मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ७ मंगलबार ०९:२८:००
Read Time : < 1 मिनेट
समाचार

ऋषिदेव समुदायमाथि जातीय दुर्व्यवहार प्रकरण : प्रहरीको सहयोगपछि मुसहर समुदायले गाडे चापाकल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ७ मंगलबार ०९:२८:००

कथित उपल्लो जातिको थिचोमिचोमा परेका मोरङको बुढीगंगा गाउँपालिका–२ सख्मा टोलका ऋषिदेव (मुसहर) समुदायले आफैँले कल गाडेर पानी खान थालेका छन् । गाउँका एक दलित युवा र गैरदलित युवतीले भागी विवाह गरेको निहुँमा स्थानीय मगर समुदायले दलितमाथि ज्यादती गर्दै आएको थिए ।

प्रेमसम्बन्धमा रहेका २२ वर्षीय सनी ऋषिदेव र १८ वर्षीया थापा मगर थरकी युवती १८ चैतदेखि गाउँमा छैनन् । उनीहरूले भागी विवाह गरेको स्थानीय बताउँछन् । तर, केटीका अभिभावक र गाउँका मगर समुदायले भने विवाहको नाममा सनीले युवतीलाई भारतमा बेच्न लगेको दाबी गर्दै आएका छन् ।

युवायुवती भागेपछि केटीका आफन्तले केटाका आफन्तलाई गालीगलौज र आक्रमणसमेत गरेका छन् । केटी पक्षको त्रासले घर छाडेर हिँडेका केटाका बाबुआमा अझै गाउँ फर्केका छैनन् । केटाकेटी भागेको निहुँमा केटीका आफन्तले ऋषिदेव समुदायले पानी खाँदै गरेको सार्वजनिक कल भत्काइदिएका थिए ।

पानी खान ऋषिदेव समुदायले आफैँले गाडेको चापाकलसमेत उनीहरूले भाँचिदिएपछि घटनाको विषयमा स्थानीय प्रशासनले चासो देखाएको थियो ।कल भाँचेपछि सख्मा टोलमा रहेका पाँच घर मुसहर परिवारका २० जनाले तीन सातादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । दलित समुदायमाथि भएको ज्यादतीको समाचार सार्वजनिक भएपछि मोरङका एसपी मनोज केसी आफैँ घटनास्थल पुगेका छन् । 

 दोषीमाथि कारबाही हुन्छ : एसपी केसी
केटाकेटी भागेको र पानी खान नदिएको विषय अलग–अलग भएको एसपी केसीले बताए । ‘मुसहर समुदायले पानी खाँदै आएको कल भाँच्नेलाई कारबाही हुनेछ,’ एसपी केसीले भने । घटनाको विषयमा प्रहरीले चासो देखाएपछि मगर समुदाय पछि हटेको छ । ऋषिदेव समुदायले बिहीबार आफैँले कल गाडेर पानी खान थालेको पूर्वसांसद बाबुलाल पासवानले बताए ।