Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका/काठमाडौं
२०७६ जेठ १९ आइतबार ०९:०९:००
Read Time : > 5 मिनेट
सेयर बजार

सातामा नेप्से सामान्य बढ्यो

Read Time : > 5 मिनेट
नयाँ पत्रिका/काठमाडौं
२०७६ जेठ १९ आइतबार ०९:०९:००

गत साता नेप्से परिसूचक सामान्य अंक बढेको छ । पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा ४ कारोबार दिन नेप्से उकालो लागेको थियो भने १ कारोबार दिन बजार ओरालो लागेको थियो । गत साताको पहिलो कारोबार दिनदेखि नेप्सेले अनलाइन प्रणालीबाट राफसाफ गर्न सकिने व्यवस्था लागू भएको छ । बजार विस्तारका कार्यहरूले गति लिएका कारण लगानीकर्ताहरूको मनोबल बढेको छ ।

अघिल्लो साताको बिहीबार नेप्सेको अनलाइन प्रणालीमा ४८ बैंक तथा वित्तीय संस्था इन्टिग्रेसन भएपछि सो कार्य सम्भव भएको हो । नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपिएस’ मा आबद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले अनलाइनबाटै राफसाफ गर्न सक्नेछन् । सो सुविधा लिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा गएर ‘बैंक इन्टिग्रेसन’ मा आवद्ध गराउनु पर्नेछ । यसका साथै, गत साताको बुधबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटले लगानीकर्ताहरूको माग सम्बोधन गरेसँगै लगानीकर्ताको मनोबल अझ बढेको छ । 

लगानीकर्ताहरूले लामो समयदेखि अघि सार्दै आएको पुँजीगत लाभकर घटाउने मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि लगानीकर्ताहरू उत्साहित भएका थिए । सो बजेटले पुँजीगत लाभकरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिने घोषणा गरेको थियो । यसका साथै, पुँजीबजारमा गैरआवासीय नेपालीको लगानी भिœयाउने, नेप्से र सेबोनको संस्थागत सुधार गर्ने, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको बिग मर्जर गराउनेलगायत व्यवस्थाका कारण सो बजेट पुँजीबजारका लागि कोषेढुंगा साबित हुने लगानीकर्ताहरूको भनाइ छ । 

बजार सारांश
गत साता नेप्से परिसूचक ४ दशमलव ९२ अंक बढेर १ हजार ३ सय १९ दशमलव ४७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता शून्य दशमलव ७७ अंक बढेर २ सय ८१ दशमलव १५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स शून्य दशमलव २८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३७ अंक बढेको छ । सो साता १ सय ८२ कम्पनीको ५१ हजार ७ सय ७८ पटकको कारोबारमा ४ अर्ब ३३ करोड १६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख ९१ हजार ४ सय १३ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ६६ दशमलव ३२ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता १ दशमलव शून्य ६ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८२ कम्पनीमध्ये ८० कम्पनीको सेयरमूल्य बढेको छ भने ७५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार ३ सय २२ दशमलव ५८ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ९५ दशमलव २१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार २ सय ७० दशमलव ९५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार ३ सय ४६ दशमलव ८४ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार ३ सय ७४ दशमलव २१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

शिवमकाे सर्वाधिक कारोबार
गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता ५ हजार ७ सय ६३ पटकको कारोबारमा ६६ करोड ११ लाख ८९ हजार रुपैयाँबराबरको १० लाख २७ हजार ९ सय ३० कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा भने गत साता प्रभु बैंक लिमिटेडअगाडि रहेको छ । सो कम्पनीको गत साता १ हजार ७ सय ९७ पटकको कारोबारमा ४३ करोड ९५ लाख ५२ हजार रुपैयाँबराबरको १५ लाख ८७ हजार ७ सय ५५ कित्ता सेयर खरिद–बिक्री भएको छ ।  

१२ लाख कित्ता सेयर सूचीकृत
गत साता ३ कम्पनीले कुल १२ लाख ५३ हजार ३ सय ७४ दशमलव ५२ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख ७५ हजार कित्ता साधारण सेयर, विजय लघुवित्त वित्तीय संस्थाले १ लाख ७७ हजार १ सय कित्त बोनस सेयर र रिलायन्स फाइनान्स लिमिटेडले ३ लाख १ हजार २ सय ७४ दशमलव ५२ कित्ता हकप्रद सेयर सूचीकृत गरेको छ ।  

