१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ २९ बुधबार १०:४७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

प्रविधिले बढाउँदै छ टेक्स्ट नेक समस्या

Read Time : > 1 मिनेट
२०७६ जेठ २९ बुधबार १०:४७:००

आजकलका अधिकांश मानिसमा प्रविधिमोह बढ्दो छ । कामको सिलसिलामा होस् या लतका कारण धेरै मानिस घन्टौँसम्म मोबाइल, ल्यापटप वा कम्प्युटरमा बिताउँछन् । प्रविधि प्रयोग अत्यधिक गर्नेमध्ये अधिकांश युवा छन् । मोबाइल, ल्यापटप कम्प्युटर आदिमा लामो समयसम्म बिताउने मानिसको काँध र पिठ्युको मांसपेशी झुक्ने गर्छ । जसका कारण शरीरका विभिन्न भागमा दुखाइ उत्पन्न हुन्छ । जसलाई टेक्स्ट नेक (टेक्स्ट सिन्ड्रोम) भनिन्छ । 

लक्षण

  •  मानिस सामान्य अवस्थामा रहँदा मांसपेशीहरू सीधा रहन्छन् । जसले गर्दा मांसपेशीमा भार पार्दैन । तर, निहुरिएर काम गर्दा टाउकोको भार गर्दन र मेरुदण्डमा पर्ने भएकाले मांसपेशीमा असर देखिन थाल्छ ।
  • सुरु–सुरुमा काँध र गर्दनमा सामान्य दुखाइ महसुस हुन्छ । तर, लगातारको अनियमित बसाइले दुखाइ बढ्दै जान्छ ।  लगातार निहुरिएर काम गर्दा मांसपेशी कमजोर हुन्छ र गर्दन दुख्छ ।  
  •  गर्दनको मांसपेशीको रेसामा स–साना चिरा पर्छन् । आरामको कमीले चिरामा जालो पर्न सक्छ । जसले गर्दा छालामा गिर्खा देखा पर्न थाल्छन् । ती पछिसम्म दुखिरहने हुन्छन् । 
  •  निरन्तरको झुकाइले ढाड र गर्दनको मांसपेशीमा बारम्बार भार पर्दा हड्डीको समस्या बढ्न थाल्छ । सुरुमा टाउकोपछाडिको तल्लो भाग र काँधमा दुखाइ उत्पन्न हुन्छ । बिस्तारै मेरुदण्डमा पनि असर पर्न थाल्छ । लगातार गर्दनको दुखाइ भए कतिपय अवस्थामा ढाडको हड्डीमा सीधा असर पर्न गई त्यो यथास्थानबाट पर सर्न सक्छ, जसले गर्दा शरीरमा झनै बढी दुखाइ हुन सक्छ । 
  •  कतिपय अवस्थामा अत्यधिक भार सहन नसकी मेरुदण्डका हड्डी छिटो खिइने र अरू हड्डी पलाएर नसा च्यापिने समस्या आउन सक्छ । 

उपचार

  •  मोबाइल, ल्यापटप र कम्युटरको प्रयोगविना काम गर्न असम्भवजस्तै भइसकेको अहिलेको अवस्थामा यस्ता प्रविधिको कम प्रयोग नै यसको उपचार हो । तर, समस्या देखिइसकेपछिको अवस्थामा औषधि प्रयोग र फिजियोथेरापीको माध्यमले प्रारम्भिक उपचार गर्न सकिन्छ । 
  •  हड्डीको समस्या धेरै नै बल्झिएको अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । औषधि प्रयोग र फिजियोथेरापी गरेपछि रोग पूर्ण रूपमा निको भएको भ्रम कतिपयमा छ । यद्यपि, यस्तो उपचारपछि पनि समस्या पटक–पटक दोहोरिने सम्भावना बढी हुन्छ । फलस्वरूप बिरामीले लगातार उपचारका लागि चिकित्सककहाँ गइरहनुपर्ने अवस्था सिर्जना हुन्छ ।