवन बाँचुला भनेर सोचेका थिएनन् । डाक्टरले त मृत्युको मिति नै तोकिदिएका थिए । तर, उनको साहस यति धेरै थियो कि मृत्युलाई पनि जिते । महेश भन्छन्, ‘सांग हुँदा जीवनका उद्देश्य र महत्वाकांक्षा फरक थिए । अहिले अर्कै छ ।’

शरीरमा रहेका ऊर्जाले सोच्न सक्ने क्षमतामा फरकपना ल्याउने उनको भनाइ छ । भन्छन्, ‘सांग हुँदा अनेक मोह थियो अहिले लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ ।’
लेख्नका लागि संघर्ष गरिरहेका महेश ‘राइट टु डेथ’मा विश्वास गर्दैनन् । बरू जीवन सुन्दर, पीडारहित र बाँच्नयोग्य हुनुपर्छ भन्ने सोच्छन् । उनमा आशा पनि छ ।

भन्छन्, ‘मोटर न्युरनको औषधि गर्न पाए म फेरि सन्चो हुन्थेँ ।’ यही आशा र विश्वासले आफ्नो लेखनमा ऊर्जा थपिदिएको महेशको भनाइ छ । महेश आफूलाई प्रकृतिप्रेमी लेखक मान्छन् । साहित्यलाई जीवनका छिद्रमा चियाउने झ्यालका रूपमा व्याख्या गर्छन् । ‘साहित्य रथ तानिरहेको एकजोडी घोडाजस्तै हुनुपर्छ,’ उनको निष्कर्ष छ । 

 

 

प्रतिकृया दिनुहोस