मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नुनुता राई
२०७५ पौष १४ शनिबार ११:०८:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली

पूर्वमन्त्री महेन्द्र यादवको फिटनेस : दिनमा चारपटक रोटी खान्छु

Read Time : > 3 मिनेट
नुनुता राई
२०७५ पौष १४ शनिबार ११:०८:००

नियमित कुद्छु
व्यायाम भनेरै शारीरिक व्यायाम त गर्दिनँ, दैनिक रूपमा कम्तीमा आधा घन्टा ट्रेड मिलमा कुद्छु । पसिना आउने गरी कुदेपछि सामान्य व्यायाम पुग्छ भन्ने सोचले नियमित कुद्ने गरेको छु । जनकपुरमा हुँदा बिहान घरबाहिर कम्तीमा ४५ मिनेट हिँड्छु । काठमाडौंमा भने बाहिर निस्कनुभन्दा कोठामै ट्रेड मिलमा हिँड्छु । बिहानैदेखि व्यस्त हुने भएकाले अरू व्यायाम गर्ने समय पनि हुँदैन ।

नियमित पूजाले मनमा शान्ति
म आध्यात्मिक भएकाले दैनिक कम्तीमा पन्ध्र मिनेट पूजा गर्छु । यसले मानसिक रूपमा फ्रेस भएको महसुस हुन्छ । बिहान नुहाएर मात्र पूजा गर्ने भएकाले स्वास्थ्य र सफाइको हिसाबले पनि फाइदाजनक नै छ । दिमागलाई एकाग्र गर्न सहयोग पुग्छ । पूजाले मनमा शान्ति मिल्छ, त्यसैले पनि नियमित पूजा गर्छु । 

खानपानमा ध्यान दिन्छु 
स्वस्थ रहन व्यायामसँगै स्वस्थ खाना खानु पनि जरुरी छ । स्वस्थ एवं ताजा खानाले स्वास्थ्यलाई पनि तन्दुरुस्त राख्छ भन्ने मान्यताले खानपानमा विशेष ध्यान दिने गर्छु । एकदम साधारण खाना खान्छु । मैले खाने खाना जहाँ पनि सहजै पाइन्छ । सादा खाना रुचाउँछु । 

मेरो दैनिक तालिका
प्रायः बिहान साढे ५ बजे उठ्छु । त्यसपछि एक गिलास निम्बुपानी पिउँछु । नुहाएर पूजा गर्छु । त्यसपछि हर्बल चिया पिउँदै पत्रपत्रिका पढ्छु । अनि नास्ताको पालो आउँछ । त्यतिवेला बिहानको साढे ७ अथवा ८ बज्छ । नास्तामा दूध, रोटी अथवा दूध र ओट्स या रोटी–तरकारी । घरमा जे तयार हुन्छ, त्यही खान्छु । तर, मैले खाने नास्ताचाहिँ यी तीनमध्ये एक हुन्छ । 

बिहान नास्ता, खाना, दिउँसो खाजा र साँझ खानामा पनि रोटी नै हुन्छ । भात त अलिअलि मात्रै हो । रोटीले नै मेरो स्वास्थ्य तन्दुरुस्त राखेको महसुस हुन्छ । 


त्यसपछि बाहिरका लागि अथवा घरमा आएका साथीहरूसँग छलफल गर्छु, त्यो नभएको दिन काममा निस्कन्छु । बिहानको खाना खाँदा ११ बज्छ । खानामा दुइटा रोटी, थोरै खाना, दाल र तरकारी हुन्छ । हरियो साग अनिवार्यजस्तै हुन्छ । दिउँसोको खाजामा पनि धेरैजसोे रोटी र चना नै हुन्छ । त्यो नभए जे उपलब्ध छ, त्यही खाजा खान्छु ।  साँझको खानामा अढाई रोटी र तरकारी खान्छु । साँझ भात कम खान्छु । कहिलेकाहीँ रोटी नपाउने ठाउँतिर जाँदाचाहिँ तरकारी, दाल खाने गर्छु । एकदम सादा खाना खाने भएकाले मैले खाने खानेकुरा नपाउने भन्ने हुँदैन । अहिलेसम्म सहजै खानेकुरा पाउने गरेको छु, जुन म खान्छु ।  बिहानदेखि रातिसम्म दिनमा चारपटक रोटी खान्छु । बिहान नास्तामा, खानामा, दिउँसो खाजामा र साँझ खानाको सट्टा । यसैले पनि मेरो स्वास्थ्यमा सन्तुलन मिलेको छ । 

हप्तामा तीन दिन ‘भेज’
म हप्ताको तीन दिन मासु खान्नँ ।  आइतबार, मंगलबार र बिहीबार मासुको प्रयोग गर्दिनँ । अरू वेला प्रायः मासु खाइरहेको हुन्छ । कम्तीमा यी तीन दिन भए पनि मासु खाइनँ भने स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने सोचेर शाकाहारी भोजन गर्छु । हप्तामा तीन दिन शाकाहारी बन्दा पनि स्वास्थ्यमा स्फूर्ति आउँछ । 

