१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रकाश गुरागाईं/ वीरेन्द्र ओली
२०७५ पौष १४ शनिबार ०९:१६:००
Read Time : > 4 मिनेट
फिचर

जंगबहादुर राणाका १३३ वर्षदेखि सुकुम्बासी सन्तानको कथा

Read Time : > 4 मिनेट
प्रकाश गुरागाईं/ वीरेन्द्र ओली
२०७५ पौष १४ शनिबार ०९:१६:००

जगतजंगचोक, गणतान्त्रिक नेपालको राजधानी काठमाडौंस्थित कागेश्वरी–मनोहरा नगरपालिका–७ को एउटा चोक । पेप्सीकोलाबाट गोठाटार डाँडा नउक्ली सीधै अगाडि बढेपछि बिजुलीको पोलमा झुन्डिएको बोर्डले चोकको नाम सम्झाउँछ । तर, यो उस्तो चल्तीको चोक होइन । जगतजंग, जंगबहादुरका जेठा छोरा । राणाहरूको जहानियाँ शासन एक सय चार वर्ष चल्यो । त्यसको जग बसाउने जंगबहादुर राणाले २९ वर्ष शासन गरे । तर, उनै जंगबहादुर राणाका सन्तान १ सय ३३ वर्षदेखि भूमिहीन छन् । तत्कालीन राणा खलकबाटै लखेटिएका जंगबहादुरका सन्तानका नाममा न जग्गाको लालपुर्जा छ, न बनाएका घरको नक्सापास नै । 

गोठाटारमा ३२ घरपरिवार छन् । उनीहरू नाति जर्नेल युद्धप्रताप राणाका सन्तान हुन् । युद्धप्रतापका नातिहरू वृद्ध भइसकेका छन् । श्री ३ पदवी धारण गरेका र जनतालाई कडा शासनमा राखेका जंगबहादुरका छोरा जगतजंग र नाति युद्धप्रतापको मरण राम्रो रहेन । युद्धप्रतापका सन्तानले त लामो समय काठमाडौंबाट निर्वासित हुनुप-यो । २००७ सालमा प्रजातन्त्र आएपछि काठमाडौं फर्किएका उनीहरूले जंगबहादुरका कान्छा भाइ धीरशमशेरका खलकले लुटेको आफ्नो सम्पत्ति कहिल्यै फिर्ता पाएनन् ।

ठाकुरप्रताप जबरा र कोमलप्रताप जबरा 

जबरा र शमशेर खलकको विवाद
जगतजंगचोकैमा रहेको एकतले घरमा भेटिन्छन्, युद्धप्रतापका ९३ वर्षीय नाति, कोमलप्रताप जबरा । उनी जंगबहादुरका छैटौँ सन्तान हुन् । उनको घरको नक्सापास छैन । जग्गा भने जंगबहादुरका जेठा छोरा जगतजंगको नाममा रहेको बताउँछन् । उनीसँग जंगबहादुर राणाका सन्तान भएको गर्व छ । तर, जंगबहादुरसँगको भावनात्मक सम्बन्धबाहेक न शासकीय दम्भ छ, न सम्पत्ति नै । उनीहरूसँग ‘आइस्योस्’ र ‘गइस्योस्’ वाला दरबारिया लवज भने छ । उनीहरूसँग शमशेर खलकप्रति आक्रोश पनि छ, शमशेर खलकका इतिहासकारले आफ्नो इतिहास तोडमोड गरेको गुनासो छ ।

धीरशमशेरका सन्तान अझै पनि आफूहरूप्रति षड्यन्त्र गरिरहेको युद्धप्रतापका अर्का नाति कोमलप्रताप जबराले बताए । ‘हाम्रो तीन पुस्ताको हत्या गरेर शमशेर खलकले सत्ता हत्याए, उनीहरू हत्यारा हुन्, राणाहरूको इतिहासमा दाजुभाइ हत्या गरेर खुन पोतिएको छ,’ उनले भने । शमशेर खलक र जंगबहादुर खलकबीच अहिले पनि मिल्ती छैन । शमशेर खलकलाई नामपछाडि ‘जंगबहादुर राणा’ अर्थात् ‘जबरा’ लेख्ने अधिकार नभएको ठाकुरप्रतापले बताए । ब्रिटिसले जंगबहादुरका सन्तानको खोजी गरेपछि झुक्याउन शमशेरहरूले ‘जबरा’ लेखेको ठाकुरप्रतापको दाबी छ । 

 मनोहरा दरबारमा रक्तपात
बालनरसिंह कुँवरका सात भाइमध्ये जंगबहादुर राणा जेठा सन्तान । शाहवंशजस्तै गरी जंगबहादुर आफ्ना छोरामा उत्तराधिकारी सुम्पन चाहँदैनथे । उनले माइलो भाइ रणोद्दीप सिंहलाई प्रधानमन्त्री बनाए । शाह वंशजस्तै बाबुपछि जेठो छोरालाई शासनसत्ता सुम्पिनु राम्रो हुँदैन भन्नेमा स्पष्ट भएकाले नै जंगबहादुरले रणोद्दीप सिंहलाई प्रधानमन्त्री बनाएका थिए । 

