१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्याम खतिवडा दोलखा
२०७६ जेठ २३ बिहीबार १०:२९:००
Read Time : > 1 मिनेट
समाचार

गौरीशंकर संरक्षण क्षेत्रमा देखियो लोपोन्मुख हिउँचितुवा

Read Time : > 1 मिनेट
श्याम खतिवडा दोलखा
२०७६ जेठ २३ बिहीबार १०:२९:००

गौरीशंकर संरक्षण क्षेत्रमा लोपोन्मुख हिउँचितुवा देखिएको छ । संरक्षण क्षेत्रले बिगु गाउँपालिका–१ लप्ची उपत्यकानजिकको जंगलमा जडान गरेको क्यामेरामा हिउँचितुवा कैद भएको हो । लप्ची आसपास जंगलका विभिन्न स्थानमा राखेका इन्फ्रारेड क्यामेरामा हिउँचितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्रका वार्डेन विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार गत असोजदेखि ०७६ वैशाखसम्म गरेको अनुसन्धानमा समुद्री सतहबाट चार हजार ८७ मिटरको उचाइमा हिउँचितुवाका तीनवटा तस्बिर रेकर्ड भएका छन् । लप्ची गुम्बाबाट सात किलोमिटर माथि चट्टानले घेरिएको स्थानमा राखेको क्यामेरामा हिउँचितुवा कैद भएको उनले बताए ।

क्यामेरा व्यवस्थापनमा संलग्न नेपाल इन्जिनियरिङ कलेजका उपप्रध्यापक डा. नारायणप्रसाद कोजुले लप्ची क्षेत्रमा सर्वसाधारणले समेत सजिलै वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको बताए । हिउँचितुवा मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी भएको उल्लेख गर्दै गौरीशंकर संरक्षण क्षेत्र त्यसका लागि उद्गम बिन्दु रहेको डा.कोजुले बताए । हिउँचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र अन्तर्राष्ट्रिय संरक्षण संघ (आइयुसिएन)ले दुर्लभ प्रजातिमा सूचीकृत गरेको छ  ।

त्यस्तै, लप्ची आसपास जंगलका विभिन्न स्थानमा राखेको इन्फ्रारेड क्यामेरामा सुनौलो बिरालो (गोल्डेन क्याट) समेत कैद भएको छ । चरीबाघ, कस्तूरी र आसामी (पहरे) बाँदरजस्ता संरक्षित जनावर पनि क्यामेरामा कैद भएका छन् । संरक्षणका अनुसार क्यामेरामा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरोसहित १५ प्रजातिका स्तनधारी जनावर भेटिएका छन् ।सांस्कृतिक रूपमा पनि लप्चीका स्थानीयले जीवजन्तुको काटमार तथा मासुजन्य पदार्थ उपभोग गर्दैनन् । जसले गर्दा पनि वन्यजन्तु संरक्षणका दृष्टिले गौरीशंकर क्षेत्र सुरक्षित रहेको जनाइएको छ ।

देशभर पाँच सय हिउँचितुवा
डा.कोजुका अनुसार विश्वमा १० हजारभन्दा कम हिउँचितुवा छन् । नेपालमा यसको संख्या तीनदेखि पाँच सयसम्म हिउँचितुवा रहेको अनुमान छ । उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रमा भने तीनदेखि पाँचवटासम्म छन् । नेपालको कञ्चन्जंघा, मकालु बरुण, सगरमाथा, लाङटाङ, मनासलु, अन्नपूर्ण, से–फोक्सुन्डो, ढोरपाटन, अपिनाम्पालगायत हिमाली क्षेत्रमा हिउँचितुवा छन् ।