६ समूहको परिसूचक बढ्यो
गत साता कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १ सय ८९ दशमलव ९३ अंक बढेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको ९ दशमलव २४ अंक, विकास बैंक समूहको ८ दशमलव शून्य ७ अंक, वित्त समूहको ७ दशमलव शून्य ५ अंक, लघुवित्त समूहको शून्य दशमलव ६४ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव १७ अंक बढेको छ । 

गत साता जीवन बिमा समूहको परिसूचक सर्वाधिक १ सय २० दशमलव ६१ अंक घटको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक ८० दशमलव ४० अंक, होटेल समूहको ६१ दशमलव शून्य २ अंक, अन्य समूहको ५ दशमलव ५८ अंक, जलविद्युत् समूहको ३ दशमलव ९१ अंक र व्यापार समूहको २ दशमलव ७९ अंक घटेको छ । 

सर्वाधिक कमाउने स्पर्श
गत साता स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक ३१ दशमलव ५८ प्रतिशत बढेको छ । गत साता ४ सय ३७ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन ५ सय ७५ मा कारोबार भएको थियो । त्यसैगरी, हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य सो साता २९ दशमलव शून्य ३ प्रतिशत बढेको छ भने शिवम् सिमेन्ट्स लिमिटेडको २० दशमलव १८ प्रतिशत बढेको छ । कारोबारमा आएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य गत साता सर्वाधिक १९ दशमलव ६६ प्रतिशत घटेको छ । हिमालयन डिष्ट्रिलरीको सेयरमूल्य गत साता ९ दशमलव २८ प्रतिशत, रिलायन्स फाइनान्सको ८ दशमलव ३९ प्रतिशत र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य ८ प्रतिशत घटेको छ ।

कृषि विकास बैंकको नाफा २ अर्बभन्दा बढी
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा कृषि विकास बैंक लिमिटेडको खुद नाफा २३ दशमलव शून्य ९ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले २ अर्ब २१ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ७९ करोड ७१ लाख रहेको थियो । 

त्यसैगरी, चालू आवको तेस्रो त्रैमासको ३ महिना अवधिमा बैंकले ९२ करोड ७ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव १४ प्रतिशत बढी हो । गत आवको सोही ३ महिनामा बैंकले ६४ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सो अवधिसम्ममा ५ अर्ब ३० करोड खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २० दशमलव शून्य ८ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २२ दशमलव शून्य ८ प्रतिशत बढेर २ अर्ब ७६ करोड पुगेको छ । चैत मसान्तसम्ममा बैंकको जगेडा कोष बढेर १२ अर्ब ५६ करोड ३४ लाख पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ३४ प्रतिशत मात्र बढी हो । 

बैंकको चुक्ता पुँजी समीक्षा अवधिमा ३ दशमलव ६६ प्रतिशत बढेर १४ अर्ब ४४ करोड ८२ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकले १ खर्ब १२ अर्ब ८४ करोड निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा ८ दशमलव २८ प्रतिशत बढी हो भने कर्जा ९ दशमलव ८० प्रतिशत बढी हो । गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ दशमलव १४ रुपैयाँ बढेर २९ दशमलव १० रुपैयाँमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्टको ऋणपत्र
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले २४ जेठदेखि ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । सोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । निष्कासन बन्द छिटोमा जेठ २८ गते हुनेछ भने ढिलोमा असार २२ गते हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव ५ प्रतिशत हुनेछ । ऋणपत्रमा आर्जित ब्याज रकममा आयकर ऐनअनुसार कर लाग्नेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलएप्लस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बंगलादेश बैंकले थप्यो आवेदन दिने म्याद 
नेपाल बंगलादेश बैंक लिमिटेडले १० दशमलव २५ प्रतिशत एनबिबिएल डिबेन्चरमा आवेदन दिने म्याद थप गरेको छ । सो डिबेन्चरमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले जेठ १० गतेदेखि सो डिबेन्चर निष्कासन तथा बिक्री खुला गरेको थियो । बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गरेको थियो ।

एलआइसिएनको ७० प्रतिशत लाभांश
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआइसिएन)ले आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ३४ दशमलव ४६२६ प्रतिशत बोनस सेयर र ३५ दशमलव ५३७३ प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्नेछ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।