तर, जंगबहादुरको देहावसानपछि जंगबहादुरका छोरा जगतजंग राणा र कान्छा भाइ धीरशमशेरका सन्तानबीच सत्ता सञ्चालनमा टसल भयो । यसले रक्तपातपूर्ण अवस्था सिर्जना भयो । जंगबहादुरका सात भाइको वंश नै सखाप पार्ने प्रयास भयो ।  धीरशमशेरसहित उनका १७ भाइ छोराले प्रधानमन्त्री राणोदीपसिंहको दरबारमै हत्या गरे । जंगबहादुरका जेठा छोरा जगतजंग मनोहरा दरबारमा मारिए । जगतजंगका छोरा युद्धप्रताप राणालाई सिंहदरबारअगाडि राजकुलोमा हत्या गरियो । बाँकी जंगबहादुरका छोरा कसैलाई पूर्व त कसैलाई पश्चिम धपाइयो । कतिपयलाई देशनिकाला नै गरियो । रणोद्दीप, जगतजंग, युद्धप्रतापलगायतको हत्यापछि वीरशमशेर प्रधानमन्त्री भए । अनि १९४२ सालदेखि २००७ सालसम्म शमशेर खलकले राज्य सञ्चालन गरे ।

सिन्धुलीको झाँगाझोली पु-याइएका जंगबहादुर राणाका सन्तानलाई बन्धकजस्तै बनाइयो । उनीहरू सो ठाउँ छाडेर जान पाउँदैनथे । पढ्न र जागिर खान प्रतिबन्ध थियो । पढाएको थाहा पाए शिक्षकलाई जेल हाल्नेदेखि ज्यान  मार्नेसम्म गर्थे ।

 यसरी बाँचे युद्धप्रतापका छोरा
जंगबहादुरका जेठा छोरा जगतजंगले राजा सुरेन्द्रविक्रमकी छोरीसँग बिहे गरेका थिए । सुरेन्द्रले जगतजंगलाई गोठाटारस्थित नौतले मनोहरा दरबार दिएका थिए । सो दरबार सात सय रोपनी क्षेत्रफलमा फैलिएको थियो । सुरेन्द्रले छोरा जन्मे जर्नेल उपाधि दिने र छोरी जन्मे आफैँले कन्यादान गर्ने घोषणा गरेका थिए । जगतजंगका जेठा छोरा युद्धप्रताप जन्मिएको खबर पाएपछि सुरेन्द्रले जर्नेल उपाधि दिन आदेश दिए । उनलाई नाति जर्नेल भनेर चिनिन्छ ।

युद्धप्रतापका सन्तान मनोहरा दरबारमै थिए । वीरशमशेरले जगतजंगका सन्तान छोरा भए हत्या गर्न र छोरी भए काठमाडौंबाट निकाला गर्न आदेश दिएका थिए । तर, मनोहरा दरबारका सुसारे वीरसिंह लामाले युद्धप्रतापका छोरालाई केटीको लुगामा भगाएका थिए । यसरी तीन छोरा, जेठा जगत्प्रताप, माइला चन्द्रप्रताप, साइँला लेखप्रतापलाई काठमाडौं कटाइयो । कान्छा छोरा भविन्द्रप्रताप भने भाग्दाभाग्दै साँगा पुगेपछि जन्मेका थिए । वीरसिंहले महिला र केटाकेटीलाई उनकै गाउँ सिन्धुलीको झाँगाझोली लगेका थिए । यसरी लखेटिएका युद्धप्रतापका छोराहरू काठमाडौं फर्कन पाएनन् । तर, नातिहरू भने अहिले गोठाटारमा छन् । उनीहरू जगतजंगको नाममा रहेको नौतले दरबार क्षेत्रमा बस्छन् । 

दरबार रहेको ठाउँमा भग्नावशेष पनि छैन । जग्गा अझै पनि जगतजंगकै नाममा रहेको युद्धप्रतापका नातिहरू बताउँछन् । सात सय रोपनीमध्ये केही जग्गा अतिक्रमणमा परेको छ । केही जग्गा दलालले बेचिसके पनि कसैले खोजी गरेको छैन ।

 सिन्धुलीमा बनाइए बन्धक 
सिन्धुलीको झाँगाझोली पु-याइएका जंगबहादुर राणाका सन्तानलाई बन्धकजस्तै बनाइयो । उनीहरू सो ठाउँ छाडेर जान पाउँदैनथे । पढ्न र जागिर खान प्रतिबन्ध थियो । पढाएको थाहा पाए शिक्षकलाई जेल हाल्नेदेखि ज्यान मार्नेसम्म हुनाले पढ्न नपाएको ठाकुरप्रताप जबरा बताउँछन् । झाँगाझोलीमा मीठो त परको कुरा, पेटभरि खानासमेत नदिई बन्धक बनाई रोखेको कोमलप्रताप बताउँछन् । 

