Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन अर्याल/कृष्ण रिजाल
२०७५ पौष १४ शनिबार ०९:१७:००
Read Time : > 7 मिनेट
फिचर

उद्यममा चम्केका महिला

Read Time : > 7 मिनेट
नवीन अर्याल/कृष्ण रिजाल
२०७५ पौष १४ शनिबार ०९:१७:००

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणाजस्तै उद्यममा चम्केका महिला भने अरू पनि छन् । कसैले पाँचतारे होटेल चलाएका छन्, कोही विश्वका प्रिमियम ब्रान्ड हाँकिरहेका छन् । युवा महिलादेखि वृद्धासम्म उद्यममा चम्केका छन् । नवीन अर्यालकृष्ण रिजालको रिपोर्ट : 

 

स्थापित हुन आफ्नै पौरख
केही दशकअघिसम्म नेपाली सोच थियो– महिलाहरू व्यवसाय गर्न सक्दैनन्, घरधन्दामै ठीक छन् । तर, अहिले केही महिलाले समाजको त्यो सोच भत्काइदिएका छन् । चुलोचौकामा अल्झिएका आममहिलाका लागि एकाध महिलाको पौरख उदाहरण बन्यो । एकपछि अर्को गर्दै महिला सानो–ठूलो व्यवसायमा होमिए । कोही त देशमै नयाँ व्यवसायको ‘ट्रेन्ड सेटर’समेत बने । महिलासँग सम्बन्धित व्यवसायमा धेरै महिला उद्यमी रहे पनि निर्माणदेखि वित्तीय संस्थासम्म महिला नेतृत्व फैलिएको छ । ट्राभल एजेन्सीको सानो व्यवसायबाट काम थालेकी अम्बिका श्रेष्ठले द्वारिकाज होटेल स्थापित गरिन् । उनी नयाँ पुस्ताका महिलाका लागि पनि रोल मोडेल हुन् । शारदा रिजाल, श्वेता खड्का, छाया शर्मा, नीरा श्रेष्ठ, रीता भण्डारी, कमला श्रेष्ठ पनि आफ्नै पौरखले चम्केका उद्यमी हुन् । 

छोरी–बुहारीले सम्हाल्दै पारिवारिक बिरासत
ठूला व्यावसायिक घरानामा पनि बाबुछोरा व्यवसाय सम्हाल्थे । छोरी–बुहारी घरधन्दामै हुन्थे । तर, अब यहाँ पनि परिस्थिति बदलिएको छ । ठूला घरानाका अर्बौँ लगानीका कम्पनी पनि छोरी–बुहारीले हाँक्न थालेका छन् । छोरीलाई विदेश पढ्न पठाएर दक्ष बनाउने, अनि स्वदेशमै फर्काएर कम्पनी जिम्मा लगाउने व्यावसायिक घराना धेरै छन् । गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा र छोरी एकताले परिवारको बिरासत धानिरहेका छन् । चौधरी ग्रुपकी छोरी मेघा पनि बुबा वसन्तको उत्तराधिकारी भएर काम गरिरहेकी छिन् । भवानी राणा पारिवारिक व्यवसाय अँगाल्ने एक अग्रणी महिला हुन् ।

भवानी राणा, अध्यक्ष, 
नेपाल उद्योग वाणिज्य महासंघ

राणा परिवारमा बिहे गरेर भित्रिएपछि भवानी राणा औपचारिक रूपमा बिजनेसमा जोडिइन् । होटेल, कृषि, ट्राभल, व्यापारलगायतमा सक्रिय छिन् । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो अध्यक्ष महिलाको स्थान लिन सफल भइन् ।श्रीमान् असितको व्यवसायमा भवानीले साथ दिइरहेकी छिन् । कतिपय व्यवसाय आफ्नै पहलमा सुरु गरेकी छिन् । नेपालगन्जमा ६० कोठाको तीनतारे होटेल छ । उनी भन्छिन्, ‘हामी हेल्थ प्रोडक्ट उत्पादनमा पनि गइरहेका छौँ ।’ उनी ट्याक्टरको व्यापारमा संलग्न छिन् । यस्तै, बर्दियाको ठाकुरद्वारमा होटेल खोल्ने तयारी भइरहेको बताइन् । 

