१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ २९ बुधबार ०८:३९:००
Read Time : > 3 मिनेट
सेयर बजार

सामान्य अंक बढ्यो नेप्से कारोबार रकम घट्यो

Read Time : > 3 मिनेट
२०७६ जेठ २९ बुधबार ०८:३९:००

जेठ १९ गतेदेखि निरन्तर ओरालो लागेको नेप्से मंगलबार सामान्य बढेर बन्द भएको छ । यस दिन नेप्से शून्य दशमलव शून्य १ प्रतिशित बढेर बन्द भएको हो । नेप्सेमा सुधार भए पनि यस दिनको कारोबार रकम भने अघिल्ला दिनहरूको तुलनामा घटेको छ । सकारात्मक बजेट आएपछि बढ्नुपर्ने बजार निरन्तर ओरालो लागेका कारण लगानीकर्ताको मनोबल घटेको छ । सोहीकारण अधिकांश लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएका छन् । लगानीकर्ता बजेटपछि मौद्रिक नीतिको पर्खाइमा रहेको एक ब्रोकरले बताए । 

बजार सामान्य अंक बढे पनि केही कम्पनीहरूको सेयरमूल्य भने उच्च दरले बढेको छ । निरन्तर ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य सस्तिएका कारण केही लगानीकर्ता त्यस्ता कम्पनीतर्फ आकर्षित भएको उनको भनाइ छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएका कारण कारोबार प्रभावित भएको एक विश्लेषकले बताए । आर्थिक वर्षको अन्त्य नजिकिँदा पनि सरकारी खर्चले गति नलिएपछि बजारमा तरलता अभावको समस्या दोहोरिएको उनको भनाइ छ । 

बजार सारांशः मंगलबार नेप्से परिसूचक शून्य दशमलव १४ अंक बढेर १ हजार २ सय ७५ दशमलव ९८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ४० अंक बढेर २ सय ७२ दशमलव ८६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २ अंक बढेको छ । यस दिन १ सय ७४ कम्पनीको ७ हजार ७ सय १४ पटकको कारोबारमा ४८ करोड ८ लाख ७६ हजार रुपैयाँबराबरको १५ लाख ९ हजार ८ सय ८५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषणः
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४३ दशमलव १२ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियोः यस दिन नेप्सेको एडी रेसियो शून्य दशमलव ९० रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये यस दिन ७४ कम्पनीको सेयरमूल्य घटेको छ भने ७१ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी २९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

नेप्सेको यस दिनको पिभट बिन्दु १ हजार २ सय ७७ दशमलव ३७ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार २ सय ७३ दशमलव ४२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ७० दशमलव ८७ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, बुधबार बजार उकालो लागे नेप्सेले १ हजार २ सय ७९ दशमलव ९२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ८३ दशमलव ८७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 शिवमकाे सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । कम्पनीको यस दिन २ सय ९९ पटकको कारोबारमा ३ करोड ७८ लाख २४ हजार रुपैयाँबराबरको ५६ हजार ५ सय ४९ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा पाँचथर पावर कम्पनी अगाडि रहेको छ । यस दिन नेपाल बैंकको १ सय ४० पटकको कारोबारमा २ करोड ४९ लाख ४२ हजार रुपैयाँबराबरको ७६ लाख ४ सय ७६ कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, पाँचथर पावर कम्पनीको यस दिन ७ सय ९१ पटकको कारोबार भएको छ । 

 २ कम्पनीको सेयरमूल्य वृद्धिदर ९ प्रतिशतभन्दा बढी
यस दिन कारोबारमा आएका २ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । लामो समयदेखि घटिरहेको पाँचथर पावर कम्पनीको सेयरमूल्य यस दिन ९ दशमलव ५२ प्रतिशत बढेर १ सय ३८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीको सेयरमूल्य निरन्तर ओरालो लागेका कारण निकै सस्तिएको थियो । सोही मौकाको फाइदा लगानीकर्ताले उठाएका हुन् । त्यसैगरी, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव २३ प्रतिशत बढेर ७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव ६१ प्रतिशत घटेको छ ।  

६ समूहको परिसूचक हरियो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक बढेर हरियो भएको छ भने ६ समूहको परिसूचक घटेर रातो भएको छ । व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव ४ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ३९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २५ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ । 

निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८८ प्रतिशत घटेको छ । अन्य समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५ प्रतिशत, होटेल समूहको शून्य दशमलव २६ प्रतिशत, वित्त समूहको शून्य दशमलव २१ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव शून्य २ प्रतिशत घटेको छ । 

एनआइबिएल सहभागिता फन्डमा आवेदन दिने म्याद थप
एनआइबिएल म्युचुअल फन्डले एनआइबिएल सहभागिता फन्डमा आवेदन दिने म्याद थप गरेको छ । यो नेपाली धितोपत्र बजारको पहिलो खुलामुखी योजना हो । यस योजनामा अब लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

सो अवधिभित्र माग गरेभन्दा बढी एकाइका लागि आवेदन प्राप्त भएमा तोकिएको मितिभन्दा अगावै निष्कासन तथा बिक्री बन्द गरिनेछ । यस योजनाले जेठ १९ गतेदेखि एकाइ निष्कासन तथा बिक्री खुला गरिएको थियो । योजनाले प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड एकाइ निष्कासन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा यस योजनाले सर्वसाधारणका लागि १ करोड २५ लाख एकाइ निष्कासन गरेको हो । कुल निष्कासन गरिने एकाइमध्ये बीजपुँजीबापत योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलका लागि १० लाख एकाइ तथा कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि ६५ लाख एकाइ सुरक्षित गरिएको छ ।

हिमाल दोलखाको आइपिओ आवेदन दिने म्याद थप
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुला आइपिओमा आवेदन दिने म्याद थप गरेको छ । स्थानीय बासिन्दाले अब सो सेयरका लागि असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १६ लाख कित्ता निष्कासन गरेको हो । कम्पनीले अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोवास गर्ने नेपाली नागरिकका लागि सो सेयर निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।