मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रकाश धौलाकोटी भक्तपुर
२०७६ जेठ १९ आइतबार १०:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वीर अस्पताल विस्तार अलमलमा

Read Time : > 1 मिनेट
प्रकाश धौलाकोटी भक्तपुर
२०७६ जेठ १९ आइतबार १०:०४:००

मुलुककै जेठो वीर अस्पतालको सेवा विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट ४० करोड रुपैयाँ विनियोजन गरेको छ । चार वर्षअघि प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यकालमा थालेको अस्पताल विस्तारको योजना बर्सेनि बजेटमा समेटिएको छ । तर, विस्तारको काम भने अहिलेसम्म सुरु भएको छैन । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसद्मा प्रस्तुत गरेको बजेटमा अस्पताल विस्तार गर्न भन्दै ४० करोड रुपैयाँ छुट्याएको बताए । चालू आर्थिक वर्षमा विनियोजन भएकोे ३० करोड रुपैयाँ अझै खर्च भएको छैन । अस्पताल पूर्वाधार निर्माणका लागि अहिलेसम्म डिपिआरसमेत बनेको छैन ।

५७० रोपनी जग्गा स्वीकृति
सरकारले ०७२ मा वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको गुणस्तर र अत्याधुनिक सेवा–सुविधायुक्त बनाउन योजना अघि सारेको थियो । अस्पताल विस्तारको योजनाअनुरूप सरकारले ०७३ मै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ र ४ स्थित दुवाकोटको ५७० रोपनी सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिएको थियो । जग्गा रहेको क्षेत्रमा बनेको सामुदायिक भवनबाट वीरले एक वर्षदेखि सामान्य उपचार सेवा दिइरहेको छ । 

प्रधानमन्त्रीज्यू आफैँले चासो दिनुभएको छ, न्याम्सले पनि प्राथमिकतामा राखेको छ, तर स्वास्थ्य मन्त्रालय सकारात्मक नहुँदा केही ढिलाइ भएको छ ।
-सोमप्रसाद मिश्र
नगर प्रमुख, चाँगुनारायण नगरपालिका

न्याम्सको जग्गामा इन्जिनियरिङ  कलेज र परोपकार
जग्गा प्राप्त भए पनि पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा माटो, बालुवा उत्खनन र अतिक्रमण बढेको छ । सरकारले न्याम्सलाई स्वीकृति दिएको ५७० रोपनी जग्गामध्ये अहिले ५२० रोपनी मात्रै बाँकी छ । पूर्वाधार बनाउनुअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले गरेको नापजाँचका क्रममा ५० रोपनी जग्गा नभेटिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए । बाँकी रहेको ५२० मध्ये १७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज सञ्चालित छ ।

अरू केही जग्गामा परोपकार सेवा केन्द्र सञ्चालित छ भने केही जग्गा चाँगुनारायण माविले प्रयोग गरेको छ । इन्जिनियरिङ कलेजको आफ्नै ३६ रोपनी जग्गा छ । तर, अहिलेसम्म न्याम्सकै जग्गामा खेलमैदान, ल्याब, प्रयोगशाला र गल्स होस्टेललगायत भवनहरू रहेका छन् । 

चीन सरकार सकारात्मक
अस्पताल विस्तारको काम गर्न चीन सरकार सकारात्मक देखिएको छ । चिनियाँ प्रतिनिधिले अस्पताल निर्माण हुने क्षेत्रको अवलोकन गरी डिपिआरदेखि पूर्वाधार खडा गर्ने र उपकरण खरिदसम्मका लागि अनुदान सहयोग गर्न सकारात्मक रहेको मिश्रले बताए । तर, सडक, बिजुली, खानेपानी र ढललगायत पूर्वाधारका काममा सहयोग गर्नुपर्ने प्रस्ताव रहेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू आफैँले चासो दिनुभएको छ, न्याम्सले पनि प्राथमिकतामा राखेको छ, तर स्वास्थ्य मन्त्रालय सकारात्मक नहुँदा केही ढिलाइ भएको छ,’ मिश्रले भने । 

वीर अस्पतालको सेवा विस्तार गरी कम्तीमा पनि एक हजारदेखि पन्ध्र सय बेडको बनाउने र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को मुख्यालय, रजिस्ट्रारको कार्यालय, नर्सिङ कलेज, पब्लिक हेल्थ कलेज, रेडियोलोजिस्ट प्याथोलोजिस्टको पठन–पाठनसमेत त्यहीबाट गर्ने पूर्वतयारी रहेको छ । यद्यपि के–कस्ता संरचना बन्ने भने यकिन भइसकेको छैन ।