काठमाडौं आउन प्रतिबन्ध थियो । बिरामी भएर उपचारका लागि आउनु परे अनुमति लिनुपथ्र्यो । ‘हाम्रा जिजुबाजेहरू काठमाडौं आउँदा पत्र चाहिन्थ्यो । विनाअनुमति प्रवेश निषेध थियो,’ ठाकुरप्रताप भन्छन् ‘कि बिरामी भएका वेला आउन पाइन्थ्यो, कि आफ्ना आमाहरूलाई विशेष समयमा भेट दिने भएकाले पाइन्थ्यो ।’ जगतजंगका तीन महारानीलाई मनोहराा दरबारमा बन्धक बनाएर राखेकाले समय–समयमा भेट गर्न आउँथे । तोकिएको दिनभन्दा एकदिन पनि ढिला बस्न नपाउने ठाकुरप्रताप बताउँछन् । ‘हाम्रो सन्तानलाई भक्तपुरबाट काठमाडौं फर्किएर हेर्नसमेत अधिकार थिएन । यसो फर्केर हे-यो भने प्रहरीले ए के हेर्छस् भन्थ्यो रे,’ उनले भने । आमप्रचलनमा भन्ने गरिन्छ, इतिहास जित्नेको लेखिन्छ । जित्नेले आफूअनुकूल इतिहास निर्माण गर्छ र त्यही नै सत्य भन्दै आमजनतालाई घोकाउँछ । यसरी नै शमशेर खलकले जंगबहादुरको झुठो इतिहास घोकाएको युद्धप्रतापका सन्तानको गुनासो छ । 

नेपाली जनता र ब्रिटिसलाई झुक्याई शमशेर खलकले आफूअनुकूलको झुटो इतिहास लेखाएर देशमा ब्रह्मलुट गरेको कोमलप्रताप बताउँछन् । ‘हामीलाई इतिहासमा कहीँ–कतै उल्लेख गरिएन, गुमनाम पारियो,’ उनी भन्छन् । आफूलाई सत्य साबित गर्न शमशेर खलकले पुस्तक लेख्नेदेखि प्रचारका अनेक संयन्त्र प्रयोग गरेको कोमलप्रतापको आरोप छ । 

 जग्गा पाउन ६८ वर्षदेखि मुद्दा लड्दै 
जगतजंगलाई राजा सुरेन्द्रविक्रमले मनोहरामा सात सय रोपनी जग्गा र नौतले दरबार दिएका थिए । त्यहाँको सातौँ तलाबाट सैनिकले टुँडिखेलमा परेड खेलेको सजिलै देखिन्थ्यो । त्यही दरबारमा जगतजंगका छोरा युद्धप्रताप र तीन भाइ नाति हुर्किए । तर, वि.सं. १९४२ को रक्तपातपछि दरबारबाट युद्धप्रतापका सन्तान लखेटिए । जगतजंगका तीन रानीलाई त्यहीँ बन्धक बनाइयो ।

वि.सं २००७ सालमा राणाशासन अन्त्य भएपछि आफ्नो थातथलो खोज्दै युद्धप्रतापका सन्तान मनोहरा आइपुगे । ‘हामी २००७ सालमा आउँदा दरबार भत्किसकेको थियो, तीन तला मात्र बाँकी थियो,’ कोमलप्रताप भन्छन्, ‘सात सय रोपनी जग्गा जगतजंगको नाममा थियो । भू–माफियाले फर्जी लालपुर्जा बनाएर धेरै बेचिसके ।’ आफ्नो जग्गा प्राप्त गर्न मुद्दा लड्दै आएको कोमलप्रतापले बताए । ६८ वर्षसम्म पनि जग्गा पाउन नसकेको उनको गुनासो छ । भग्नावशेष दरबारआसपास जगतजंगको सात सय रोपनी जग्गामा जंगबहादुरका सन्तान फैलिएर बसेका छन् । आफ्नो नाममा घर–घडेरी नभए पनि कसैले पक्की र कसैले कच्ची घर बनाएका छन् । तर, ती घर पनि नक्सापास नहुँदा उनीहरूको नाममा छैनन् । 

 ज्याला–मजदुरीमा जंगबहादुरका सन्तान
जंगबहादुरका सन्तानले १९४२ देखि २००७ सालसम्म ६५ वर्ष पढ्न पाएनन् । ६५ वर्षमा दुई पुस्ता बित्यो । प्रहरी र सेनामा शमशेर खलकको बाक्लो उपस्थिति भए पनि जंग खलक कतै देखिँदैन । जंगबहादुरका सन्तान कोही ज्याला–मजदुरीमा छन्, कोही खेतीकिसानीमा । कोही त खाडीतिर पुगेका छन् । पछिल्लो समय भने केही युवाले उच्च शिक्षा हासिल गरिरहेको उनीहरू बताउँछन् ।