१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ ६ सोमबार २२:००:००
Read Time : > 2 मिनेट
१२औँ वार्षिकोत्सव विशेषांक

प्रश्न गर्ने पुस्ता

Read Time : > 2 मिनेट
२०७६ जेठ ६ सोमबार २२:००:००

उमेरमा दुईबिस उकालो चढ्दै गरेका विनोदविक्रम केसीको काव्ययात्राले दुई दशक लम्बाइ नाघिसक्यो । काठमाडौंको चाल्नाखेलमा जन्मे–हुर्केका केसी कवितामा यथार्थवादी कन्टेन्टमार्फत विसंगत विश्वव्यवस्थाको प्रतिरोध गर्छन्, अनि काँठ–समाजको आत्माभिमानी भाषिक शैलीमार्फत राज्यको अमानवीय चरित्रमाथि काँडेदार प्रहार गर्छन् । उनी गणतन्त्र स्थापनार्थ आन्दोलित साहित्य क्षेत्रको युवापुस्ताका प्रतिनिधि हुन् । अहिलेको समाज व्यवस्थालाई जीवनद्वेषी पर्यावरणका रूपमा अथ्र्याउने केसी यसलाई बदल्न व्यक्तिले मात्रै होइन, साहित्यमा सक्रिय युवापुस्ताले नै सिर्जनात्मक लडाइँ लड्नुपर्ने खाँचो औँल्याउँछन् । विनोदले नयाँ पत्रिकाका संगीत श्रोतासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :


एकछिनलाई हामीले सुनिआएका, सुन्दै भयानक नेपाली साहित्यका पदवीहरू सम्झौँ । ती पदवीधारीलाई सम्झौँ । ती कसका बाहुलीबाट दिइए, तिनलाई पनि सम्झौँ । अब राजु स्याङ्तान भन्ने दुःखी, गरिखाने र सीमान्तहरूको कवि जसको त्यस्तो ठूलो ‘स्टारडम’ छैन, त्यस्तो ठूलो ‘औकात’ छैन, ले आफ्नो कविता ‘गुमनाम ताराहरू’मा वितरण गरेका पदवीहरू सम्झौँः आदिकवि जुठबहादुर, महाकवि आइतेसिंह तामाङ, राष्ट्रकवि नथ्थुराम चमार, कविशिरोमणि वीरबहादुर लिम्बू आदि । यही हो मेरो पुस्ताको साहित्य र मेरो पुस्ताले साहित्यमा देखेको सपना । यही कवितांशमा गरिएको एउटा सवाल ‘कसको हो इतिहासको मूलसडकमा बाटो छेकी बसेको सालिक ?’ मेरो पुस्ताको सवाल हो । 


मेरो पुस्ता सवालग्रस्त छ, सवालमग्न छ, सवालप्रेमी छ । मेरो पुस्तासँग सवालैसवाल छन् । प्रचलित न्यारेटिभमाथि सवाल । इतिहासमाथि सवाल । देशले माथमा चढाएका अनगिन्ती महान् मान्छेमाथि सवाल । यता युग पाठक सवाल गर्छन्, उता उज्ज्वल प्रसाईं सवाल गर्छन् । कतै स्वप्निल स्मृति सवाल गर्छन्, कतै सरिता तिवारी सवाल गर्छिन् । एउटा सभामा गुरुङ सुशान्त सवाल गर्छन्, अर्काे सभामा सावित्री गौतम सवाल गर्छिन् । एक ठाउँ श्याम शाह सवाल गर्छन्, अर्काे ठाउँ अभय श्रेष्ठ सवाल गर्छन् । एक छेउ केशव सिलवाल सवाल गर्छन्, अर्काे छेउ राबत । एउटा कुइनेटोमा नवीन विभास सवाल गर्छन्, अर्काे गल्छेडोमा सरिता परियार सवाल गर्छिन् । अघिल्लो पुस्ताले जंगी निसानलाई हाम्रो भन्यो, मेरो पुस्ताचाहिँ ‘सवालिया निसान’लाई आफ्नो भन्छ । विद्वान् हरि शर्माले काँकडभिट्टा कला उत्सवमा ‘म हुनुको अर्थ मेरो प्रश्नमा छ’ भनेझैँ मेरो पुस्ता हुनुको अर्थ उसको सवालमा छ । सवालको नेतृत्व मेरो पुस्ताले लिएको छ । 


