मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ जेठ २४ शुक्रबार ०८:१५:००
Read Time : > 3 मिनेट
सेयर बजार

बिहीबार नेप्से र कारोबार रकम घट्यो

Read Time : > 3 मिनेट
२०७६ जेठ २४ शुक्रबार ०८:१५:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन ७० करोडभन्दा बढीको कारोबार भएको बजारमा यस दिन ५८ करोडको मात्र सेयर किनबेच भएको छ । कारोबारको पहिलो अवधिमा नै नेप्सेको साइटमा आएको समस्याले यस दिनको कारोबार प्रभावित भएको हो ।

साथै, सकारात्मक बजेट आए पनि नेप्से निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर’ को रणनीति अपनाउन बाध्य भएका छन् । बजेटले लगानीकर्ताहरूको माग सम्बोधन गरे पनि बजार लगानीयोग्य पुँजीको अभाव, बैंकहरूले कर्जाको ब्याजदर नघटाउनु र ब्रोकर कमिसन नघटेका कारण बजार बढ्न नसकेको एक लगानीकर्ताले बताए । यसका साथै, केही लगानीकर्ता अझै पनि पुँजीगत लाभकर नै अन्तिम कर हो भन्ने स्पष्ट नभएका कारण बजार उकालो लाग्न नसकेको उनको भनाइ छ । 

बजार सारांश
नेप्से परिसूचक बिहीबार ४ दशमलव ५९ अंक घटेर १ हजार २ सय ८४ दशमलव ५९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ९७ अंक घटेर २ सय ७३ दशमलव ८९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३८ अंक घटेर बन्द भएको छ । यस दिन १ सय ७२ कम्पनीको ८ हजार ८१ पटकको कारोबारमा ५८ करोड ८८ लाख २२ हजार ६ सय २५ रुपैयाँबराबरको १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४६ दशमलव ९० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ६० कम्पनीको सेयरमूल्य बढेको छ भने ८८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, आगामी कारोबार दिन नेप्से ओरालो लागेर १ हजार २ सय ८० दशमलव ४६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ७६ दशमलव ३४ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आगामी कारोबार दिन बजार उकालो लागे नेप्सेले १ हजार २ सय ९२ दशमलव ८३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार ३ सय १ दशमलव शून्य ८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

९ प्रतिशतभन्दा धेरै बढ्यो ४ कम्पनीको सेयरमूल्य
यस दिन नेप्से ओरालो लागे पनि ४ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ९ दशमलव ६५ प्रतिशत, गुडविल फाइनान्स कम्पनीको ९ दशमलव ६० प्रतिशत, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ९ दशमलव ५२ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ९ दशमलव ४० प्रतिशत बढेको हो । त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयरमूल्य यस दिन ८ प्रतिशत बढेको छ भने मन्जुश्री फाइनान्स र गोर्खाज फाइनान्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । पाँचथर पावर कम्पनीको सेयरमूल्य यस दिन पनि घटेको छ । सो जलविद्युत् कम्पनीको सेयरमूल्य यस दिन ५ दशमलव १० प्रतिशत घटेर १ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

७ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत, अन्य समूहको शून्य दशमलव २१ प्रतिशत, होटेल समूहको शून्य दशमलव १७ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ ।

कारोबारमा आएको व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव शून्य ६ प्रतिशत घटेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव ३३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ४९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३५ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३२ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २ प्रतिशत घटेको छ । 

सर्वाधिक कारोबार हुनेमा शिवम्
यस दिन कारोबार रकम र कारोबार संख्याका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ५ सय ६३ पटकको कारोबारमा ७ करोड ७६ लाख ९७ हजार रुपैयाँबराबरको १ लाख १४ हजार ३ सय ४ कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा भने यस दन कैलाश विकास बैंक अगाडि रहेको छ । सो विकास बैंकको यस दिन २ सय ७३ पटकको कारोबारमा ४ करोड २३ लाख ८ हजार रुपैयाँबराबरको १ लाख ७५ हजार ४ सय ८१ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको नेपाल बैंक, प्रभु बैंक र तारागाउँ रिजेन्सी होटेलको कारोबार रकम यस दिन ३ करोड नाघेको छ ।  

नेपाल इन्भेष्टमेन्टले जेबिल्सलाई प्राप्त गर्ने
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न दुवैै कम्पनीले असार ६ गते विशेष साधारण सभा डाकेको छ । सो सभाले जेबिल्सको १ सय कित्ता सेयरबराबर नेपाल इन्भेष्टमेन्टको ३३ कित्ता सेयर स्वाप रेसियो आदान–प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । नेपाल इन्भेष्टमेन्टको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने जेबिल्सको कालिमाटी बैंक्वेट, कालिमाटीमा हुनेछ । विशेष साधारण सभा प्रयोजनका लागि जेबिल्सले जेठ २७ गते र नेपाल इन्भेष्टमेन्टले जेठ २९ गतेदेखि विशेष सधारण सभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने भएको छ । 

सगरमाथाको साधारणसभा
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १३ गते आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौंमा बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभामा ८६ प्रतिशत बोनस सेयर वितरण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने र लेखा परीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । बोनस सेयरबापतको कर सेयरधनीहरूले नै व्यहोर्नुपर्ने कम्पनीले बताएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

सिद्धार्थको साधारणसभा
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले असार १३ गते रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर, कमलपोखरीमा सत्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १५ दशमलव ४८४३३ प्रतिशत बोनस सेयर वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक पदमा बाँकी अवधिका लागि भएको सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने र लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।