१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ जेठ ७ मंगलबार ०६:५१:००
Read Time : > 1 मिनेट
समाचार

सामाजिक सञ्जालमा उजुरी पर्नासाथ ट्राफिक प्रहरीको ‘एक्सन’

प्रत्येक दिन १० सवारीसाधन कारबाहीमा

Read Time : > 1 मिनेट
२०७६ जेठ ७ मंगलबार ०६:५१:००

घटना १

ट्राफिक प्रहरीको ट्विटर अकाउन्टमा ‘ह्यासट्याग’ गर्दै चक्रपथ रुट चल्ने यात्रुबाहक बसको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भयो । बसको ठीक पछि ह्विलचियरमा एक महिला देखिन्थिन् । तस्बिरसँगै लेखिएको थियो, ‘भर्खरै यो हरियो रङको सार्वजनिक बसचालकले ह्विलचियर देखेपछि बस अगाडि बढायो । जबकि बहिनीलाई बस चढाएर ह्विलचियर फिर्ता ल्याउनु थियो मैले ।

कुरा सुन्नु त के, दौडिहाल्यो । म पनि के कम त्यसलाई मेरो मोबाइलको क्यामराले राखेँ, नन्सेन्स ।’तस्बिरमा बसको नम्बर प्रस्ट देखिन्थ्यो । सोही नम्बरको सहयोगबाट ट्राफिक प्रहरीले बसको खोजी ग-यो । बस कलंकीमा समातियो । यात्रु चढाउन अस्वीकार गरेको अभियोगमा चालक तत्काल कारबाहीमा परे ।

घटना २

मिटरमा जान नमानेको भन्दै एक यात्रुले ट्याक्सीको तस्बिर ट्राफिक प्रहरीको ट्विटरमा ‘ह्यासट्याग’ गर्दै पोस्ट गरे । तस्बिरसँगै उनले लेखे, ‘मिटरमा जान नमान्ने ट्याक्सी कम्प्लेन गर्छु भनेपछि भाग्दै गरेको । स्थान : सिभिल अस्पताल, नयाँबानेश्वर ।’ ट्राफिक प्रहरीले तस्बिरमा देखिएको ट्याक्सीको तुरुन्त फलो ग-यो । केही घन्टापछि ट्याक्सीचालक पक्राउ परे । ट्राफिक प्रहरीले उनलाई पनि कारबाही ग-यो । 

घटना ३

नेपाल प्रहरीकै डिआइजी हरिभक्त प्रजापति चढ्ने बा.१ झ ६४०८ नम्बरको गाडी थापाथालीको नर्भिक अस्पतालस्थित ‘नो पार्किङ जोन’मा पार्क गरी राखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिर ट्राफिक प्रहरीको ट्विटर र फेसबुक दुवैमा ‘ह्यासट्याग’ भए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडीको खोजी ग-यो । केही घन्टाभित्रै गाडी नियन्त्रणमा प-यो । महाशाखाले गाडीचालक छत्रबहादुर थापालाई तुरुन्तै कारबाही गरेको जानकारी दियो । 

सामाजिक सञ्जालमार्फत आएका उजुरीमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको कारबाहीका केही उदाहरण हुन् यी । पछिल्ला दिनमा यस्ता कारबाहीका फेहरिस्त महाशाखासँग धेरै छन् । महाशाखाका अनुसार प्रत्येक दिन १० वटाभन्दा धेरै सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । यसका लागि महाशाखाले छुट्टै फेसबुक र ट्विटर अकाउन्ट खोलेको छ ।

सोही अकाउन्टमार्फत ट्राफिक प्रहरीले सर्वसाधारणको उजुरी लिँदै कारबाही प्रक्रिया अघि बढाउने गरेको छ । उजुरी दिन प्रहरी कार्यालयमा पुग्नुपर्ने झन्झट नहुने भएकाले सर्वसाधारणले यसलाई सहज महसुस गरेको महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए ।
‘पछिल्ला दिनमा समाजिक सञ्जाल निकै प्रभावकारी भएका छन् । सर्वसाधारणको गुनासो लिन यो विधिलाई प्रयोग गर्ने योजना बनेको हो । त्यसकै लागि फेसबुक र ट्विटर अकाउन्ट खोल्यौँ,’ उनले भने । 

सामाजिक सञ्जालमार्फत आएका उजुरी लिन छुट्टै युनिट

 महाशाखाका अनुसार सामाजिक सञ्जालमार्फत आएका उजुरी लिन महाशाखा सइको कमान्डमा छुट्टै युनिट गठन गरेको छ । युनिटले सञ्जालमार्फत भएका सबै उजुरी लिन्छ र वर्गीकरण गर्छ । जटिल प्रकृतिका उजुरी कार्यालय प्रमुखकहाँ जाहेरी गर्छ । सामान्य खालका उजुरीमा आफैँ कारबाही अघि बढाउँछ । ‘सामाजिक सञ्जालमा उजुरी लिन र कारबाही गर्न युनिट नै गठन भएको छ । जटिल खालका छन् भने मकहाँ ल्याउँछन् । तुरुन्तै कारबाही हुन्छ,’ महाशाखा प्रमुख एसएसपी पन्तले भने, ‘सामान्य खालका छन् भने उनीहरू आफँै कारबाही गर्छन् । यो निकै प्रभावकारी भएको छ ।’

छुट्टै एप्स पनि, तर फेसबुक र ट्विटरमा उजुरी बढी

महाशाखाले उजुरीका लागि एप्स पनि बनाएको छ । तर, पनि ट्विटर र फेसबुकमा नै उजुरी आउने गरेका छन् । महाशाखाको फेसबुकमा लाइक संख्या ५४ पुगेको छ । ट्विटरको फलोअर्स भने २१.९ के छ । एप्स डाउनलोड गर्ने संख्या ६० हजार पुगेको छ । महाशाखाको तथ्यांकनुसार फेसबुकबाट प्रत्येक महिना २४० र ट्विटरबाट १५० भन्दा धेरै उजुरी दर्ता हुने गरेका छन् । एप्सबाट भने महिनामा ९० वटा उजुरी पर्ने गरेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।