नेपाली समाजमा अन्तरविरोधैअन्तरविरोध छन् । फोब्र्सको धनाढ्य सूचीमा चढेका विनोद चौधरी छन् एकातिर, सामाजिक–राजनीतिक–आर्थिक संरचनाका कारण जिन्दगीको रसातलमा खसेको विनोदवा चौधरी थारू छन् अर्कातिर । अनि, चिन्तक आहुतिले औँल्याएझैँ पहाडिया हिन्दू उच्चजातीय पितृसत्तात्मक अहंकारवाद र उत्पीडित समुदायबीच अन्तरविरोध छ । गरिखाने र बसिखानेबीचको सर्वव्यापी अन्तरविरोध त छँदै छ । 
मेरो पुस्ताले यी अन्तरविरोधबीच केही प्रयत्न गरेको छ । चिम्सा आँखाको सौन्दर्यलाई साहित्यमा ल्याएको छ, कालो छालाको उज्ज्वलतालाई ‘सेलब्रेट’ गरेको छ, युगौँदेखि दलनमा परेका समुदायका पात्रहरूलाई वाचाल र विद्रोही बनाएर उभ्याएको छ । मेरो पुस्ताले जे गरेको छ, त्यसले आफ्नो समयलाई सम्बोधन गरेको छ । पर्याप्त छैन होला, त्यो अर्के कुरा हो । 


मेरो पुस्तालाई असफल हुने छुट छैन । आफ्ना सवालहरूको जवाफ नपाई, नखोजी भाग्ने छुट पनि छैन । न आत्ममुग्धतामा रमाउने छुट छ । किनभने, मेरो पुस्तालाई थाहा छ– ‘खास गतिलो साहित्य लेखिएको छैन ।’ त्यो खास गतिलो साहित्य भनेको के हो ? त्यो लेख्न बाँकी साहित्य हो । लेख्न बाँकी साहित्य भनेको के हो ? युगौँदेखि उत्पीडन बेहोरेकालाई काँधमा, शिरमा बोकेर हिँड्ने साहित्य हो ।


हामी पुँजीवादको जगजगी भएको जीवनद्वेषी पर्यावरणमा बाँचिरहेका छौँ । उपभोक्ता बन्दाबन्दै मान्छे बन्नै नपाउने जिन्दगी बाँचिरहेका छन्, मान्छेहरू । साहित्यमा सक्रिय मेरो पुस्ताले धेरैसँग लडाइँ गर्नुपर्छ । सत्तासँग, बजारवादसँग, दलाल पुँजीवादसँग, पश्चगामी चेतनासँग, खास–खासलाई खास–खास मान्ने राष्ट्रवाद आदि–आदिसँग । मेरो पुस्ता लडाकु पुस्ता हो । के छ त मेरो पुस्ताको हतियार ? आलोचनात्मक चेत, सवाल अनि प्रतिरोध । 
साहित्यकर्ममा प्रवृत्त मेरो पुस्ता यो देशलाई सुन्दर देख्दैन । चाँदीजस्तो हिमाल, हरियो पहाड, धान लहलहाएको मधेसजस्ता बिम्बहरूसँग मेरो पुस्तालाई लगाव छैन । लगाव छ त मान्छेसँग । मान्छेका दुःखसँग । अनि मान्छेको मुक्तिसँग । सबैखाले विभेद, सबैखाले असमानताबाट मुक्त मान्छेहरूको देश मेरो पुस्ताको सपनाको सुन्दर देश हो । 


मेरो पुस्ताको साहित्यको सपना के हो ? दुई प्रतिनिधि कविले यसको खाका प्रस्तुत गरेका छन् । कवि स्वप्निल स्मृति भन्छन्, ‘शासकहरूले पानीपुरी खाएनन्÷रगत नै खाए यो वर्ष पनि ।’ कुनै साल शासकहरूलाई पानीपुरी खुवाइछाड्ने मेरो पुस्ताको साहित्यको सपना हो । अनि, कवि केशव सिलवालको चिबेचराको उद्घोष छ– ‘मेरो पनि दाबी छ÷म यो देशको राष्ट्रिय चरा हुँ ।’ कुनै दिन यो काव्यिक दाबीले हाडमासु धारण गरेर भौतिक जुनी लिनेछ । यही हो मेरो पुस्ताले साहित्यमार्फत देखेको सपना । 


हेक्का रहोस्, मेरो पुस्ता भनेको खास उमेरसमूह होइन, खास बागी चरित्र हो । जस्तो कि, खगेन्द्र संग्रौला मेरो पुस्ताका हुन् ।