Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शुरोजंग पाण्डे
२०७५ मङ्सिर २९ शनिबार ०६:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पाँच महिनापछि आज नेकपाको स्थायी समिति बैठक बस्दै 

चार नेताले अध्यक्षद्वयको खुलेर आलोचना गर्ने

Read Time : > 1 मिनेट
शुरोजंग पाण्डे
२०७५ मङ्सिर २९ शनिबार ०६:५६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पाँच महिनापछि शनिबार बस्दै छ । २१ असारपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । 

२२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेताले बहिष्कार गरेपछि शनिबारका लागि स्थायी समिति बैठक बोलाएको थियो । चार नेता बाहिरिएपछि अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित सचिवालयको बहुमत सदस्यको बैठकले स्थायी समिति बैठकको मिति तय गरेको थियो । बोलाएको समयभन्दा आधा घन्टापछिसम्म पनि अध्यक्षहरू उपस्थित नभएपछि नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले २२ मंसिरको बैठक बहिष्कार गरेका थिए ।

एजेन्डाबारे स्थायी समिति सदस्य अनभिज्ञ
नेकपाका पछिल्ला सबै बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको सरकारीनिवास बालुवाटारमा हुँदै आएका थिए । तर, चार नेताले यसप्रति पनि आपत्ति जनाएपछि शनिबारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा डाकिएको छ। 

लामो समयपछि बैठक बस्न लागे पनि स्थायी समिति सदस्यहरूले भने छलफलका एजेन्डाबारे अनभिज्ञता जनाए । ‘कम्तीमा दुई दिनपहिल्यै बैठकका एजेन्डाबारे जानकारी गराउने पार्टीको नीति छ, तर के छलफल गर्ने हो, कुनै जानकारी गराइएको छैन,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘किन गराइएन सचिवालयलाई नै थाहा हुने कुरा हो । सायद, अहिले उठिरहेका समसामयिक विषयमै छलफल हुने त होला नि ।’

केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने पार्टी एकीकरणसहितका थाती एजेन्डाहरूमा छलफल हुने बताए । सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्तावित छन् । पार्टीको जिल्ला तथा जनसंगठनहरू एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, सरकार र संसद्को कामको समीक्षालगायत एजेन्डा थाती छन् । तर, शनिबारको एजेन्डा खुलाएर बैठक बोलाइएको छैन । 

चार नेताले अध्यक्षद्वयको खुलेर आलोचना गर्ने
स्थायी समिति बैठकका लागि अध्यक्षद्वय ओली र प्रचण्ड तथा चार शीर्ष नेताहरू नेपाल, खनाल, गौतम र श्रेष्ठले छुट्टाछुट्टै तयारी गरेका छन् । २२ मंसिरमा शीर्ष नेताले बैठकमै भाग नलिई बहिष्कार गरेपछि ओली–प्रचण्ड स्थायी समितिलाई अनुकूल बनाउने कसरतमा छन् । कार्यविभाजन र जिल्ला एकीकरणका सन्दर्भमा अध्यक्षद्वयले महासचिव विष्णु पौडेलसहितको उपस्थितिमा निरन्तर छलफल गर्दै आएका छन् ।

अध्यक्षद्वयले अपमान गरेको भन्दै बहिष्कार गरेर एकै ठाउँ उभिएका चार शीर्ष नेताले भने अध्यक्षद्वयको कार्यशैलीको खुलेरै आलोचना गर्ने तयारी गरेका छन् । बिहीबार छलफल नै गरेर उनीहरूले अध्यक्षको आलोचना गर्ने र बहिष्कार गर्नुको कारण प्रस्ट्याउने समझदारी गरेका छन् । विधि–प्रक्रिया मिचेर पार्टी सञ्चालन गर्न खोजिएको भन्दै नेतृत्वको खुलेर प्रतिवाद गर्ने उनीहरूको रणनीति छ ।