१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ १७ शुक्रबार १०:४७:००
Read Time : > 1 मिनेट
समाचार

जनता आवास कार्यक्रमले दलित र विपन्न परिवारको बिचल्ली

Read Time : > 1 मिनेट
२०७६ जेठ १७ शुक्रबार १०:४७:००

जनता आवास कार्यक्रमबाट पक्की घर बन्ने आशा बोकेका दलित तथा विपन्न परिवार बिचल्लीमा परेका छन् । पुरानो घर भत्काएका उनीहरू नयाँ घर बन्न नसकेपछि बिचल्लीमा परेका हुन् । संघीय सरकारको जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७३/७४ मा बारामा दलित तथा विपन्न परिवारका लागि घर निर्माण सुरु गरिएको थियो । नयाँ पक्की घर बनाउन उनीहरूले पुरानो घर भत्काएका थिए ।

दुई वर्ष घर निर्माण नभएपछि समस्यामा परेको उनीहरूले गुनासो गरेका छन् । बाराको परवानीपुर गाउँपालिका–२ रामपुर टोकनीका नन्दु रामले डेढ वर्षअघि घर निर्माण सुरु गरेको भए पनि अझै पूरा नभएको बताए । घर निर्माणका लागि डेढ वर्षदेखि जनता आवास कार्यक्रमको कार्यालय धाइरहेको उनले बताए । ‘जनता आवास कार्यक्रममार्फत पक्की घर बन्छ भनेपछि भएको घर भत्काएँ, अहिले त्रिपालमा बसिरहेको छु,’ उनले भने । 

जनता आवास कार्यक्रमले पहिलो किस्ता मात्रै दिएको छ । निर्माणको काम पूरा भए पनि छानो हाल्न बाँकी रहेको उनले बताए । दोस्रो किस्ताको रकम नपाउँदा छानो हाल्न नसकेको नन्दले गुनासो गरे । ‘अहिले प्लास्टिकको त्रिपाल राखेर बसिरहेको छु,’ उनले भने । त्यस्तै, पहिलो किस्ताको रकम सकिएको र दोस्रो किस्ताको रकम नपाउँदा घर निर्माणमा ढिलाइ भएको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका अमर हाजराले बताए । ‘चाँडै काम नगरिदिएर दुःख दिएका छन्,’ उनले भने । घर निर्माणको रकम भुक्तानीका लागि उनीहरू कार्यालय धाउने गरेका छन् । आज–भोलि भन्दाभन्दै झुलाएको अमरको गुनासो छ । त्यस्तै, तेस्रो किस्ताका लागि जनता आवास कार्यालय पुगेका इनरवा सिराका शम्भु पासवानले थाकिसकेको बताए । कर्मचारीको व्यवहारले हैरान भएको उनको गुनासो छ । ‘एक वर्षभित्रै निर्माण हुनुपर्ने अर्धपक्की घर दुई वर्ष बितिसक्दा पनि अधुरै छन् । बिचल्लीमा पारेका छन्,’ उनले भने ।

कर्मचारी अभावले समस्या
सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगन्जका प्रमुख सरोजकुमार गोइतले लामो समयदेखि कर्मचारी अभावले काम गर्न नसकिएको बताए । ‘काम गर्नलाई कर्मचारी आवश्यक हुन्छ । ६–७ कर्मचारी मात्रै छौँ, तीन जिल्ला काम गर्न समस्या भएको छ,’ उनले भने । यस कार्यालयबाट पटक–पटक कर्मचारी सरुवा भएकाले समस्या आएको उनको भनाइ छ । 

सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगन्जले बारा, पर्सा र रौतहट हेर्दै आएको छ । बारामा एक हजार घरमध्ये नौवटा मात्रै सम्पन्न भएका छन् । त्यस्तै, १५ घरमा गारो लगाउने काम भएको छ । चार सय ७९ घरमा गारो लगाउन बाँकी रहेको भवन डिभिजन कार्यालयका इन्जिनियर सञ्जीवकुमार साहले बताए । त्यस्तै, पर्सामा ८० वटा घर सम्पन्न भएका छन् । अन्य घर निर्माणकै क्रममा छन् ।