रितुसिंह वैद्य, प्रबन्ध निर्देशक, 
युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि 

रितुसिंह वैद्य, सन् १९९१ की मिस इन्डिया । नयाँदिल्लीमा जन्मिएकी रितु नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘वैद्यज अर्गनाइजेसन’को बिरासत थामेर बसिरहेकी छिन् । सन् १९९४ डिसेम्बरमा सुरज वैद्यकी श्रीमती बनेर भित्रिएकी रितु जापानिज टोयोटा ब्रान्डको प्रबर्द्धनमा खटिन्छिन् । नेपालमा प्रिमियम टोयोटा गाडी भित्रिएको ५० वर्ष पुगिसकेको छ । 

सुरज वैद्य लामो समय व्यवसायीको राजनीतिमा व्यस्त रहे । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क चेम्बर अफ कमर्सको नेतृत्वमा रहे । दर्जनौँ सामाजिक संस्थाको बोर्डमा छन् । अहिले उनलाई सरकारले भिजिट नेपाल २०२० को संयोजकको जिम्मेवारी सुम्पिएको छ । व्यवसायमा त्यति समय दिन भ्याउँदैनन् । परिवारको व्यवसाय सबै रितुले सम्हालिरहेकी छिन् । उनले सनवड ब्रान्डको निर्माण औजार (हेभी मेसिन)को बिक्री पनि सुरु गरेकी छिन् । दरबारमार्गमा ‘स्पा प्राना’ पनि चलाइरहेकी छिन् । यो व्यवसायमा छोरी सभानाले पनि सघाइरहेकी छिन् । 

सीमा गोल्छा
निर्देशक, हिम इलेक्ट्रोनिक्स

गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा गोल्छा बिजनेसमा सक्रिय छिन् । उनले हिम इलेक्ट्रोनिक्स हेर्छिन् । हिम इलेक्ट्रोनिक्सअन्तर्गत सामसुङ, हिमस्टार, बजाजको मिक्सर ग्राइन्डरलगायत ब्रान्डहरू छन् । उनको माइती पक्ष व्यवसायमा थिएन, जागिरमा थियो । विवाहअघि उनले भने भारतको एड एजेन्सीमा काम गरेकी थिइन् । शेखर गोल्छासँग विवाह गरेर व्यावसायिक घरानाको बुहारी बनेपछि जिम्मेवारीअनुसार व्यवसाय राम्रोसँग हाँकिरहेकी छिन् । परिवारको सहमति लिएरै इलेक्ट्रोनिक्स व्यापार थालेको उनी बताउँछिन् । सामसुङ प्लाजामा झन्डै ९५ प्रतिशत कर्मचारी पनि महिला नै छन् ।

सिर्जना राणा
कार्यकारी निर्देशक, होटेल अन्नपूर्ण

नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्णको कार्यकारी निर्देशक हुन् सिर्जना राणा । १० वर्षदेखि श्रीमान् कपिल राणालाई सघाउँदै होटेल व्यवस्थापनमा सक्रिय छिन् । श्रीमान्ले योजना बनाउने र आफूले कार्यान्वयन गर्ने उनले सुनाइन् । सिर्जनाले पोखराको फेवाताल किनारमा ‘फिस्टेल लज’ र चितवनमा ‘जगतपुर लज’समेत सञ्चालन गरिरहेकी छिन् । उनी होटेल संघ नेपाल (हान)को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

कमला श्रेष्ठ
अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ 

नेपालमा ब्युटिपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारीलाई पार्लर खोल्न दिइँदैनथ्यो । तर, पछिल्लो समय समाजले पार्लर व्यवसायलाई हेर्ने नजर फेरिएको छ । पार्लर व्यवसायमा लाग्ने छोरी–बुहारीको संख्या बढ्दै छ । यो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउने श्रेय जान्छ, कमला श्रेष्ठलाई । थाइल्यान्डमा दुई वर्ष तालिम लिएर ०३६ मा कुपन्डोलमा सयाम इन्स्टिच्युट खोलिन् । सुरुमा सैलुन मात्र थियो । उनले २६ वर्षदेखि ब्युटिपार्लर ट्रेनिङ दिँदै आइरहेकी छिन् । ब्युटिपार्लर व्यवसायको ट्रेन्डसेटर श्रेष्ठ भन्छिन्, ‘अहिले देशभर ३ लाख हाराहारी पार्लर व्यवसायी पुगिसकेका छन् ।’ उनी नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुन् ।

