मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बेलबारीस्थित वर्कसपमा सरसफाइ गर्दै स्वास्थ्यकर्मीको टोली । तस्बिर : नयाँ पत्रिका
२०७६ जेठ २९ बुधबार १०:४४:००
Read Time : > 1 मिनेट
प्रदेश

सुनसरीपछि मोरङमा पनि डेंगुको त्रास

Read Time : > 1 मिनेट
२०७६ जेठ २९ बुधबार १०:४४:००

मोरङको सुन्दरहरैँचा नगरपालिका र पथरी शनिश्चरे नगरपालिकामा डेंगु भाइरसका बिरामी भेटिएका छन् । सुन्दरहरैँचाका तीनजनामा डेंगुको संक्रमण पाइएको नगरपालिकाका स्वास्थ्य संयोजक उदेश श्रेष्ठले जानकारी दिए ।  त्यस्तै, पथरी शनिश्चरेमा एकजना बिरामी भेटिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए । सुनसरीको धरानले महामारीकै रूप लिइसकेको छ । तर, मोरङमा डेंगुका बिरामी भेटिएको यो पहिलो घटना हो । ‘डेंगु भन्ने अहिलेसम्म थाहा थिएन । यसपटक धरानलगायत सबैतिर त्रास छ । स्वास्थ्यकर्मीको टोलीले सम्झाएपछि अलिकति ढुक्क भएको छु,’ बेलबारी नगरपालिका–१० का ६५ रणबहादुर खड्काले भने ।  

स्थानीय तहको सचेतनामूलक कार्यक्रम
डेंगुको सम्भावित प्रकोप रोक्न मोरङका स्थानीय तहले सचेतनामूलक कार्यक्रम सुरु गरेका छन् । सुन्दरहरैँचा, बेलबारी, पथरी, उर्लाबारीलगायत नगरपालिको सरसफाइ अभियान सुरु गरेका छन् । बेलबारी नगरपालिकाले गाउँ–गाउँमा स्वास्थयकर्मीहरूको टोली पठाएको जनाएको छ ।

‘रोग लाग्नुभन्दा लाग्न नदिनु उत्तम उपाय भएकाले नगरवासीलाई समयमै सचेत गर्न स्वास्थ्यकर्मीको टोली पठाएका छौँ,’ बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले भने । नगर क्षेत्रका भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती र थापा चोकमा रहेका बाइक ग्यारेज, होटल,पसलहरूमा गएर टोलीले सरसफाइ गर्दै सचेतनामूलक कार्यक्रम गर्ने गरेको उनले 
जानकारी गरे ।

जमेको पानीमा लामखुट्टेका लार्भाहरू हुने भएकाले ग्यारेजमा सरसफाइ गरिएको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । उनले लामखुट्टेविरुद्धको औषधिसमेत बाँड्न थालिएको बताए । उर्लाबारी नगरपालिका तथा सुन्दरहरैँचा नगरपालिकाले पनि जोखिम क्षेत्रमा सरसफाइ अभियान चलाइरहेका छन् । 

मंगलबार ८९ जनामा संक्रमण

धरान/सुनसरीको धरानमा मंगलबार ८९ जनामा डेंगुको संक्रमण फेला परेको छ । यसअघि सोमबारसम्म संक्रमितहरूको संख्या तीन सय ६८ थियो । मंगलबारसम्म १४ सय जनाको परीक्षण गरिएको र चार सय ५७ जनामा डेंगुको संक्रमण फेला परेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहले जानकारी दिए । 

दैनिक रूपमा बिरामी बढेपछि मंगलबार सुनसरी–१ का प्रतिनिधिसभा सदस्य जयकुमार राईले प्रतिष्ठानका विज्ञ चिकित्सकहरूसँग महामारी नियन्त्रणका विषयमा छलफल गरेका छन् । छलफलमा प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार, अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक अस्पताल निर्देशक विकास साह, ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनाल, डा. नारायण भट्टराई, धरान–१८ का वडाध्यक्ष प्रवीणकुमार राईलगायतको उपस्थित थियो । छलफलमा बोल्दै रेस्क्यु टिमका संयोजक डाक्टर विजय खनालले स्थानीय जनप्रतिनिधिको सक्रियतामा मास परिचालन गरेर डेंगुका लार्भा तथा अन्डा नस्ट गर्नुपर्ने बताए ।