मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ १६ बिहीबार १०:३९:००
Read Time : > 2 मिनेट
खेलकुद

१३औँ सागको तयारी सुरु

१३औँ सागलाई लक्षित गर्दै सात खेलका ८४ खेलाडी पहिलो चरणको क्लोज क्याम्पमा

Read Time : > 2 मिनेट
२०७६ जेठ १६ बिहीबार १०:३९:००

राष्ट्रिय खेलकुद परिषद्ले घोषित समयभन्दा १५ दिनपछि १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को प्रारम्भिक छनोट बुधबारदेखि सुरु गरेको छ । सागमा सहभागी हुने जुडो, टेबल–टेनिस, भारोत्तोलन, सुटिङ, आर्चरी, प्याराग्लाइडिङ र स्क्वास खेलका खेलाडी क्लोज क्याम्पमा बसेका हुन् । सात खेलका ८४ खेलाडीले बिहीबारबाट औपचारिक अभ्यास सुरु गर्नेछन् । असार मसान्तसम्म पहिलो चरणको क्लोज क्याम्प राख्ने परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नयाँ पत्रिकालाई जानकारी दिए । 

 दैनिक चार घन्टा अभ्यास
राष्ट्रिय टिम तयारी समितिका निर्देशक अर्जुन विकले नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समावेश गरी बुधबार क्लोज क्याम्पको औपचारिक सुरुवात गरेको बताए । खेलाडीले बिहान र बेलुका दुई–दुई घन्टा प्रशिक्षण गर्ने निर्देशक विकले जानकारी दिए । ‘छनोट कमिटीले प्रक्रिया पूरा गरी पठाएको नामावलीअनुसार नै खेलाडीलाई क्लोज क्याम्पमा राखेका हौँ,’ विकले भने । उनका अनुसार काठमाडौं र पोखरामा प्याराग्लाइडिङमा चार–चारजना खेलाडी क्लोज क्याम्पमा छन् । परिषद्ले क्लोज क्याम्पमा रहेका खेलाडीलाई डाइट खर्चका रूपमा दैनिक ६ सय दिएको छ । प्राप्त रकमबाटै खेलाडीले दैनिक खर्च गर्नुपर्ने विकले बताए । पहिलो दिन आबद्ध सात खेलका धेरैजसो खेलाडी विभागीय टोलीबाट भएकाले उनीहरूलाई बसोवासको समस्या नभएको उनको भनाइ छ । विभागीयबाहेक आठ खेलाडीका लागि परिषद्ले होटेलको व्यवस्था गरेको छ । खेलाडीको होटेल खर्च परिषद्ले नै बेहोर्नेछ । 

 दुई किसिमका दैनिक भत्ता
अहिले क्लोज क्याम्पमा सबै खेल सहभागी छैनन् । सागमा सहभागी सबै खेलका खेलाडी क्लोज क्याम्पमा रहँदा दुईथरी दैनिक भत्ता निर्धारण हुने सदस्य–सचिव विष्टले बताए । उनका अनुसार स्थानीय खेलाडीलाई दैनिक हजार र बाहिरबाट आउने खेलाडीलाई दुई हजार दैनिक भत्ता उपलब्ध गराउने विष्टले जानकारी दिए । ‘पहिले दैनिक भत्ता १४ सय मात्र थियो, अब मैले दैनिक दुई हजार बनाएको छु,’ उनले भने, ‘प्रत्येक खेलाडी अनिवार्य रूपमा होटेलमै बस्नुपर्छ ।’ 

 सात संघले नाम पठाए
बुधबारसम्म परिषद्मा कराते, तेक्वान्दो, फेन्सिङ, गल्फ, ब्याडमिन्टन, उसु र पौडीका खेलाडीको नाम प्राप्त भएको परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । ‘पछिल्लोपटक आएका संघका खेलाडीले पनि क्लोज क्याम्प सुरु गर्नेछन्,’ दाहालले भने, ‘अब बाँकी खेलका क्लोज क्याम्प २० जेठबाट सुरु हुनेछन् ।’ धेरै अगाडि नै सागका लागि गठन भएको छनोट समितिले प्रक्रियागत रूपमा सम्बन्धित खेलका संघहरूलाई प्रक्रियागत रूपमा खेलाडी पठाउन भनेको थियो । आठौँ राष्ट्रिय खेलका उत्कृष्ट खेलाडी छनोट गर्नुपर्ने भनिए पनि छनोट समितिले कस्ता खेलाडीलाई क्लोज क्याम्पमा राख्ने भनेर स्पष्ट नपार्दा संघहरू द्विविधामा परेको संघकै एक पदाधिकारीले बताए । यही द्विविधामा रहँदा नै  धेरै संघका अध्यक्ष र महासचिवकै हस्ताक्षरमा आफ्नै हिसाबले खेलाडीको नाम पठाइँदा समस्या आएको उनले बताए । 

 सुरु हुनु सकारात्मक
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ अध्यक्ष दीपक श्रेष्ठले १५ दिनपछि क्लोज क्याम्प सुरु भए पनि आफूले सकारात्मक रूपमा लिएको बताए । ‘यद्यपि, सागको तयारी निकै ढिला भइसकेको छ,’ श्रष्ठले भने, ‘हामीले धेरै अगाडि नै यसको तयारी सुरु गर्नुपर्ने हो, तर १५ जेठबाट सुरु भयो ।’ घोषित मितिभन्दा ढिला भए पनि परिषद्ले अब तयारीमा कमी–कमजोरी गर्न नहुने उनले बताए । तर, खेलाडीलाई बिहान र बेलुका मात्र प्रशिक्षणमा राख्दा प्रभावकारी हुन नसक्ने उनको भनाइ छ । ‘खेलाडी बिहान र बेलुका मात्र प्रशिक्षणमा बसेका छन्, दिउँसोको समयमा के गर्ने खेलाडीले ?,’ परिषद्लाई प्रतिप्रश्न गर्दै उनले भने, ‘यो अलि वैज्ञानिक भएन ।’

 २५ जेठमा संकल्प भेला
सन् १९८४ को पहिलो संस्करणमा नेपालले चार स्वर्णसहित २४ पदक जित्दै चौथो स्थान हासिल गरेको थियो । सन् १९९९ मा दोस्रोपटक प्रतियोगिता आयोजना गर्दा नेपाल ऐतिहासिक रूपमा दोस्रो स्थान कब्जा गर्न सफल भयो । नेपालले ३२ स्वर्णसहित कीर्तिमानी रूपमा एक सय २० पदक जितेको थियो । अब तेस्रोपटकको आयोजनामा नेपालले आफ्नो लक्ष्य निर्धारण गरेको छैन । यद्यपि, सदस्य–सचिव विष्टले १३औँ सागमा कस्तो प्रदर्शन हुने र कति पदक जित्ने भन्नेबारे सबै सहभागी संघलाई समावेश गरी ‘संकल्प भेला’ आयोजना गर्न लागेको जानकारी दिएका छन् । ‘हामीले यसपटक कुन स्थानमा रहन्छौँ र कति पदक जित्छौँ भन्नका लागि संकल्प भेला आयोजना गर्न लागेका हाे,’ विष्टले भने ।