१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ २८ मंगलबार ११:४०:००
Read Time : > 1 मिनेट
प्रदेश

धरानमा डेंगुको महामारी :  तीन सय ६८ पुगे संक्रमित

Read Time : > 1 मिनेट
२०७६ जेठ २८ मंगलबार ११:४०:००

धरानमा डेंगुबाट संक्रमित हुनेहरूको संख्या सोमबार साँझसम्म ३ सय ६८ पुगेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले १ हजार २ सय ३० जनाको रगत परीक्षण गर्दा ३ सय ६८ जनामा डेंगु भाइरस देखिएको बताए । विगत दुई सातादेखि धरानका विभिन्न क्षेत्रमा डेंगु फैलिएको छ ।

यसरी फैलिएको भाइरस टाइप टु (डेन २) रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले गरेको परीक्षणबाट यस्तो निष्कर्ष निस्किएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामबाबु यादवले जानकारी दिए । प्रतिष्ठानका डा. विजयकुमार खनालका अनुसार यो खतरनाक भाइरसमध्ये एक हो । ‘डेंगुको संक्रमण ४ प्रकारको हुने गरेको छ । डेन १ सामान्य मानिन्छ । डेन २ खतराको सूचीमा पर्छ ।  डेन ३ र डेन ४ को संक्रमण हँुदा मानिसको ज्यान नै जान्छ,’ खनालले भने । 
धरानमा भेटिएका सबै संक्रमितमा डेन २ फेला परेको माइक्रोबायोलोजी विभागले जनाएको छ । मनसुनपूर्व देखा परेको डेंगुलाई समयमै नियन्त्रण गर्नुपर्र्ने सुझाब चिकित्सकहरूले दिएका छन् ।

पूर्वाञ्चल क्याम्पस डेंगुका कारण बिदा 
डेंगुको महामारी फैलिएर विद्यार्थी बिरामी हुन थालेपछि धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले आइतबारदेखि ५ दिनका लागि बिदा दिएको छ । विद्यार्थी धमाधम डेंगु संक्रामित भई क्याम्पस नै आउन छाडेपछि ५ दिन बिदा दिइएको क्याम्पसप्रमुख ओम ढकालले जानकारी दिए ।  करिब दुई सातादेखि धरान ८ तीनकुनेस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीमा डेंगु ज्वरो देखिन थालेको थियो । आइतबार विद्यार्थीको उपस्थिति न्यून थियो ।

प्रदेश सरकारद्वारा ८० लाख विनियोजन
प्रदेश १ सरकारले डेंगु नियन्त्रणका लागि प्रभावित क्षेत्रमा ८० लाख बजेट दिने भएको छ । संक्रमितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत खर्च गर्ने गरी ५० लाख र प्रकोप न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । गत शनिबार प्रदेशका सभामुख प्रदीपकुमार भण्डारी र सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थलगत अवलोकन गरेका थिए । त्यतिवेला धरान उपमहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले बजेट अभावमा न्यूनीकरण अभियान प्रभावकारी हुन नसकेको गुनासो राखेकी थिइन् । प्रतिष्ठानमा भेन्टिलेटर अभावमा उपचार गर्न पनि समस्या भएको अस्पताल निर्देशक डा. गौरीशंकर साहले बताएका थिए । त्यसयता, मन्त्री घिमिरेले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाएका थिए । 

जनप्रतिनिधिको व्यक्तिगत खर्चमा डेंगु जनचेतना अभियान
धरान ८ र १५ वडामा डेंगुको महामारी फैलिएपछि धरान उपमहानगरपालिका–१८ मा जनप्रतिनिधिहरूले व्यक्तिगत खर्चमा जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  धरान–१८ का वडा अध्यक्ष प्रवीण राई(नरेन्द्र)को नेतृत्वमा एक सातादेखि फिनेल, मट्टीतेल खरिद गरी वडाका ३३९ वटै घरधुरीमा पुगेर डेंगुका लार्भा, प्युपा र लामखुट्टे मार्ने अभियान गरिएको हो । ‘नगरको बजेट आउन समय लाग्छ । तर, समयमै सचेतना अभियान चलाइएन भने महामारीले विकराल रूप लिने पक्का छ । त्यसैले  हामी आफैँले अभियान चलाएका हौँ,’ वडा अध्यक्ष प्रवीणकुमार राई(नरेन्द्र)ले जानकारी दिए ।  करिब ३० हजार लगानी गरेर ३० लिटर मट्टीतेल, ३० बोतल फिनेल, डेंगुबारे जनचेतनामूलक ५ हजार प्रर्चा छापेर टोल सुधार समितिका पदाधिकारी, संघ–संस्थाका प्रतिनिधिलगायतका टोली घरघरमाा पुगेर जनचेतना जगाउने काम भएको अध्यक्ष राईले जानकारी दिए । धरान उपमहानगरपालिकाले प्रत्येक वडामा लामखुट्टेका लार्भा, अन्डा नष्ट गर्न मास परिचालन गरेको छ ।