छाया शर्मा
कलेज सञ्चालक 

नेपाल कलेज अफ ट्राभल, टुरिजम एन्ड म्यानेजमेन्टकी संस्थापक छाया शर्मा शैक्षिक क्षेत्रमा आबद्ध छिन् । नेपालमा निजी क्षेत्रबाट पर्यटनसम्बन्धी पहिलो कलेज नै आफूले स्थापना गरेको उनी बताउँछिन् । सन् १९९५ मा एनसिसिटिएम सुरु गर्दा ५ जना मात्रै विद्यार्थी थिए, अहिले ५ सय पुगेका छन् । उनको अरू केही विद्यालय र कलेजमा पनि लगानी छ । आफ्नो लगानी रहेको कलेज र विद्यालयमा कुल दुई सयजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छाया बताउँछिन् । अहिले हस्तकला उत्पादनको व्यवसाय पनि सुरु गरेकी छिन् । 

ज्योत्सना श्रेष्ठ
मेरिगोल्ड ज्वेलर्स 

मेरिगोल्ड सयपत्री ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ रत्न, आभूषण तथा सुनचाँदी व्यवसायमा आवद्ध छिन् । उनी सञ्चालक रहेको गरगहना सोरूम काठमाडौंको न्युरोड र दरबारमार्गमा छन् । रत्न, आभूषण तथा गरगहना उनको पुख्र्यौली व्यवसाय हो । तर, उनी आबद्ध भएको करिब अढाई दशक भएको छ । ज्योत्सना पर्यटन व्यवसायमा पनि प्रवेश गर्दै छिन् । झापामा पाँचतारे होटेल सञ्चालन गर्दै छिन् । 

सलुजा आचार्य
सिइओ, एभिओन्ते प्रालि

करिब १९ वर्ष अमेरिका बसेर फर्किएकी सलुजा आचार्य आइटी कम्पनी एभिओन्तेको प्रमुख कार्यकारी अधिकृत छिन् । सन् २०१३ मा नेपाल फर्किनेबित्तिकै एभिओन्तेको व्यवस्थापनमा रहेर काम सुरु गरिन् । उनले कम्पनीमा ६० जनाभन्दा बढी आइटी इन्जिनियरलाई जागिर दिइरहेकी छिन् । उनको कम्पनीले ‘वल्र्ड क्लास’ सफ्टवेयर उत्पादन गर्छ । अमेरिकामा रहँदा उनी हेल्थ इन्स्योरेन्स कम्पनी ब्लुक्रस ब्लुसिल्डको अफिसरका रूपमा काम गर्थिन् । एप्लिकेसन डेभलपरका रूपमा कम्पनीमा छिरेकी उनले १५ वर्षजति काम गरिन्, विभिन्न ओहोदामा रहेर ।

प्रमिला आचार्य रिजाल
निर्माण र लघुवित्त

साउथ एसियन वुमन डेभलपमेन्ट फोरमकी संस्थापक अध्यक्ष प्रमिला आचार्य रिजाल अढाई दशकदेखि व्यवसायमा आबद्ध छिन् । २२ वर्षअघि बुटिक व्यवसाय सुरु गरेकी उनले निर्माण, वित्तलगायत विभिन्न व्यवसायमा हात हालिन् । सफलतासँगै उनी अहिले निर्माण कम्पनी ‘प्रतिष्ठा कन्स्ट्रक्सन’की अध्यक्ष छिन् । दक्षिण एसियाका महिलाले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन तथा प्रबर्द्धन गर्ने संस्था ‘सार्क चेम्बर क्राफ्ट भिलेज मार्केटिङ सेन्टर’की संस्थापक सदस्य तथा सञ्चालक पनि हुन् । उनको मनुषी माइक्रो क्रेडिट बैंक पनि छ ।

मेघा चौधरी
प्रबन्ध निर्देशक, नर्भिक हस्पिटल

उद्यमी वसन्त चौधरीकी एक मात्र छोरी हुन्, मेघा चौधरी । अहिले नर्भिक इन्टरनेसनल हस्पिटल मेघाकै काँधमा छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिइरहेको नर्भिकमा नेपालका हाइप्रोफाइल बिरामी पुग्छन् । नर्भिकलाई मुलुककै पहिलो नम्बरको हस्पिटल बनाइराख्न मेघा खटिइरहेकी छिन् । 

