१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका 
२०७६ जेठ ९ बिहीबार ११:२९:००
Read Time : > 1 मिनेट
खेलकुद

बुढाले जिते रारा ट्रेल रनको उपाधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका 
२०७६ जेठ ९ बिहीबार ११:२९:००

२८ वर्षीय दुर्गबहादुर बुढाले रारामा पहिलोपटक आयोजना भएको कर्णाली प्रदेशस्तरीय प्रथम रारा ट्रेल रन प्रतियोगिताको उपाधि जितेका छन् । जुम्ला कनकासुन्दरी गाउँपालिका–३ लुमगाउँका बुढाले रारातालवरिपरिको १५ किलोमिटर दूरी ५५ मिनेट ५५.३८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले एक लाख रुपैयाँ पाए ।

अहिलेसम्म १२ उपाधि

दुर्गम जुम्लाको लुमगाउँमा जन्मिएका बुढाले १३ वर्षको कलिलो उमेरदेखि नै दौडलाई पहिलो प्राथमिकतामा राखे । उनी लगातार १५ वर्षदेखि दौडमै आफ्नो जीवन बिताइरहेका छन् । रारा ट्रेलसहित उनले घरमा १२ वटा दौडका उपाधि सजाएका छन् । म्याराथुन, अल्ट्रा म्याराथन र अन्य दौड प्रतियोगितामा सधैँ प्रथम स्थान आउँदा खुसी लाग्ने गरेको बुढाले बताए । ‘सधैँ पहिलो स्थानमा आउँदा मलाई अति नै खुसी लाग्छ,’ बुढाले भने, ‘दुर्गम स्थानमा जन्मेर पनि मैले दौडमा एक फरक पहिचान बनाउन सकेँ ।’ 

धावन नै करिअर

बुढाले आफ्नो पूरै जीवन धावककै रूपमा रहने बताएका छन् । कर्णाली प्रदेश र नेपाललाई विदेशमा चिनाउने उद्देश्यका साथ दौडमा लागेको उनको भनाइ छ । ‘कर्णाली र नेपाललाई विदेशी भूमिमा चिनाउनका लागि मैले दौड रोजेको हुँ,’ उनले भने । गत महिना नेपालगन्जमा सम्पन्न १३औँ राष्ट्रिय खेलमा ४२.१९५ किलोमिटर म्याराथनमा समेत उनी पहिलो भएका थिए । समय पाउँदा बुढा भारत र भुटानमा समेत दौडिन जान्छन् । ‘समय मिल्दा म भारत र भुटानमा समेत प्रतिस्पर्धामा सहभागी हुन जान्छु,’ विदेशी भूमिमा सहभागिता जनाएको उनले सुनाए । 

दौडका लागि जागिर छाडे

दौडनकै लागि बुढाले भारतीय सेनाको जागिरसमेत छोडे । ‘फोर्सभित्रको दबाबले दौड क्षेत्रमा समेत प्रभाव परेकाले भारतीय सेनाको जागिर नै छाडेँ,’ उनले भने, ‘जागिर छोडेको तीन वर्ष भयो, भाग लिएका कुनै दौडमा पनि दोस्रो हुनुपरेको छैन ।’ गिनिज बुकमा नाम लेखाएका जुम्लाका म्याराथन धावक हरिबहादुर रोकायकै कारण आफू यस स्थानमा पुगेको उनले बताए । ‘आज म यो स्थानमा पुग्नुका पछाडि रोकाय गुरुकै देन हो,’ उनी भन्छन् । दौडसम्बन्धी कुनै प्रशिक्षण नलिए पनि अनुभवकै भरमा उपाधि जितेको उनले बताए ।

एक सय ३० खेलाडी सहभागी
प्रतियोेगितामा आयोजक नेपाली सेना, नेपाल प्रहरी, एपिएफ तथा कर्णाली प्रदेशका गरी एक सय ३० खेलाडीको सहभागिता थियो । रारामा खेलकुद पर्यटनको विकास र कर्णालीको खेल क्षेत्रमा टेवा पुग्ने गरी म्याराथन आयोजना भएको सरोजप्रताप राणाले बताए । उनका अनुसार अर्को वर्षदेखि महिला खेलाडी र पर्यटकले समेत दौडमा भाग लिनेछन् ।