मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १५ आइतबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ

मेलम्ची खानेपानी आयोजना : सोमबारसम्म बैंक ग्यारेन्टी नवीकरण नगरे ठेक्का रद्द हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १५ आइतबार ०९:४८:००

मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी दी रेभेन्नाले नेपाली बैंकमा राखेको बैंक ग्यारेन्टी नवीकरण नगरे आयोजनाको ठेक्का रद्द गर्दै नयाँ प्रक्रिया अघि बढाउने भएको छ । बैंक ग्यारेन्टी नवीकरण गर्ने अन्तिम दिन पुस १६ गते सोमबार रहेको छ ।  

सामान्यतया ठेकेदार कम्पनीले राखेको बैंक ग्यारेन्टी सकिने अन्तिम मितिभन्दा २८ दिनअघि नै नवीकरण गरिसक्नुपर्ने प्रावधान रहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । सो प्रावधानअनुसार डिसेम्बर ३ भित्रै नवीकरण गरेर त्यसको जानकारी आयोजनालाई दिनुपर्ने थियो । ठेकेदार कम्पनीले नवीकरण गर्न चासो नदेखाएपछि आयोजनाले नै कम्पनीलाई बैंक ग्यारेन्टी नवीकरण गरेर त्यसको जानकारी गराउन डिसेम्बर ५ मा पत्र काटेको थियो । तर, डिसेम्बर १७ मा आयोजना सम्पन्न गर्न नसक्ने भन्दै कम्पनीले मेलम्चीलाई ठेक्का (लेटर टू टर्मिनेसन) रद्दको पत्र बुझायो ।

मेलम्चीले उक्त पत्र बुझ्न अस्वीकार गर्दै काम सुचारु राख्न निर्देशन दियो । तर, कम्पनीको प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतका २७ जनाको टोली विनाजानकारी आयोजनास्थल छाडेर काठमाडौं आएपछि खानेपानी मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा उनीहरूलाई देश छाड्न प्रतिबन्ध लगायो । पछि इटालियन दूतावासको रोहबरमा कम्पनीका प्रतिनिधिले आयोजना रद्द गर्ने पत्र फिर्ता लिँदै काम सम्पन्न गर्ने प्रतिबद्धता जनायो ।

त्यसपछि सरकारले ठेकेदार कम्पनीका प्रतिनिधिलाई देश छाड्ने अनुमति दिएको थियो । आयोजनाका अधिकांश प्रतिनिधि र कामदारले देश छाडिसकेका छन् । तर, ठेक्का तोड्न चाहेको पत्र फिर्ता लिनु बाध्यता भएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताए । 

यसअघि ठेकेदार कम्पनीले एकतर्फी ठेक्का तोड्न खोजेपछि नेपालीं बैंकमा रहेको कम्पनीको बैंक ग्यारेन्टी जफत गर्ने मेलम्ची आयोजनाले प्रक्रिया सुरु गरिसकेको छ । कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर शाखा र नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा २ अर्ब ५६ करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेको छ । 

 सरकारको आदेश पर्खंदै मेलम्ची आयोजना 
मेलम्ची आयोजना भने अहिले ठेकेदारले बैंक ग्यारेन्टी नवीकरण पनि नगर्ने र काममा पनि नफर्के के गर्ने भन्ने अन्योलमा छ । सो विषयमा सरकारको निर्देशन पर्खेर बसेको आयोजनाका कार्यकारी निर्देशक कँडेलले बताए । उनका अनुसार अहिलेकै ठेकेदार कम्पनीलाई अनुरोध गर्ने वा नयाँ पक्रिया सुरु गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले विशेष निर्णय गर्नुपर्छ । 

 कम्पनी फर्के पनि काम सुचारु हुन समय लाग्ने
अहिले ठेकेदार कम्पनीका कुनै पनि प्रतिनिधि आयोजना स्थलमा छैनन् । कम्पनीले काममा लगाएका नेपाली कामदार पनि घर फर्किसकेका छन् । ठेकेदारले कामदारलाई दिनुपर्ने ज्याला बाँकी छ, सप्लायर्सको करोडौँ रकम भुक्तानी भएको छैन, त्यसैले ठेकेदार कम्पनी फर्के पनि तत्काल काम सुरु हुन कठिन रहेको आयोजनाले जनाएको छ । सो कम्पनीले नेपाली सप्लायर्स र कामदारलाई १ अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ ।