मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रीलोचन राजोपाध्याय
२०७५ पौष १४ शनिबार ०९:५०:००
Read Time : > 3 मिनेट
खेलकुद

कोलम्बो साग रेफ्रीको सिकार

Read Time : > 3 मिनेट
श्रीलोचन राजोपाध्याय
२०७५ पौष १४ शनिबार ०९:५०:००

त्यो क्षण :

१०औँ कोलम्बो साग नेपाली खेलकुदको नजरमा ऐतिहासिक थियो । तीन नेपाली खेलाडीले कोलम्बोमा स्वर्णमाथि ह्याट्रिक अभियानसाथ निस्किएका थिए । १२ वर्षअघि तेक्वान्दोका दीपक विष्ट, संगिना वैद्य तथा करातेका दीपक श्रेष्ठ कोलम्बोमा स्वर्णमाथि ह्याट्रिक लगाउने दाउसाथ प्रतिस्पर्धा गरेका थिए । तर, दुर्भाग्यबस कीर्तिमान केवल तेक्वान्दोका दीपकले मात्र रचे । संगिना र दीपक श्रेष्ठ भने पहिलो चरणबाटै अप्रत्याशित रूपमा बाहिरिँदा जीवनकै सुन्दर सपना साकार पार्न सकेनन् । 

दीपक श्रेष्ठ, पूर्वकराते खेलाडी

बिर्सन नसक्ने दिन
नेपाली कराते इतिहासकै आइडल दीपकले कोलम्बो सागलाई जीवनको एक कालो दिनका रूपमा लिन्छन् । ‘त्यो दिन म कहिल्यै बिर्सन र सम्झन पनि चाहन्नँ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्ष खेलाडी अवार्ड सकाएपछि दीपकले भने, ‘जतिपटक बिर्सन प्रयास गर्छु, त्यति नै त्यो क्षण दिमागमा घुमिरहन्छ ।’ कोलम्बोमा स्वर्णमाथि ह्याट्रिक लगाएको भए जीवनको बाटो नै फरक हुने दीपकको दाबी छ । ‘यदि मैले लगातार तीन स्वर्ण जितेको भए सम्भवतः म अहिले प्रशिक्षक नभएर खेलाडी जीवनमै हुन्थे होला,’ हट लेमनको एक चुस्की लगाउँदै दीपकले भने, ‘जसरी दीपक विष्टको सफलता देखेर युवा खेलाडी तेक्वान्दोमा होमिएका छन्, त्यस्तै गरी करातेमा मलाई पछ्याइरहेका हुन्थे होलान् ।’ 

श्रीलंकाली खेलाडीको स्तर औसत 
दीपकले प्रतिस्पर्धा गर्नु ठ्याक्कै एक दिनअघि संगिनाको खेल थियो । कसैले नसोचेको नतिजा संगिना पहिलो चरणमै पराजित भइन् । त्यो समाचार सुन्दा दीपकको दिमागले काम गर्न छाड्यो । एक किसिमले उनी झस्किए । ‘यो के भएको ?’ त्यसवेला दीपकले आफूमाथि गरेको प्रश्न थियो । प्रतिस्पर्धात्मक खेलमा संगिना भुटानी खेलाडीसँग पराजित भएको भनी दीपकले आफूलाई बलियो बनाए । ‘संगिनाको नतिजा सुन्दा म झस्किएको थिएँ,’ दीपकले भने, ‘तर भुटानी खेलाडी राम्रो र  कडा भिडन्तमा संगिना पराजित भएको भनी मनलाई सम्झाउने काम गरे ।’ आठौँ र नवौँ सागमा दीपकले श्रीलंकाली खेलाडीलाई हराएका थिए । स्वर्णमाथि ह्याट्रिक गर्ने अभियानमा दीपकले १०औँ सागमा पनि पहिलो खेलमै श्रीलंकाली खेलाडी प्रतिद्वन्द्वी नै पाए । टाइसिट ड्रमा श्रीलंकाली खेलाडी नै पहिलो चरणमा नपरून् भन्ने उनको इच्छा थियो । खेलमा घरेलु खेलाडीलाई एडभान्टेज हुन सक्ने ज्ञात उनलाई थियो । दीपकले प्रतिद्वन्द्वीसम्बन्धी सबै जानकारी लिइसकेका थिए । उनलाई यति विश्वास थियो कि पहिलो चरण सहजै जित्नेछु । ‘ती श्रीलंकाली खेलाडीको प्रशिक्षण तथा भिडियो हेरेको थिएँ, उसलाई सहजै हराउन सक्ने विश्वास थियो,’ दीपकले भने, ‘उनी औसत खेलाडी थिए ।’ 

