मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
पर्शुराम काफ्ले 
२०७५ मङ्सिर २८ शुक्रबार २१:१७:००
Read Time : > 1 मिनेट
समाचार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका जाँदै 

Read Time : > 1 मिनेट
पर्शुराम काफ्ले 
२०७५ मङ्सिर २८ शुक्रबार २१:१७:००

नेपालबाट करिब डेढ दशकपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय द्विपक्षीय औपचारिक वार्ता हुन लागेको छ । अमेरिकी विदेशमन्त्री माइक आर पोम्पियोको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आइतवार राति प्रस्थान गर्दैछन् । उनी साताव्यापी भ्रमणका लागि अमेरिका जान लागेका हुन् । नेपालका परराष्ट्रमन्त्रीलाई अमेरिकी समकक्षीको निमन्त्रणा १६ वर्षपछि आएको हो ।

परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गर्ने कार्यतालिका अनुसार मन्त्री ज्ञवालीले ३ र ४ पुसमा अमेरिकी उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । उनले ३ पुसमा समकक्षी माइक आर पोम्पियोसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । ज्ञवालीसँगै परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रमन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारीसहितको टोली अमेरिका जाने छन् । भ्रमणदलमा वासिंटनस्थित नेपाली राजदूत डा. अर्जुन कार्की सहभागी हुनेछन् । 

सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । विगतमा नेपाल र अमेरिकाबीच उच्चस्तरीय भ्रमण हुने गरेपनि नेपालको घरेलु द्वन्द्वपछि रोकिएको थियो । नयाँ सरकार गठनपछि अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको अर्थमा ज्ञवालीको भ्रमणलाई लिइएको छ । 
ज्ञवालीले अमेरिकी अधिकारीसँग नेपालको शान्ति प्रक्रिया र विकासको प्राथमिकताबारे छलफल गर्ने परराष्ट्र अधिकारीले बताए 

१६ वर्षअघि देउवा अमेरिकामा, पावेल नेपालमा 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०५८ वैशाख २३ देखि २८ सम्म अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी सरकारको निमन्त्रणामा उनीपछि प्रधानमन्त्रीस्तरमा अमेरिकाको औपचारिक भ्रमण भएको छैन । अमेरिकी विदेशमन्त्री कोयिलन पावेलले डेढ दशकअघि नेपाल भ्रमण गरेका थिए । त्यसयता विदेशमन्त्री वा माथिल्लोस्तरमा अमेरिकाबाट नेपाल भ्रमण भएको छैन । उपप्रधानमन्त्री कमल थापासँग अमेरिकामा केही अघि भएको भेटवार्तामा विदेशमन्त्री जोन केरीले यही अंग्रेजी वर्षको अन्तिम (आगामी पुस)सम्म नेपाल भ्रमण गर्नसक्ने बताएका थिए । तर, भ्रमण यकिन नभएको परराष्ट्रमन्त्रालयका अधिकारीहरु बताउँछन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५८ साल माघ ५ गते विदेशमन्त्री पावेल नेपाल भ्रमणमा आएका थिए । माओवादीविरुद्ध सेना परिचालित भएको त्यो बेला ‘पावेलले आतंकवादविरुद्ध अमेरिकी सहयोग रहने’ घोषणा गरेका थिए । सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्विन टावरमा हवाइ हमला गरेपछि अमेरिकाले ‘आतंकवादविरुद्ध अभियान’ घोषणा गरेको थियो । 

दक्षिण एशियाको अफगानिस्तानमा तालिवानविरुद्ध अमेरिकामा आक्रमण चलेका बेला नेपालमा माओवादीविरुद्ध तत्कालीन सरकारले सेना परिचालन गरेको थियो । त्यही बेला भारत र पाकिस्तानको भ्रमण सकेर पावेल नेपाल भ्रमणमा आएर माओवादीविरुद्ध सरकारको कारबाहीमा ऐक्यवद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए । उनीपछि अमेरिकाबाट नेपालमा हाइप्रोफाइल भ्रमण भएको छैन । 

०७३ वैशाख पहिलो साता तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले पनि अमेरिकामा तत्कालीन विदेशमन्त्री जोन केरीसँग भेटेका थिए । थापाले सन् २०१६ मै केरीको भ्रमण हुने बताएका थिए । देउवापछि नेपालका प्रधानमन्त्री अमेरिका गएका छैनन् ।