विदुषी राणा
निर्देशक, गोल्डस्टार जुत्ता 

नूरप्रताप राणाले स्थापित गरेको गोल्डस्टारको बिजनेसमा बुहारी विदुषी राणा सक्रिय छिन् । ६ वर्षजति कुमारी बैंकको मार्केटिङ म्यानेजर बनेकी उनले पछिल्लो दुई वर्षदेखि गोल्डस्टारको ब्रान्डिङ र मार्केटिङ हेर्दै आएकी छिन् । गोल्डस्टार नेपालको लोकप्रिय ब्रान्ड हो । नेपालमा उत्पादित गोल्डस्टार जुत्ता सबैभन्दा बढी निर्यात हुन्छ । भारतमा पनि गोल्डस्टार लोकप्रिय छ । छिटै भैरहवास्थित सेजबाट पनि गोल्डस्टारले उत्पादन सुरु गर्दै छ । गोल्डस्टारलाई उचाइमा पु¥याउने अमिर राणाको अभियानमा श्रीमती विदुषीले साथ दिइरहेकी छिन् । उनीहरूको युनिभर्सल ग्रुप अफ कम्पनीभित्र कुमारी बैंक, गोल्डस्टार, हात्तीछाप चप्पल, त्रिशूल ग्यास, युनिभर्सल फर्मास्युटिकल्स छन् ।

शोभा गुरुङ
गलैँचा उद्योग

शोभा गुरुङले अढाई दशकदेखि गलैँचा उद्योग सञ्चालन गर्दै आएकी छिन् । उनको हिमालयन डेकोर रक्स प्रालि उद्योगले गलैँचा उत्पादन तथा निर्यात गर्दै आएको छ । यो उद्योगमा करिब ३ सयले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्षसमेत रहेकी उनी गलैँचाबाहेक हस्तकला र प्राकृतिक धागोको व्यवसाय गर्ने तयारीमा समेत छिन् । 

सिर्जना ज्योति, चिफ ब्रान्डिङ 
अफिसर, स्याकार ट्रेडिङ प्रालि

ज्योति समूहकी बुहारी सिर्जना ज्योति पनि बिजनेसमै संलग्न छिन् । उनी चिफ ब्रान्डिङ अफिसर भएर काम गरिरहेकी छिन् । होन्डा कार र बाइकको बजार प्रवद्र्धनको जिम्मेवारी उनकै काँधमा छ । उनले विज्ञापन र प्रमोसनल योजना बनाउनुपर्छ । बिहानदेखि बेलुकासम्म उनी बिजनेसमै सक्रिय रहन्छिन् ।

श्वेता खड्का, उद्यमी
आममान्छे श्वेता खड्का भन्नेबित्तिकै अभिनेत्री सम्झन्छन् । उनले ‘कहाँ भेटिएला’, ‘कोहिनूर’जस्ता हिट फिल्म दिइन् । तर, उनको व्यावसायिक जीवनबारे धेरै कमलाई थाहा होला । कफीको अम्मली श्वेताले कफीसप नै चलाएकी छिन् । उनले हिमालयन जाभाको फ्रेन्चाइज लिएकी छिन् । उनको इन्जिनियरिङ कम्पनी पनि छ, जसले भवन निर्माण, इन्टेरियर, एक्स्टेरियर डिजाइनको काम गर्छ । उनी इन्द्रेणी हिमालय होटेलमा पनि पार्टनर छिन् । उनी फिल्मबाट हिट भइन् । तैपनि व्यवसाय पहिलो प्राथमिकता हो ।

शारदा रिजाल, हस्तकला उद्यमी
महिला उद्यमी महासंघको अध्यक्ष शारदा रिजाल करिब तीन दशकदेखि व्यवसायमा आबद्ध छिन् । ०४६ मा मिलन गार्मेन्ट सुरु गरेकी उनी हस्तकला र फेल्टमा फड्किइन् । अहिले उनले ‘लिमन नेपाल’ नामक निर्यात गर्ने कम्पनी र ‘युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज’ नामक उत्पादक कम्पनी सञ्चालन गरिरहेकी छिन् । ३० महिलालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् भने ५० जनाबाट आउटसोर्सिङ गर्छिन् । 

