१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०९:०७:००
Read Time : > 2 मिनेट
सप्तरंग

अफेयर चल्दा हल गएनौँ : भवानी राणा

तर, हामी दुवै जना फिल्मका पारखी

Read Time : > 2 मिनेट
नवीन अर्याल काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०९:०७:००

फिल्म संवाद

फिल्म खुब हेर्नुहुन्छ रे । कस्ता फिल्म मन पर्छन् ?
राम्रो फिल्म छुटाउँदिनँ । राम्रो फिल्म छ भने नेपाली, हिन्दी र अंग्रेजी जुनै भाषाको पनि हेर्छु । नयाँ राम्रा फिल्म हेर्न हल नै जान्छु । हुन त अहिले म निकै व्यस्त हुन्छु । तर, व्यस्तताबीच पनि समय मिलाएर हेर्छु । नेपाली फिल्म पहिला त्यति हेरिँदैनथ्यो, अहिले धेरै हेरिन्छ । धेरैजसो परिवारसँग हल जान्छु । कहिलेकाहीँ साथीभाइसँग पनि गइन्छ । 

फिल्म राम्रो हो भन्ने कसरी थाहा पाउनुहुन्छ ? 
मेरो श्रीमान् फिल्म खुब हेर्नुहुन्छ । उहाँले नै सुझाब दिनुहुन्छ । कहिलेकाहीँ साथीभाइले बताउँछन् । एक्सन फिल्म लाग्यो भने छोराहरूको रहर पूरा गर्न हल जान्छु । कहिलेकाहीँ पत्रिका पढेर पनि थाहा पाइन्छ । फिल्म निर्माताले विज्ञापनसमेत गरिरहेका हुन्छन् ।

तपाईंले हेरेको पहिलो मुभी याद छ ?
मैले बच्चैदेखि फिल्म हेर्न थालेकी हुँ । सानोमा बुबाआमासँग फिल्म हेर्न गइन्थ्यो । ऋषि कपुरका पुराना फिल्म याद आउँछ । मेरो सम्झनामा रहेको पहिलो फिल्म ‘खेल खेल में’ हो । नेपालीमा गीतिनाटक हेरेँ, मुनामदन । सिन्दूर पनि पुरानो हो । 
प्रेममा रहँदा सँगै फिल्म हेर्न जानुभयो ?
त्यो वेला अहिलेजस्तो ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड भन्ने चलन थिएन । समाज पनि खुला थिएन । केटाको हात समाउन पनि डर लाग्ने समय थियो । कहाँ सँगै फिल्म हेर्न जानु र ? कहिल्यै गइएन । बरु विवाह भएपछि धेरैपटक गइयो । विवाह गरेर नेपालगन्ज बस्दा फिल्म हेर्न लखनउ पुगिन्थ्यो । इन्डियामा भएजस्ता स्टान्डर्ड हल नेपालगन्जमा नभएकाले पनि लखनउ धाइन्थ्यो । लखनउ तीन घन्टाको यात्रा थियो । हरेक हप्ता वा दश दिनमा लखनउ पुगिन्थ्यो । दुई दिन बस्यो । राम्रो रेस्टुरेन्टमा गयो, खायो । अलिअलि किनमेल गरेर फर्कियो । होटेलका सामान पनि किनेर ल्याउँथ्यौँ ।

तपाईंको घर भएको नेपालगन्जमा पनि फिल्म हेर्नुभएको छ ?
पहिला पुरानो हलमा फिल्म हेरेकी थिएँ । अहिले त क्युएफएक्सले नै हल सञ्चालन गरेको छ । राम्रो हल बनेको छ रे । तर, फिल्म हेर्न पाएकी छैन । समय नै मिलेको छैन । 

नयाँ र पुराना हलमा फिल्म हेर्नुको फरक के हुँदोरहेछ ?
अहिलेका आधुनिक हलमा पर्दा राम्रो राखेका हुन्छन् । पिक्चर राम्रो आउँछ । पुराना हलमा पिक्चर राम्रो आउँदैनथ्यो । कलर छुट्याउन पनि कठिन हुन्थ्यो । अहिलेका हलका सिट राम्रा छन् । सफा हुन्छ । एसी हुन्छ । ट्वाइलेट पनि सफा हुन्छन् । फिल्म हेर्न जाँदा रेस्टुरेन्टमा खान पाइन्छ । सिटिसी मलमा त सिटमा सुतेर फिल्म हेर्न पाइन्छ । खाना पनि सिटमै आइपुग्छ । पहिला त बेन्चमा बसेर पनि फिल्म हेरियो ।

त्यसवेला अहिलेजस्तो ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड भन्ने चलन थिएन । केटाको हात समाउन पनि डर लाग्ने समय थियो । कहाँ सँगै फिल्म हेर्न जानु र ? बरु विवाह भएपछि धेरैपटक सँगै फिल्म हेरियो । विवाह गरेर नेपालगन्ज बस्दा फिल्म हेर्न लखनउ पुगिन्थ्यो ।

जसरी हलमा सुधार आयो, त्यसरी नै नेपाली सिनेमामा पनि सुधार आएको छ ? 
अवश्य नै छ । मलाई याद छ, धेरै पहिला सिन्दूर फिल्म हेरेकी थिएँ । अहिले छक्का पञ्जा, शत्रुगते हेर्दा फिल्मको गुणस्तरमा धेरै सुधार पाएकी छु । फिल्म पनि हेर्नलायक बन्न थालेका छन् । अभिनयमा निखार आउँदै छ । कोरियोग्राफीमा पनि निखार आएको छ । फोरके क्यामेराले फिल्म खिच्न थालिएको छ । 

तपाईंलाई कस्तो मुभी मन पर्छन् ?
मलाई राजनीतिसँग जोडिएका फिल्म मन पर्छ । इतिहास, लभस्टोरी भएका फिल्म पनि मन पर्छ । ‘हेप्पी इन्डिङ’ मन पर्छ । स्याड इन्डिङ मन पर्दैन । एक्सन फिल्म पनि हेर्छु । मेरो श्रीमान् र छोरालाई एक्सन फिल्म एकदमै मन पर्छ । अंग्रेजी फिल्म पनि हेरिरहन्छु । पछिल्लोपटक हेरेका पद्मावत्, सञ्जु खुब मन परे । सञ्जु बेस्ट मुभी हो । अस्ति भर्खर ‘स्टुडेन्ट अफ दी इयर–२’ हेरेँ । 

मन पर्ने हिरो–हिरोइन को हुन् ?
दीपिका पादुकोण, प्रिति जिन्टा, माधुरी दीक्षित मन पर्छ । पुराना हिरोइनमा हेमा मालिनी, रेखा, नितु सिंह मन पर्छ । नयाँमा सलमान खान, शाहरूख खान, रणवीर कपुर मन पर्छ । नेपालीमा पनि थुप्रै हिरो–हिरोइन मन पर्छन् । दयाहाङ राईको अभिनय मन पर्छ । करिश्मा मानन्धर, प्रियंका, साम्राज्ञीले राम्रो अभिनय गर्छन् । नेपालमा पनि राम्रो अभिनय गर्ने कलाकार छन् ।

फिल्म हेर्ने समय कुन हो ?
दिउँसो प्रायः व्यस्त हुन्छु । राम्रो मुभी लागे रातिको सो हेर्न जान्छु ।