मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट 
२०७५ पौष १५ आइतबार १७:३३:००
Read Time : > 1 मिनेट
समाचार

दोहोर्‍याएर कञ्चनपुर पुगेका आइजी खनाल भन्छन्,‘निर्मलाका अपराधी जो सुकै होस् कारबाही गर्छौं’   

Read Time : > 1 मिनेट
मोहन विष्ट 
२०७५ पौष १५ आइतबार १७:३३:००

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फेरि कञ्चनपुर पुगेका छन् । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या भएयता उनी दोस्रो पटक आएका हुन् । विभागिय कामका सिलसिलामा सुदूरपश्चिम प्रदेश पुगेका खनाल टोली  आइतबार कञ्चनपुर पनि पुगेको हो । उनले निर्मला घटनाबारे पुनः स्थलगत अध्यनन गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी महानिरीक्षक खनालले अधिकारकर्मी तथा  आन्दोलनरत नागरिक संघर्ष समितिका पदाधिकारीसँग पनि छलफल गरे । 

छलफलमा महानिरीक्षक खनालले निर्मला घटनाबारे प्रहरीले शुक्ष्म ढंगले अनुसन्धान गरिरहेको दोहोर्‍याए । ‘हामीले कुनै पनि पाटोबाट अनुसन्धान छाडेका छैनौँ, ‘प्रहरी महानिरीक्षक खनालले भने, ‘हामी अहोरात्र अनुसन्धानमै खटिएका छौँ सबै पाटोबाट शुक्ष्म ढंगले अनुसन्धान जारी राखेका छौँ ।’ शंकास्पद व्यक्ति ‘साना वा ठुला किन नहुन्’ सबैमाथि अनुसन्धान जारी राखेको उनको थप प्रष्टिकरण छ । ‘हत्यारा जो सुकै किन नहुन् अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्छौँ,’ उनले भने, ‘म त अपराधमा संलग्न भएका व्यक्ति ठूला बडा भन्ने सोच्दैसोच्दिन अपराधमा संलग्न सबै अपराधी नै हुन् ।’ प्रहरी महानिरीक्षक खनालले प्रदीप रावल र विशाल चौधरीलाई यातना दिँदै नदिएको स्पष्ट पारे । उनले भने,‘हामी टर्चर गर्दैनौँ, सोधपुछ मात्रै गर्छौँ ।’ 

खनालले चिनजानका आफन्तबाट हुने बलात्कार तथा हत्याका घटना न्यूनिकरण गर्न चुनौती रहेको बताए । अपराध न्यूनिकरण गर्न समाजका सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । प्रहरीको आन्तरिक छानबिन र उच्चस्तरीय छानबिन प्रतिवेदन अनुसार घटनामा लापरबाही गर्ने प्रहरीलाई कारबाही गरिएको बताए । प्रहरी महानिरीक्षक खनालसँगै आएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नीरज शाहीले निर्मला हत्याकाण्डमा सिनियर प्रहरी अधिकृत खटाइएको बताए । 

उनले ठोस सहि सबुतसहित प्रमाण ल्याएर मात्रै दोषी सार्वजनिक गर्ने पनि बताएका छन् । पटकपटक पक्राउ परेका व्यक्ति पनि अपराधी हुनसक्ने उनले बताए । प्रहरी महानिरीक्षक सामु कञ्चनपुरका अधिकारकर्मी तथा नागरिक संघर्ष समितिका पदाधिकारीले वास्तविक हत्यारा मात्रै सार्वजनिक गर्न आग्रह गरे । दिलिपसिंह विष्ट जस्तै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले षड्यन्त्र रचेको फसाउन खोजेको भन्दै आपत्ति जनाए । उनीहरुले अब यस्ता गरिब निमुखालाई नफसाउन सचेत पनि गराए । 

अधिकारकर्मी माया नेगीले प्रहरीले कसैको भनाइलाई भन्दा पनि आफ्नो हिसाबले तथ्यका आधारित भइ अनुसन्धान गनुपर्ने सुझाव दिइन् । अनुसन्धानका नाममा कसैको व्यक्तिगत चरित्र हत्या गर्न नहुने उनको तर्क छ । उनले छानबिनका क्रममा पक्राउ परेका  व्यक्तिको नाम सार्वजनिक गर्न नहुने बताइन् । नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले सिआइबीका डिएसपी अंगुर जिसीलाई सुरक्षित राखिएको भन्दै आपत्ति जनाइन् । ‘कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख दिल्लीराज विष्ट र वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक जगदिश भट्टलाई जसरी कारबाही गरियो,’ उनले भनिन्,‘ठिक त्यसै गरि अंगुर जिसीलाई पनि कारबाही गर्नुपर्छ, किन अहिलेसम्म उनीमाथि कारबाही गरिएन ?’