नीरा श्रेष्ठ
सञ्चालक, भिक्ट्री लङ एन्ड बार 

युवा उद्यमी नीरा श्रेष्ठ उमेरले २६ मात्रै लागिन् । तर, उनको व्यावसायिक सफलता कुनै पुरानो उद्यमीको भन्दा कम छैन । बुबा आसामका कोइला व्यापारी, नीरा पनि उतै जन्मे–हुर्केकी । स्कुले पढाइ सकाएर नेपाल छिरेकी उनले दरबारमार्गमा ‘भिक्ट्री लङ एन्ड बार’ र ‘ब्रान्डेड कस्मेटिक सप’ सञ्चालन गरिरहेकी छिन् । दरबार रेस्टुरेन्टमा पनि लगानी थियो, हात झिकिन् । क्लब डेजाभुमा पनि लगानी छ । भिक्ट्री सुरु गर्दा २२ वर्ष मात्रै भएकी थिइन् । अन्य साथीहरू समेटेर भिक्ट्री सञ्चालनमा ल्याइन् । अहिले क्लब व्यवसायमा नीरा परिचित नाम हो । ‘भर्खर व्यवसाय सुरु गर्दा त बिहान ६ बजेसम्म पनि क्लबमै हुन्थेँ,’ नीराले संघर्षको कथा सुनाइन् । अब लक्जरी रिसोर्ट खोल्ने तयारीमा छिन् ।

अञ्जना ताम्राकार
नेपाली कागज 

हाते कागज र सहकारी व्यवसायमा आबद्ध अञ्जना ताम्राकार लामो समयदेखि महिला उद्यमशीलता विकासमा सक्रिय छिन् । आफू मात्रै उद्यम गर्दिनन्, महिला उद्यमशीलता विकासका लागि तालिमसमेत प्रदान गर्छिन् । उनले इजरायल, क्यानडालगयात मुलुकबाट महिला उद्यमशीलता विकास प्रशिक्षण तालिम लिएकी छिन् । ०५४ तिर नेपाल कागज कारखाना खोलिकी हुन् । हाल उनी वुमन क्रिएसन र क्रिएटिभ वुमन क्राफ्टकी सञ्चालक पनि हुन् । 

रिता भण्डारी, नेपाली कागज
करिब ३० वर्षअघि नर्सरी उद्यम सुरु गरेकी रिता भण्डारी अहिले हाते कागज, मौलिक परिकार उत्पादन तथा बिक्री–वितरणलगायत व्यवसायमा आबद्ध छिन् । उनले सञ्चालन गरेको नेपाल पेपर क्राफ्टस् प्रालिले लोक्ताबाट कपडासमेत उत्पादन गर्छ । ४ वर्षअघि रिताले सुरु गरेको माही इन्टरप्राइजेजले अर्डरअनुसारका मौलिक परिकार तयार गरी बिक्री–वितरण गर्छ । उनले अहिले हुम्ला, जुम्ला, बाजुरालगायत दुर्गम क्षेत्रबाट लप्सी, कागतीलगायत विभिन्न प्रकारका फल ल्याएर अचार बनाई बिक्री–वितरण गरिरहेकी छिन् । 

आस्था र आरजु बस्नेत
बुद्ध एयर 

बुद्ध एयर प्रालिका उत्तराधिकारी हुन्, आरजु र अस्था बस्नेत । आरजुको सानैदेखि बुटिकमा सोख थियो, त्यसैले बुटिक पनि चलाइरहेकी छिन् । जावलाखेलस्थित बुद्ध एयरको मुख्यालयमा रहेको बुटिक राम्रोसँग चलिरहेको छ । सुरुमा आरजु र आस्था मिलेर बुटिक सुरु गरेका थिए । आस्था एयरलाइन्समै आकर्षित थिइन् । त्यसैले स्नातक सिध्याउनेबित्तिकै बुटिक दिदीलाई जिम्मा लगाएर जनवरी २०१७ देखि बुद्ध एयर छिरिन् । उनकै अगुवाइमा बुद्ध एयरले बनारसमा नियमित उडान सुरु गर्‍यो । बनारसको बजार अध्ययन र मार्केटिङमा उनी मजाले खटिइन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि तत्कालै अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा छ, बुद्ध एयर । यो जिम्मेवारी सम्हाल्दै छिन् आस्था । ‘बनारस अन्तर्राष्ट्रिय उडानको पहिलो खुड्किलो हो,’ उनी सुनाउँछिन् । 