घरेलु खेलाडीलाई जिताउने चलखेल
रिङमा पाइला टेक्दा नै दीपक झस्किए । श्रीलंकाली खेलाडीमाथि जति प्रहार गरे पनि जुरीमा बसेका रेफ्रीहरूले अंक नै दिएनन् । उल्टै श्रीलंकालीको हल्का प्रहारमा पनि रेफ्रीले अंक दिन्थे । ‘मैले जति राम्रो प्रहार गरे पनि अंक नै आउँदैन्थ्यो,’ १२ वर्षअघिको खेल सम्झँदै उनले भने, ‘यहाँसम्म  तीन अंक आउने स्पष्ट मुक्का र किक हान्दा शून्य अंक मात्र पाएँ ।’ श्रीलंकाली खेलाडीलाई दोस्रोपटक काउन्टरमा अंक दिइराखेको देख्दा दीपकले थाहा पाए, ‘सबै मिलेर श्रीलंकालाई जिताउने खेल भइरहेको छ ।’ तर, पनि उनी विचलित भएनन् । यद्यपि, खेलमा आफू रेफ्रीहरूको सिकार हुने थाहा पाए पनि उनले श्रीलंकाली खेलाडीविरुद्ध चार्ज गर्न छाडेनन् । तर, नतिजा उस्तै थियो । ‘कराते सिक्दादेखिको भयभरको दिमाग र टेक्निक अप्नाएँ तर अंक भने आउँदै आएन्,’ रिङभित्रै बुनेका रणनीतिबारे दीपक भन्छन्, ‘त्यस किसिमको टेक्निक फाइनलमा प्रयोग हुन्छ तर मैले पहिलो चरणमै गर्नु पर्‍यो ।’ दुवैका अंक बराबर हुँदा रेफ्रीहरूले श्रीलंकाली खेलाडीको अंक ह्वात्तै बढाउने गरेको उनले सुनाए । 

जति गरे पनि नजित्ने पक्का भएपछि दीपकले खेल सकिनु १० सेकेन्डअघि विरोध जनाए र प्रतिस्पर्धा नै नगरी रिङको बीचमा उभिएर श्रीलंकाली खेलाडीलाई जिताउने खेल भएको भनी जुरीविरुद्ध नै उत्रिए

आइसले दिलायो याद 
रिङभित्र पूरै एग्रिसिभ व्यवहार देखाएका दीपक अन्ततः बाहिरिए । बाहिरिनुअघि नेपाली टोलीका जिम्मेवार पदाधिकारीले उनलाई दोहा एसियाडदेखि अन्य प्रतियोगितामा प्रतिस्पर्धा गराउने प्राभोलन देखाए पनि । तर, उनले ती सबै प्रस्ताव अस्वीकार गरी ‘भीमसेन’ को जस्तै रिस देखाउँदै रिङबाट बाहिरिए  । प्रतिस्पर्धाको दौरान दीपकको छातीमा चोट लागेको थियो । एक नर्सले उनको छातीमा चिसो न चिसो आइस राखिन् । आइसको चिसो डल्लो शरीरमा पर्दा उनको मन शान्त भयो । त्यसपछि दीपकलाई छानाबाट खसे जस्तै महसुस भयो । अनि, मात्र उनले महसुस गरे, ‘खेल त समाप्त भइसक्यो र ह्याट्रिक सपना तुहियो,’ दीपक भन्छन्, ‘आइसको चिसो परेपछि मात्र मैले ह्याट्रिक अवसर गुमाइसकेको थाहा पाएँ ।’ त्यसवेला दीपकले आफूलाई सम्हाल्नै सकेनन् । नेपाली टोली बसेको स्थानसम्म उनी रुँदै गए । अगाडि र पछाडि को–को आए उनले ख्यालै गरेनन् । ‘रेफ्रीको झेली निर्णय र नियतबस आयोजकलाई जिताउने योजनाको म सिकार भएँ,’ अहिले त्यो दिन सम्झँदा रिस उठ्ने उनले बताए, ‘निष्पक्ष रूपमा खेल सञ्चालन हुँदा म फराकिलो अन्तरले विजयी हुन्थें, सायद मैले कोलम्बोमा इतिहास रच्थें ।’ 

