मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश धौलाकोटी काठमाडौं
२०७६ जेठ २८ मंगलबार १०:४३:००
Read Time : > 1 मिनेट
प्रदेश

पहिलो विज्ञान सडक मेला आजबाट : भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण हेर्न पाइने

Read Time : > 1 मिनेट
प्रकाश धौलाकोटी काठमाडौं
२०७६ जेठ २८ मंगलबार १०:४३:००

विज्ञान र प्रविधिलाई नागरिकसँग जोड्न ललितपुरको जावलाखेलमा मंगलबारबाट पहिलो विज्ञान सडक मेला सञ्चालन हुँदै छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रूपमा विज्ञान सडक मेला आयोजना गरेका हुन् । जावलाखेलस्थित फुटबल ग्राउन्डमा हुने मेलाको कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नेछन् । बुधबार सकिने मेला बिहान १० देखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइन्छ । 

आमनागरिकमा वैज्ञानिक संस्कारको विकासका लागि सचेतना बढाउन मेलाको आयोजना गरिएको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले बताए । मेलामा विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी तथा निजी संघ–संस्था र शैक्षिक संस्थाका छुट्टा–छुट्टै ५० वटाभन्दा बढी स्टल प्रदर्शन गर्ने तयारी छ । ‘समाजका लागि विज्ञान’ तथा ‘नवप्रवर्तनबाट समृद्धि’ भन्ने नारासहित मेला आयोजना गरिएको प्रवक्ता ढुंगेलले बताए ।

मेलामा विज्ञान, प्रविधि र आविष्कारसँग सम्बन्धित पोस्टर, पम्प्लेट, डेमो र नमुना प्रविधिका सामग्री स्टलमा राखिएका छन् । विज्ञान र प्रविधिसँग सम्बन्धित गतिविधि समेटिएका वृत्तचित्र प्रदर्शन र विभिन्न खाद्य प्रविधि र परिकारका स्टल राखिएका छन् । मेलामा सांगीतिक र सांस्कृतिक कार्यक्रम तथा विद्यालय उमेरका बच्चाका लागि मिनी–एजुकेसनल फनपार्क र चाखलाग्दा विज्ञान प्रविधि उपकरण प्रदर्शन, रोबोट, ड्रोनलगायत सामग्रीको अवलोकन गर्न पाइन्छ । 

मेलामा सर्वसाधारणलाई निःशुल्क प्रवेश र अवलोकन गर्न पाउने व्यवस्था गरिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले बताए । मेलाका माध्यमबाट विज्ञान तथा प्रविधिजन्य गतिविधिबारे जानकारी गराई युवा विद्यार्थी र सर्वसाधारणमा विज्ञान मोह जगाउने तथा नयाँ खोज अनुसन्धान र आविष्कारका लागि प्रेरित गर्ने उद्देश्य रहेको उनले बताए । मेलामा अवलोकनकर्ताको विचार संकलन गर्ने र आगामी मेला व्यवस्थापनमा सुझाब संकलन गर्ने नास्टको योजना छ । 

पहिलो नेपाली भू–उपग्रह ‘नेपाली स्याट–१’ अन्तरिक्षबाट पृथ्वीको कक्षमा छाडिएको दृश्य नेपालमै बसेर प्रत्यक्ष रूपमा हेर्न पाइने भएको छ । नास्टले अमेरिकी अन्तरिक्ष प्रसारण संस्था (नासा) सँगको सहकार्यमा आउँदो २ असारमा भू–उपग्रह पृथ्वीको कक्षमा डिप्लोयमेन्ट भएको दृश्य हेर्ने व्यवस्था मिलाएको जनाएको छ । सो दिन दिउँसो १२ः३० बजे नास्ट परिसरमा प्रत्यक्ष रूपमा दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा.सुरेश ढुंगेलले बताए । नास्टले जापानको क्युसू इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा बनाएको भू–उपग्रह डेढ महिनादेखि अन्तर्राष्टिय अन्तरिक्ष कक्ष (आइएसएस)मा रहेको छ । अन्तरिक्ष कक्षबाट २ असारमा पृथ्वीको कक्षमा छाड्ने कार्यसूची छ ।