एकता गोल्छा
गोल्छा अर्गनाइजेसन

गोल्छा अर्गनाइजेसनकी चेली एकता गोल्छाले बुबा राजकुमार गोल्छालाई बिजनेसमा सघाउन थालिसकेकी छिन् । राजकुमारको भागमा अरिहन्त मल्टिफाइबर र रघुपति जुट मिललगायत परेको छ । अक्सफोर्ड विश्वविद्यालय पढेर फर्किएकी एकता आइटी बिजनेस हेर्छिन् । व्यावसायिक घरानाकी चेली एकता परिवारको व्यवसायलाई निरन्तरता दिन नेपाल फर्किएकी हुन् ।

सुरुचि ज्योति
ज्योति समूह

रूप ज्योतिकी छोरी सुरुचि हिरो बाइक र फिलिप्स इलेक्ट्रोनिक्स हेर्छिन् । उनी हिरोको नेपाली विक्रेता कम्पनी नेपाल जेनेरल मार्केटिङ (एनजिएम)को उपाध्यक्ष हुन् । उनले हिरो र फिलिप्सको मार्केटिङ र सेल्स हेर्छिन् । सुरुचिले पारिवारिक व्यवसायलाई निरन्तरता दिइरहेकी छिन् ।

लतिका गोल्यान 
निर्देशक, गोल्यान ग्रुप

गोल्यान ग्रुपले कलंकीमा ‘हायात प्यालेस’ नामको भव्य पाँचतारे होटेल बनाउँदै छ । नेतृत्व गरिरहेकी छिन् लतिका गोल्यानले । ‘१५६ कोठा हुने १३ तले होटेलमा दुई अर्ब ८० करोड रुपैयाँ लगानी हुनेछ,’ लतिकाले भनिन् । होटेलको छेवैमा लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट पनि बन्दै छ । सहरका उच्च वर्गलाई लक्षित गरिएको अपार्टमेन्ट निर्माण र बजार प्रवद्र्धनमा पनि लतिका सक्रिय छिन् । उनको एयरपोर्टनजिकै अर्को लक्जरी होटेल खोल्ने योजना छ । 

अम्बिका श्रेष्ठ
सञ्चालक, 
द्वारिकाज होटेल

नेपालका लक्जरी बुटिक होटेलमा द्वारिकाज पहिलो नम्बरमा पर्छ । विदेशी पर्यटकको पहिलो रोजाइ द्वारिकाज होटेल नै हुन्छ । यो होटेलले काठमाडौंमै सबैभन्दा महँगो मूल्यमा कोठा बिक्री गर्छ । काभ्रेको धुलिखेलस्थित द्वारिकाजको रिसोर्ट पनि मुलुककै महँगोमा पर्छ । 

द्वारिकादास श्रेष्ठले इतिहास बोकेका पुराना कलात्मक झ्याल, ढोका र काठका टुक्रा प्रयोग गरेर बत्तिसपुतलीमा हेरिटेज बुटिक होटेल खोलेका थिए । उनको निधन भइसक्यो । श्रीमती अम्बिकाले होटेलको व्यवस्थापन सम्हाल्दै आएकी छिन्, कुशलतापूर्वक । अम्बिका सिक्किममा जन्मे–हुर्केकी । विवाहपछि सन् १९६९ मा द्वारिका र अम्बिकाले काठमाडौंमा ‘ट्राभल एन्ड टुर्स’ कम्पनी खोले । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को संस्थापक अध्यक्षसमेत हुन्, अम्बिका । सन् १९७६ मा व्यापार विस्तार गर्दै २६ कोठाको द्वारिकाज होटेल सञ्चालनमा ल्याए । अम्बिका उमेरले ८६ पुगिन् । अझै पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनले हाँकिरहेको द्वारिकाज बुटिक होटेलको प्रेरक बनिरहेको छ ।