मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
विष्णु घिमिरे बुटवल
२०७६ जेठ २२ बुधबार ११:३४:००
Read Time : > 1 मिनेट
प्रदेश

सरकारले ११ थरी पदक बाँड्ने 

Read Time : > 1 मिनेट
विष्णु घिमिरे बुटवल
२०७६ जेठ २२ बुधबार ११:३४:००

प्रदेश ५ को सरकारले प्रदेश स्थापना दिवसका अवसरमा ११ थरी पदक वितरण गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सभामा पेस गर्नका लागि तयार पारेको विभूषणसम्बन्धी विधेयकमा ११ थरी पदक प्रदान गर्ने व्यवस्था गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश सभामा पेस गर्न स्वीकृत गरेको विधेयकमा विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वको कदरका लागि पदकहरू प्रदान गरिने उल्लेख छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले पदकको घोषणा संविधान दिवस (३ असोजमा) र प्रदेश स्थापना दिवसका दिन तीन फागुनमा वितरण गर्ने व्यवस्था गरेको बताए । 

यस्ता छन् पदक
प्रदेश सरकारले प्रदान गर्ने पदकहरूमा बुद्ध शान्ति पदक, प्रदेश प्रमुख जनसेवा पदक, मुख्यमन्त्री प्रज्ज्वल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवा श्री, प्रदेश रत्न, पुथाश्री, प्रदेश प्रज्ञा, प्रजापति गौतमी, दंगीशरण–बलिहाङ रहेका छन् । शान्ति स्थापना कार्यमा विशेष योगदान पु-याएका व्यक्तिलाई ‘बुद्ध शान्ति पदक’ प्रदान गरिने विधेयकमा उल्लेख छ । त्यस्तै, संघीयता र गणतन्त्रको सुदृढीकरण तथा उत्कृष्ट र उल्लेखनीय कार्य गरी जनस्तरमा लोकप्रिय रहेका जनप्रतिनिधि, समाजसेवी वा प्रदेश सरकारबाट नियुक्त भएका व्यक्तिलाई ‘प्रदेश प्रमुख जनसेवा पदक’ दिइने प्रस्ताव छ ।

यस्तै, प्रदेशको समृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु-याएका व्यक्तिलाई ‘मुख्यमन्त्री प्रज्ज्वल दीप पदक’ र इमान्दारितापूर्वक उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्ने प्रदेश सरकारअन्तर्गतका कर्तव्यनिष्ठ कर्मचारीलाई ‘प्रदेश सेवा समर्पण पदक’ दिने विधेयकमा प्रस्ताव गरेको चौधरीले बताए । देशको सुरक्षा तथा विपत्मा उद्धारको क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण काम गर्ने व्यक्तिलाई ‘उजिरसिंह दीप पदक,’ समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दीगो विकास, समाज सुधार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई समाजसेवा श्री पदक दिने उल्लेख छ । 

यस्तै, कृषि, श्रम, रोजगारी र विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुकरणीय काम गरेका तथा भाषा, कला, साहित्य, संगीत, शिक्षा, खेलकुदको विधामा सर्वोत्कृष्ट विधा प्रदर्शन गरी प्रदेशको गौरव बढाउन योगदान गर्नेलाई ‘प्रदेश रत्न पदक’ प्रदान गरिने उल्लेख छ । प्रदेशभित्र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान गर्नेलाई ‘पुथा श्री पदक,’ शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट योगदान पु-याएका विद्यालय, विश्वविद्यालय तथा तिनका शिक्षक एवं पदाधिकारीलाई ‘प्रदेश प्रज्ञा पदक’ प्रदान गरिने प्रस्ताव छ । 

महिला सशक्तीकरण र बालबालिकाको हक, हित र संरक्षणको क्षेत्रमा महत्वपूर्ण  योगदान गरेका महिलालाई ‘प्रजापति गौतमी पदक’ दिने प्रस्ताव छ ।  सामाजिक सद्भाव र समाज सुधारमा काम गरेका अभियन्ता तथा सांस्कृतिक पहिचान क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई ‘दंगीशरण–बलिहाङ पदक’ प्रदान गरिने प्रस्ताव विधेयकमा गरिएको प्रवक्ता चौधरीले बताए । 

 मुख्यमन्त्रीको चीन भ्रमण स्वीकृत
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री पोखरेल आगामी २५ असारदेखि १ साउनसम्म चीनको भ्रमण गर्ने भएका हुन् । मुख्यमन्त्रीको भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरी संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

मन्त्रीका सेवा–सुविधा मन्त्रालयबाटै
मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका ०७५ लाई संशोधन गरेको छ । संशोधनसँगै मुख्यमन्त्रीको कार्यालयबाट मन्त्रीहरूले पाउने गरेको तलब भत्ता, इन्धनलगायतका सेवा–सुविधा आ–आफ्नै मन्त्रालयबाट पाउने भएका छन् । बैैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि तथा सार्वजनिक लिखित प्रमाणीकरण नियमावली २०७६’ स्वीकृत गरेको छ । यस्तै, निजी फर्म दर्ता र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता चौधरीले बताए ।