दिल्लीमा अफवाह
कोलम्बोको असफलतासँगै दीपकलाई नेपाल फर्कनै मन लागेन । नेपाल नगई कतै जान पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो । तर, उनको कर्म थलो पर्‍यो नेपाल । मनले नमान्दा नमान्दै उनी दिल्ली ट्रान्जिट हुँदै नेपाल फर्किए । दिल्लीमा रहँदा उनले एउटा अफवाह समाचार सुने । नेपाली मिडियामा दीपक कारबाहीमा परे । ‘मलाई नै थाहा थिएन, एसियन कराते फेडेरेसनले ममाथि दुई वर्षको प्रतिबन्ध लगाएको समाचार नेपाली मिडियामा आइसकेको थियो,’ भावुक हुँदै उनी भन्छन्, ‘टिम म्यानेजर लामाले नै नेपालका पत्रकारलाई झुटो समाचार दिएका रहेछन् ।’ वैदेशिक प्रशिक्षणका क्रममा टिम म्यानेजर लामाले गरेको आर्थिक चलखेलको दीपकले विरोध गरेका थिए । लामाले त्यसैको प्रतिशोधका रूपमा प्रोटेस्ट नराखेको र मिडियासमक्ष पनि अफवाहपूर्ण समाचार बाँडेको दीपकको ठम्याइ छ । ‘टिम म्यानेजरले विदेशको रिस पोख्नकै लागि यस्तो काम गरेको थाहा पाएँ,’ उनले भने, ‘उनले नेपाली पत्रकारलाई दीपकमाथि दुई वर्षको कारबाही परेको भनी झुटो विज्ञप्ति बाँडेका रहेछन् ।’दिल्ली ट्रान्जिटमा फैलिएको अफवाह र कोलम्बोको हार पीडा सहन नसकी दीपक त्रिभुवन विमानस्थलमा कसैसँग नबोली सीधै घरतर्फ लागे । 


रिङमै विद्रोह
जति गरे पनि नजित्ने पक्का भएपछि दीपकले खेल सकिनु १० सेकेन्डअघि विरोध जनाए । उनले प्रतिस्पर्धा नै नगरी रिङको बीचमा श्रीलंकाली खेलाडीलाई जिताउने खेल भएको भनी जुरीविरुद्ध नै उत्रिए । दीपकको यो हर्ककतले ठूलै हलचल मचियो । ‘मसँग त्योबाहेक अरू विकल्प नै रहेन,’ रिङभित्रै विरोध जनाउनुको कारण बताउँदै दीपकले भने, ‘मलाई थाहा थियो, यो कदम उचाल्दा मैले करिअर नै दाउमा राखेको थिएँ ।’ तत्कालै आफ्ना टिम मेनेजर आनन्दु लामा र प्रशिक्षकलाई प्रोटेस्ट राख्न आग्रह उनले गरे । खेल सकिनुअघि नै प्रोटेस्ट राख्दा छानबिन हुने प्रावधान छ । छानबिन चलिरहँदा अर्को खेल सञ्चालन गर्न नमिल्ने नियमबारे उनलाई राम्रो जानकार थियो । तर, दीपककै दुर्भाग्य भन्नुपर्छ । नेपाली कराते टोलीका टिम म्यानेजर र तथा प्रशिक्षकलाई प्रोटेस्ट कसरी राख्ने भन्ने सम्बन्धमा कुनै हेक्का थिएन । दुवै व्यक्ति प्रोटेस्ट कसरी राख्ने र कहाँ गएर राख्ने भन्ने प्रश्नमै रुमलिए ।