मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी ढाका
२०७६ जेठ १६ बिहीबार ०७:२४:००
Read Time : > 1 मिनेट
विश्व

जिउँदै जलाएर युवतीको हत्या : १६ अभियुक्तविरुद्ध मुद्दा दर्ता

Read Time : > 1 मिनेट
एजेन्सी ढाका
२०७६ जेठ १६ बिहीबार ०७:२४:००

यौनहिंसाविरुद्धको उजुरी फिर्ता गर्न नमान्दा जिउँदै जलाइएकी बंगलादेशी किशोरी नुसरत जहान रफी हत्याकाण्डमा प्रहरीले १६ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । ६ अप्रिलमा ढाकाबाट एक सय ६० किलोमिटर टाढाको फेनी सहरस्थित एक मदरसाको छतमा १९ वर्षीया रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाइएको थियो । 

रफीको १० अप्रिलमा मृत्यु भएको थियो । प्रहरीले मुद्दा दर्ता गरेका १६ जनामध्ये मदरसाका हेडमास्टर सिराज उद डोउला पनि एक हुन् । घटनाको समयमा उनी जेलमा थिए । उनीविरुद्ध गत मार्चमा रफीले यौनहिंसाको उजुरी दिएकी थिइन् । उनीबाहेक मदरसाकै केही छात्रा तथा दुई स्थानीय नेताविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार डोउलाले जेलभित्रैबाट रफीलाई जलाउन आदेश दिएका थिए । प्रहरीले घटनालाई सुनियोजित ‘सैन्य योजनाझैँ’ भनेको छ । 

यस्तो थियो घटना 
२७ मार्चमा नुसरतले हेडमास्टरमाथि यौनहिंसाको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन् । उनका अनुसार हेडमास्टरले कार्यालयमा बोलाएका थिए र खराब नियतले शरीरका विभिन्न अंगमा पटक–पटक छोएका थिए । त्यसपछि उनी भागेकी थिइन् । सोही दिन उनी परिवारसँगै उजुरी दिनका लागि प्रहरी कार्यालयमा पुगेकी थिइन् । त्यहाँ एक प्रहरी अधिकृतले उनीसँग बयानको भिडियो रेकर्ड गरेका थिए । यस भिडियोमा उनी विक्षिप्त देखिएकी छिन् र हातले अनुहार ढाक्ने प्रयास गरेकी छिन् । प्रहरी अधिकृतले हात हटाउन आग्रह गरेका छन् । ती प्रहरीमाथि कानुनविपरीत बयान रेकर्ड गरेको र अनलाइनमा सार्वजनिक गरेको अभियोगमा मुद्दा चलिरहेको छ । रफीको यस बयानपछि मदरसाका हेडमास्टर पक्राउ परेका थिए । ‘यी हेडमास्टरले आफूलाई भेट्न आएका सहयोगीहरूसँग मुद्दा फिर्ता गर्न नुसरतको परिवारलाई दबाब दिन आग्रह गरेका रहेछन् । जब केही लागेन, त्यसपछि उनले नै मार्ने आदेश दिए,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा बंगलादेशको अनुसन्धान ब्युरो (पिसिबी)का प्रमुख बनजकुमार माजुमदरले भने, ‘यो घटना सुनियोजित देखिन्छ । बुर्का, ग्लोब्स र मट्टितेल हत्याकै लागि खरिद गरिएको थियो । घटनालाई आत्महत्याजस्तो देखाउने योजना थियो ।’ 

यसरी सार्वजनिक भयो 
शरीरमा आगो लागेपछि नुसरत छतबाट खसेकी थिइन् । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । एम्बुलेन्समै उनले आफ्ना दाइको मोबाइल फोनमा घटनाको बयान रेकर्ड गराइन् । यसै भिडियोलाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार परीक्षा दिन विद्यालय आएकी नुसरतलाई केही साथीहरूले छतमा लगेका थिए । उनीहरूले आफ्नो एक साथी पिटिएको बताएका थिए । जब नुसरत छतमा पुगिन्, तब उजुरी फिर्ता लिन दबाब दिँदै केही व्यक्तिले उनलाई एउटा सादा कागज दिए । ‘उनले केही लेख्न अस्वीकार गरिन् । त्यसपछि सबैले मट्टितेल खन्याएर जलाए,’ प्रहरीले भनेको छ ।

नुसरतले रेकर्ड गरेको अन्तिम भिडियोमा मदरसाका केही विद्यार्थीसमेत घटनामा संलग्न रहेको बताएकी थिइन् । उनले केहीको नामसमेत बताएकी थिइन् । ‘यी शिक्षकले मलाई जथाभावी छोएका छन् । म यस अपराधविरुद्ध आफ्नो अन्तिम साससम्म लडिरहन्छु,’ उक्त भिडियोमा उनले भनेकी छिन् । यस हत्याकाण्डको सुनुवाईका लागि प्रहरीले अदालतमा अभियुक्तहरूलाई पेस गर्न बाँकी छ । अनुसन्धानमा खटिएकाहरूले सबै आरोपितमाथि मृत्युदण्डको माग गरेका छन् ।