माछा बढी खान्छु
हप्ताका चार दिन माछामासु खान्छु । यो वेला पनि दिनमा एकपटक मात्रै माछामासु खान्छु । त्यसमा पनि सकेसम्म माछा मात्रै खान्छु । कहिलेकाहीँ चिकेन खान्छु । मटन त प्रायः खाने गरेको छैन । खानैप-यो भने पनि महिनामा एक–दुईपटकभन्दा बढी मटन खान्नँ । 

मद्यपान कहिलेकाहीँ, धूम्रपान गर्दिनँ
मद्यपान कहिलेकाहीँ गर्छु । महिनामा एकदुई पटकसम्म हुन्छ । त्यो पनि ३० एमएलजत्ति हो । धूम्रपान त गर्दिनँ । अहिलेसम्म खैनी, चुरोट र गुट्खा केही पनि खाएको याद छैन । त्यसप्रति लगाव नै भएन । यस्ता विषयमा नबुझ्दासम्म लगाव हुने हो र बुझ्ने हुँदासम्म लत बसेर छाड्न सक्दैनन् । मलाई त्यस्तो उमेरमा लगाव बसेन, पछि बुझ्ने भएपछि खाइनँ । म तराईको भएकाले गर्मीको मौसममा बढी पानी पिउने बानी बसेछ । जाडोमा पनि मनतातो पानी पिउने बानी छ । त्यसैले होला, पानी बढी नै पिउँछु । 

नियमित स्वास्थ्य जाँच
मैले नियमित स्वास्थ्य जाँच गराउँदै आएको छु । सुगर, किड्नी र प्रेसरका लागि दुई महिनामा जाँच गराउँछु । वर्षमा एकपटक पूरै शरीरको अनिवार्य रूपमा स्वास्थ्य जाँच गराउँदै आएको छु । आफ्नो स्वास्थ्य अवस्थाबारे वेलावेला बुझिरहनुपर्छ भन्ने लाग्छ । अन्तिम समयमा आएर रोग थाह पाउँदा समस्या हुन सक्छ भनेर नियमित स्वास्थ्य जाँच गराउँदै आएको छु । 

प्रेसरको औषधि खान्छु
अहिलेसम्म स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना हुनुपरेको छैन । सामान्य रूपमा रुघाखोकी लागिरहन्छ । सामान्य औषधोपचार गर्दा जाती भइहाल्छ । अन्य सबै ठीक भए पनि तीन वर्षयताचाहिँ प्रेसर हाई भएको छ । जसले गर्दा औषधि खाइरहेको छु । सचेत हुँदाहुँदै पनि प्रेसरले भने औषधि खानु परिरहेको छ, पाँच एमजीको । अरू सबै अहिलेसम्म सामान्य छ । 

स्वस्थ अनुभव गर्छु
मैले प्रेसरको औषधि खाएको करिब तीन वर्ष भयो । अरू सबै सामान्य छ । प्रेसरको औषधि खाए पनि आफूलाई तन्दुरुस्त अनुभूत गर्छु । प्रेसरले मेरो जीवनशैलीमा केही प्रभाव पारेको छैन । बरु आफ्नो स्वास्थ्यको ख्याल गर्न थप सचेत बनाएको छ । आजभोलि आफूलाई निकै ख्याल गरिरहेको हुन्छु । समयमा खाने, सुत्ने, उठ्ने गर्न थालेको छु । खानपानमा पनि विशेष ध्यान दिन थालेको छु । त्यसैले होला, थप फुर्तिलो भएको अनुभूति गरिरहेको छु । फिट छु । काम गर्ने, सोच्ने शैलीमा कत्ति पनि ह्रास आएको छैन । 

मनोरञ्जनका लागि फिल्म हेर्छु
स्वस्थ्य रहन मनोरञ्जन पनि आवश्यक पर्छ भन्ने मेरो बुझाइ हो । मनोरञ्जन लिने शैली आ–आफ्नै हुन्छन् । म भने मनोरञ्जनका लागि फिल्म हेर्ने गर्छु । सानैदेखि हिन्दी फिल्मको प्रभाव अलि बढी प-यो होला, अहिले पनि हिन्दी फिल्म नै बढी हेर्छु । आफूलाई अलि टेन्सन अथवा बोरिङ भयो भने फिल्म हेर्न गइहाल्छु । फेरि फिल्म घरमा बसेर हेर्न मलाई रमाइलो लाग्दैन, हलमै पुग्छु । यसले रिफ्रेस बनाउँछ । कहिलेकाहीँ गीत सुन्छु । लता मंगेसकरका सबै गीत मलाई मन पर्छन् । गाडीमा लता मंगेसकरको गीत प्रायः बजाइरहन्छु । रमाइलो लाग्छ, मुड फ्रेस गराउँछ ।