१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १३:२६:००
Read Time : > 2 मिनेट
खेलकुद

एक विश्वकपमा कसको धेरै रन ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १३:२६:००

सचिन तेन्दुलकर
भारत, २००३, ६७३ रन
सन् २००३ मा दक्षिण अफ्रिकाले पहिलोपटक आयोजना गरेको विश्वकपमा भारतका सचिन तेन्दुलकरले विश्व रेकर्ड राखे । उनले एकै विश्वकपमा सर्वाधिक ६ सय ७३ रन जोडे, जुन अहिलेसम्म रेकर्डका रूपमा यथावत् छ । फाइनलमा अस्ट्रेलियासँग चुक्नुअघि सचिनले अन्य प्रतिद्वन्द्वीविरुद्ध सानदार प्रदर्शन गरे । प्रतियोगितामा उनले एक शतक तथा कीर्तिमानी रूपमा ६ अर्धशतक बनाएका थिए । उनको ब्याटिङ औसत ६१.१८ रह्यो । सचिनले नामिबियाविरुद्ध एक सय ५२, पाकिस्तानविरुद्ध ९८ तथा श्रीलंकाविरुद्ध ९७ रन बटुलेका थिए ।

म्याथ्यु हेडेन
अस्ट्रेलिया, २००७, ६५९ रन
अस्ट्रेलियाका बायाँहाते ब्याट्सम्यान म्याथ्यु हेडेनको ब्याट २००७ को विश्वकपको फाइनलसम्मै चल्यो । हेडेन थोरै रनले मात्र सचिनको नाममा रहेको रेकर्ड तोड्न असफल भए । तर, क्यारेबियन विश्वकपमा उनले आक्रामक रूपमा ब्याटिङ गरी ६ सय ५९ रन बनाए । यसक्रममा उनले तीन शतक पनि लगाए । आयोजक वेस्टइन्डिजविरुद्ध उनले एक सय ५८ रनको इनिङ खेले । अस्ट्रेलियाले तेस्रोपटक विश्वकप उपाधि उचाल्दा हेडेनको स्ट्राइक रेट १०१.६७ थियो ।

माहेला जयवर्दने
श्रीलंका, २००७, ५४८ रन
२००७ को विश्वकपमा श्रीलंकाली मध्यक्रमका ब्याट्सम्यान माहेला जयवर्दनेले दोस्रो सर्वाधिक रन बनाए । श्रीलंका फाइनलसम्म पुग्नुको पछाडि उनको महŒवपूर्ण योगदान थियो । क्यारेबियन भूमिमा भएको विश्वकपमा उनले एक शतक तथा चार अर्धशतकको मद्दतमा पाँच सय ४८ रन जोडेका थिए । उक्त विश्वकपमा उनको औसत ब्याटिङ ६०.६८ को रह्यो । उनले टोलीलाई फाइनलसम्म पु¥याए, तर फाइनलमा अस्ट्रेलियासँग श्रीलंका नराम्ररी पराजित भयो ।

मार्टिन गुप्टिल
न्युजिल्यान्ड, २०१५, ५४७ रन
२०१५ को विश्वकपमा दुई ब्याट्सम्यान निकै चम्केका थिए । पहिलोमा श्रीलंकाली सांगाकारा र दोस्रोमा आयोजक राष्ट्र न्युजिल्यान्डका मार्टिन गुप्टिल । सांगाकाराले भन्दा ६ रन बढी बनाएका गुप्टिल प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न सफल भए । गुप्टिलले समग्रमा नौ खेल खेल्दा पाँच सय ४७ रन जोडे । यसै विश्वकपमा उनले एकै खेलमा व्यक्तिगत धेरै रन बनाउने रेकर्ड राखे । उनले दोहोरो शतकका रूपमा दुई सय ३७ रन बनाए । दुई शतकीय तथा एक अर्धशतकीय इनिङ खेलेका गुप्टिलले टोलीलाई फाइनसम्म पु¥याए पनि विश्व च्याम्पियन बनाउन भने सकेनन् ।

