Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ १८ शनिबार १०:५०:००
Read Time : > 1 मिनेट
खेलकुद

काबुलको त्यो खुसी...

Read Time : > 1 मिनेट
२०७६ जेठ १८ शनिबार १०:५०:००

कुरो गत साताको हो । अफगानिस्तानको राजधानी काबुलमा सयौँ गन फायर भइरह्यो । कसैका हातमा पेस्तोल थिए भने कोही सटगन फायर गरिरहेका थिए । अझ एके–४७ बाट आकाशमा सयौँ फायर भइरहेको थियो । सिंगो काबुलमा सयौँ राउन्ड गोली चलिरहँदा सुरक्षाकर्मी परिचालन भएनन् । योपटक काबुलका जनताले डर मानेनन् । उनीहरू सबै खुसी नै थिए । मानौँ अफगानीले कुनै एउटा ठूलो युद्ध जितेको थियो । त्यसमा सबै खुसीमा रमाइरहेका थिए । हो, योपटक काबुलमा जितको खुसी मनाइएको थियो । विश्वकपअघि अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनी जित निकाल्दा अफगानी जनता खुसीले झुमे । काबुलमा खुसियाली मनाउँदा उनीहरूले स्वतःफूर्त रूपमा फायरिङ गरे ।

 गुरुमाथि नै जित
अफगानिस्तानको क्रिकेट इतिहास पल्टाउँदा उनीहरूले छिमेकी पाकिस्तानसँगै क्रिकेट सिकेका हुन् । अफगानी खेलाडीहरू पाकिस्तानमै गएर क्रिकेटको प्रशिक्षण लिन्थे र त्यहाँ आफूले प्राप्त गरेका ज्ञानगुनका कुरा साथीहरूसँग सेयर गर्थे । आज आफ्ना क्रिकेटकै गुरुहरूलाई बेलायतमा परास्त गर्दा काबुलका जनता अत्याधिक खुसी भए । पाकिस्तानमाथिको जितले विश्वमा अफगानिस्तानले एउटा सन्देश दिएको १८ वर्षीय बसिर अहमद बताउँछन् । अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग कुराकानी गर्दै बसिरले भने, ‘अहिले पनि अफगानिस्तानलाई द्वन्द्वग्रस्त राष्ट्रकै रूपमा लिने गरिन्छ, तर बेलायतमा पाकिस्तानविरुद्धको सफलतासँगै हामीले एउटा सन्देश प्रवाह गर्न सफल भयौँ ।’

 प्रतीक्षाको घडी समाप्त
विश्व राजनीतिज्ञको कुरा मान्ने हो भने पाकिस्तान र अफगानिस्तानबीच धेरै समानता पाउन सकिन्छ । अफगानिस्तानजस्तै पाकिस्तान पनि आतंकवादको समस्याबाट बाहिर आउन सकिरहेको छैन । यसैबीच दुवै राष्ट्रका खेलाडीहरू क्रिकेटमा अब्बल छन् । उनीहरूले क्रिकेटको माध्यमबाट आफ्नो राष्ट्रलाई चिनाउने गरेका छन् । काबुलकै अर्का एक युवा नाजिर नासेरीले पाकिस्तानमाथिको जितसँगै प्रतीक्षाको घडी समाप्त भएको प्रतिक्रिया दिएका छन् । ‘त्यो दिन म निकै खुसी भएको थिएँ,’ हर्षित हुँदै नासिरले भने, ‘वास्तवमै क्रिकेटमा हाम्रो प्रतीक्षा समाप्त भएको छ, अब अफगानी खेलाडीहरूले बेलायतमा अर्को ऐतिहासिक सफलता चुम्न बाँकी छ, यदि हामीले सोचेजस्तो भएमा पक्कै पनि अफगानिस्तानमा केही परिवर्तन हुन्छ ।’

 पालो अस्ट्रेलियाको
छनोटमा आयरल्यान्डलाई हराउँदै अफगानिस्तानले लगातार दोस्रोपटक विश्वकपको स्थान पक्का पारेको हो । विश्वकपमा अफगानिस्तानको पहिलो प्रतिद्वन्द्वी नै साबिक विजेता अस्ट्रेलिया हो । अस्ट्रेलिया विश्वकै सर्वाधिक सफल राष्ट्र हो । अन्तर्राष्ट्रिय क्षेत्रमा निरन्तर रूपमा बलिया प्रतिद्वन्द्वीलाई स्तब्ध बनाएको अफगानिस्तानले अस्ट्रेलियालाई सहजै चुनौती दिने स्थानीय युवा नासेरले बताए । ‘अब अफगानी खेलाडीहरूले अस्ट्रेलियाको सिकार गर्नुपर्छ, यदि त्यो खेलमा नतिजा हाम्रो पक्षमै आउँदा पुनः एकपटक काबुलमा एके–४७ चल्नेछ,’ उनले भने, ‘सम्भवत पाकिस्तानविरुद्धको भन्दा पनि फरक रूपमा काबुलको सडकमा खुसी मनाउँनेछौँ ।

रसिद र नाबी हिरो
काबुलको घरका भित्ताहरूमा दुई खेलाडीका तस्बिर झुन्डिने गरेका छन् । युवा अवस्थामै विश्व क्रिकेटमा राज गरेका स्पिनर रसिद खान र अफगानिस्तानलाई टेस्ट राष्ट्रको हैसियत दिलाउन महत्वपूर्ण योगदान गरेका मोहमद नाबीका तस्बिर हरेकका घरमा रहेको १७ वर्षीय मोहमद जिमालले बताए । ‘हाम्रो नजरमा नाबी र रसिद हिरो हुन्,’ जिमालले भने, ‘आज अफगानिस्तानको क्रिकेट यो अवस्थामा पुग्न यी दुई खेलाडीकै विशेष योगदान छ ।’ नाबी र रसिदले शान्ति सन्देश छरेको उनको भनाइ छ । ‘अफगानी खेलाडीले विश्वमा शान्तिको सन्देश दिइरहेका छन्, खेलाडीहरूको सफलतापछि हामी युद्ध भुल्छौँ,’ उनले भने, ‘क्रिकेटले अफगानिस्तानलाई एक बनाएको छ र यसलाई आतंकवादीहरूको आत्मघाती बमले क्षतविक्षत गर्न सक्दैन ।’