मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपेन्द्र अधिकारी
२०७६ जेठ ७ मंगलबार ०७:२८:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरीमाथि आगो झोस्नेलाई कारबाही नगरी उपचार खर्च भराउने सहमति

Read Time : < 1 मिनेट
दीपेन्द्र अधिकारी
२०७६ जेठ ७ मंगलबार ०७:२८:००

ड्युटीमा रहेका प्रहरी जवानको शरीरमा आगो झोस्ने व्यक्तिलाई कारबाही नगरी उपचार खर्च भराउने सहमति भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा त्यस्तो सहमति गरिएको हो । नारायणगढ–हेटौँडा सडकखण्डअन्तर्गत राजस्व संकलनका लागि गोन्द्राङमा राखिएको ढाटमा ३ जेठमा तोडफोड र आगजनी गरिएको थियो । आगजनी रोक्न खोज्दा प्रहरी जवान कल्पना खड्काको शरीरमा पनि आगो झोसिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनका हात र खुट्टा जलेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

त्यस घटनाका दोषी सोमबारसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, केपी लामिछानेलाई पक्राउ गरिएको छ । तर, उनीहरूमाथि मुद्दा लगाइएको छैन । ठेकदार पक्षले उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनाविरुद्ध किटानी जाहेरी दिएको छ । 

प्रहरी जवानकै शरीरमा आगो लगाउनेहरूलाई कुनै कारबाही गरिएको छैन । बरु, प्रमुख जिल्ला अधिकारी बस्नेतकै उपस्थितिमा भएको सर्वपक्षीय बैठकले प्रहरी जवान खड्काको उपचारमा लाग्ने खर्च दोषीबाट भराउने सहमति गरेको छ । नारायणगढ–हेटौँडा सडकखण्डअन्तर्गत राजस्व संकलनका लागि गोन्द्राङमा राखिएको ढाट अन्तै स्थानान्तरणका लागि सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनमा आइतबार बसेको सर्वपक्षीय बैठकले हाल गोन्द्राङमा रहेको ढाट सारेर चितवनकै लोथर क्षेत्रमा सार्ने भनी सर्वपक्षीय निर्णय भई सिफारिस भएको हो । साथै ३ जेठमा गोन्द्राङ ढाटमा भएको तोडफोड तथा आगजनीबाट घाइते भएकी प्रहरीको उपचार सम्बन्धित दोषीबाट भराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।