स्वदेशी जातका माछाको संख्या बढाउने उद्देश्यले फेवातालमा ७० हजार भुरा छाडिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर मत्स्य अनुसन्धान केन्द्र लेखनाथमा उत्पादित भुरा फेवातालको खपौँदी क्षेत्रमा छाडिएको हो ।गण्डकी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी, मत्स्य अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ मत्स्य वैज्ञानिक अग्नि नेपाल, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका गायत्रीराज वाग्ले, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहका अगुवाहरूले संयुक्त रूपमा माछाका भुरा छाडेका हुन् ।
केही वर्षअघिसम्म तालमा सहर, बाम, कत्ले, रेवा, काँडे, फगेटाजस्ता स्वदेशी प्रजातिका माछा मात्र पाइने गरेकोमा हाल तिलापिया, माउर, कमनजस्ता आयातीत प्रजातिका माछाको बाहुल्य रहेको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए । उनले विगतमा तिलापियासँग आफूहरू झस्केको भए पनि अहिले तिलापियाले स्थानीय माछाको संख्या वृद्धिमा सहयोग गरेको अनुभव गरिएको उनले बताए ।
मन्त्रालयका सचिव दवाडीले जलाशय र जलाशयमा रहेका जलचरको संरक्षण गर्नु अहिलेको चुनौती रहेको बताए । प्राकृतिक जलाशय र त्यसमा रहेका माछालगायतका जलचर प्राणीको रक्षाका लागि स्थानीय नै सचेत बन्नुपर्ने उनको भनाइ थियो । मत्स्य अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य वैज्ञानिक अग्नि नेपालले स्थानीय जातको माछा हराउँदै जानुमा प्रदूषण नै मुख्य कारण रहेको बताए ।
हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले आफूहरूको गास, वास र कपासको स्रोत नै माछा भएको बताए । फेवाताल नै आफूहरूको आम्दानीको स्रोत भएको भन्दै उनले तालमा माछाका भुरा छाड्दा आफूहरूलाई खेत हुनेले खेतमा जेठोबुढो धान रोपेको जस्तै महसुस भएको बताए । उनले भने, ‘यसको उचित समयमा गोडमेल गरी भित्र्याउछौँ ।’