१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २२ मंगलबार o६:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आगामी मध्यपुससम्म खासै जाडो नहुने

१५ असोजदेखि १६ पुससम्म देशभर अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o६:५३:oo

आगामी तीन महिना खासै जाडो नहुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले १५ असोजदेखि १६ पुससम्मको तीनमहिने हावापानी आकलन गर्दै देशभर अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने आकलन गरेको छ ।

‘यसपटक बर्खामा पनि तापक्रम धेरै रह्यो । पोस्ट मनसुनमा पनि औसतभन्दा धेरै हुने देखिन्छ । यसको अर्थ खासै जाडो नहुने देखियो,’ जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन् । विभागका अनुसार बागमतीको मध्य तथा दक्षिणी भेग, मधेशको पश्चिमी भेग, गण्डकीको मध्य तथा पश्चिमी भेग, लुम्बिनीको मध्य तथा पूर्वी र कर्णालीको पूर्वी तथा उत्तरी भेगमा अधिकतम तापक्रम औसतभन्दा धेरै हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । कोशीको मध्य, मधेशको पूर्वी र बागमतीको उत्तरी क्षेत्रमा पनि औसतभन्दा बढी तापक्रम हुनेछ । 

विभागले तीनमहिने अवधिमा कोशी, मधेश र बागमतीमा सरदरभन्दा बढी वर्षाको आकलन गरेको छ । त्यस्तै, गण्डकीका दक्षिण–पूर्वी भूभाग र लुम्बिनीका पूर्वी भूभागमा पनि सरदरभन्दा बढी वर्षाको सम्भावना छ । तर, पोस्ट मनसुनको आगामी दिनमा धेरै वर्षा हुनेभन्दा पनि १४ असोजयताको वर्षासमेत गणना हुने भएकाले धेरै देखिएको वरिष्ठ मौसमविद् पोखरेलले बताइन् । ‘पोस्ट मनसुनमा धेरै वर्षा हुने होइन । पहिले–पहिले त वर्षा निकै कम हुन्थ्यो । अचेल मनसुन धकेलिँदा पोस्ट मनसुनमा अलि बढी वर्षा देखिन थालेको हो,’ पोखरेलले भनिन्, ‘धेरै पानी पर्छ भनेर डराइहाल्न पर्दैन ।’

पोस्ट मनसुनमा ८० मिलिमिटर हाराहारीको वर्षालाई सरदर भनिन्छ । तर, अहिले नै २९.४ मिलिमिटर पुगिसकेको छ । नेपालमा मुख्य २० वटा स्टेसनको वर्षालाई आधार मानेर औसत वर्षा र तापक्रम निकालिन्छ । तर, कर्णाली प्रदेशका मध्य र उत्तरी भूभाग तथा सुदूरपश्चिमका उत्तरी भूभागमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण विभागले गरेको छ ।

विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपको आकलन, मौसम विभागकै हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा तीनमहिने प्रक्षेपण गरेको हो । पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय प्रणाली (आइओडी)को हालको अवस्था तथा ऋतुगत परिवर्तनशीलताका कारकलाई मध्यनजर गरेर वर्षा र तापक्रमको प्रक्षेपण गरिएको हो ।