कुमार सांगाकारा
श्रीलंका, २०१५, ५४१ रन
सन् २०१५ को विश्वकपको आयोजना न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा गरेका थिए । श्रीलंकाली बायाँहाते ब्याट्सम्यान कुमार सांगाकाराले ११औँ संस्करणको विश्वकप नै आफ्ना लागि अन्तिम हुने बताइसकेका थिए । विश्वकपको समाप्तिसँगै उनले सन्न्यास घोषणा पनि गरे । उनले एक सय २४ रनको औसतमा ब्याटिङ गर्दै पाँच सय ४१ रन जोडे । श्रीलंकाली टोलीबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका सांगाकाराले विश्वकपमा लगातार खेलमा चार शतकीय इनिङ खेल्ने रेकर्ड आफ्नो नाममा लेखाए । 

रिकी पोन्टिङ
अस्ट्रेलिया, २००७, ५३९ रन
रिकी पोन्टिङ कप्तानका साथै ब्याट्सम्यानका रूपमा सन् २००७ को विश्वकपमा सर्वाधिक सफल रहे । उनको कुशल नेतृत्वमा अस्ट्रेलियाले विश्वकपको उपाधि रक्षा गर्‍यो । साथै, अस्ट्रेलियाले लगातार तीनपटक विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्रका रूपमा समेत आफूलाई स्थापित गर्‍यो । सो विश्वकपमा पोन्टिङले एक शतक तथा चार अर्धशतकको मद्दतमा पाँच सय ३९ रन बनाएका थिए । उनले ६७ को औसतमा ब्याटिङ गरे ।

सचिन तेन्दुलकर
भारत, १९९६, ५२३ रन
विश्वकप इतिहासमा प्रतियोगिताभर कुल पाँच सय रन बनाउने ब्याट्सम्यानमा सचिन तेन्दुलकर पहिलो खेलाडी हुन् । १९९६ को विश्वकपमा सचिनले घरेलु भूमिको फाइदा उठाउँदै कुल पाँच सय २३ रन बनाएका थिए । त्यसवेला उनले ८५.८७ को औसतमा ब्याटिङ गरे । सो विश्वकपमा उनले श्रीलंकाविरुद्ध एक सय ३७ र केन्याविरुद्ध एक सय २७ रनको शतकीय इनिङ खेले । 

तिलकरत्ने दिल्सान
श्रीलंका, २०११, ५०० रन
विश्वकप इतिहासमा श्रीलंका तेस्रोपटक फाइनल पुग्दा तिलकरत्ने दिल्सानको योगदान महत्वपूर्ण रह्यो । सन् २०११ को संस्करणमा श्रीलंका भारतसँग फाइनलमा सात विकेटले पराजित हुनुअघि दिल्सानले उत्कृष्ट ब्याटिङ गरेका थिए । उक्त विश्वकपमा उनले ६२.५० को औसतमा पाँच सय रन जोडे । श्रीलंकाली टोलीबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका दिल्सानले दुई शतक प्रहार गरेका थिए । यसक्रममा उनको जिम्बावेविरुद्धको एक सय ४४ रन सर्वाधिक रह्यो ।

स्कट स्टाइरिस
न्युजिल्यान्ड, २००७, ४९९ रन
सन् २००७ को विश्वकपमा न्युजिल्यान्डका दायाँहाते ब्याट्सम्यान स्कट स्टाइरिस प्रतियोगिताभरि नै अद्भुत ब्याटिङ गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्‍याए । स्टाइरिसले प्रतियोगितामा ८३.१६ को औसतमा ब्याटिङ गरेका थिए । प्रतियोगितामा उनले नौ विकेट पनि लिए । 

ज्याक कालिस
दक्षिण अफ्रिका
२००७, ४८५ रन
सेमिफाइनलबाटै बाहिरिए पनि दक्षिण अफ्रिकाका लागि एक ब्याट्सम्यानले सानदार प्रदर्शन गरेका थिए । ज्याक कालिसले टोलीका लागि प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत रन बनाए । उनले चार सय ८५ रन जोडे । नकआउट चरणबाहेक लिग चरणमा कालिस एक्लैले टोलीलाई जित दिलाएका थिए ।