मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:२३:००
Read Time : < 1 मिनेट
साहित्य

पहिचान पुरस्कारको मनोनयनमा ५ पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:२३:००

‘पहिचान पुरस्कार–२०१९’का लागि ६ पुस्तक मनोनयनमा परेका छन् । पहिचान पुरस्कार कोषले बेलायत र नेपालबाट मनोनीत पुस्तकहरूको नाम बिहीबार राति सार्वजनिक गरेको हो । 

यस वर्षको पुरस्कारका लागि उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’, नवीन जिरेलको ‘भीषण दिनहरू’, वसन्त बस्नेतको ‘७२ को विस्मय’ र गणेश राईको ‘फोकल्यान्ड जर्नल’ मनोनयनमा परेका छन् । उन्मुक्त पुस्ताको ‘आफर’ दलित मुद्दामाथि लेखिएको केशव सिलवाल, मुक्तान थेबा, केशरी अम्गाईं, प्रकाश गुरागाईं, केवल बिनावी, राजु स्याङतान, हरिशरण परियार, माधव घिमिरे ‘अटल’को कवितासंग्रह हो । कोषले सात पुस्तकको नाम सार्वजनिक गरे पनि स्वप्नील स्मृतिको ‘बाडुली,  सुदूर सम्झना’ र सरिता तिवारीको ‘प्रश्नहरूको कारखाना’लाई मनोनयनबाट हटाएको जनाएको छ ।

पहिचान पुरस्कारले हरेक वर्ष दुई लाख दुई हजार दुई सय दुई रुपैयाँका साथमा ताम्रपत्र र मेडलसहित पुरस्कार प्रदान गर्छ । मनोनयनमा परेकामध्ये पुरस्कृत कृतिको नाम २९ डिसेम्बरमा घोषणा गरिने कोषका नेपाल प्रतिनिधि गणेशकुमार राईले बताए । कोषले पहिचानको पक्षमा लेखिएका कृतिलाई यो पुरस्कार दिन्छ । यसअघि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइँया’ पुरस्कृत भएका थिए ।  

यस वर्ष कृतिलाई पुरस्कृत गरेसँगै आउँदो वर्ष भने पहिचानका लागि लामो समय योगदान दिएका व्यक्तिलाई पुरस्कृत गरिने पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले बताए । हरेक पाँच वर्षमा पुरस्कार राशि वृद्धि हुँदै जाने उनको भनाइ छ ।