१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ पौष १३ शुक्रबार १६:४१:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

द्वन्द्वकालका बलात्कारपीडितको प्रश्न – 'कहाँ छ सरकार ? खै न्याय ?’

Read Time : > 5 मिनेट
रासस
२०७५ पौष १३ शुक्रबार १६:४१:००

‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको थियो ।’ दश वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिन् । 

'सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थें, न बस्न सक्थें,' उनले भक्कानिँदै सुनाइन् – 'कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरें तर, मुखबाट आवाज निस्केन ।' 
बाटोमा हिँडिरहेका बेला नेपाली सेनाका दुई जवान आएर च्याप्प पाखुरा समातेको उनलाई याद छ । स्वीटरको गोजीबाट रुमाल निकालेर आँशु पुछ्दै उनले भनिन् – 'बन्दूकको नाल छातीमा टाँसेर ‘कसैलाई भनिस् भने मारिदिन्छु’ भन्दै दुवैले पालैपालो बलात्कार गरे ।' 

बाँच्न त उनी बाँचेकी छिन् तर, बाबुआमाको ममतामा खेल्ने र पढ्ने उमेरमै उनको सपना चकनाचुर भयो । आफ्ना पीडा सुनाउँदा उनी धेरै पटक बोल्नै नसकेर भक्कानिन् । निकै बेरको मौनतापछि सम्हालिँदै उनले आक्रोशपूर्ण स्वरमा भनिन् – 'म अबोध बालिकाको के दोष थियो ? मैले के गल्ती गरेको थिएँ र मैले कलिलो उमेरमै अकल्पनीय यातना भोग्नुपर्यो ? कहाँ छ सरकार ? अहिलेसम्म उसले बलात्कार पीडितको पीडा महसुस गरेन ।' उनको बालक कालमै पाठेघर खसिसकेको छ । तर अहिलेसम्म घटनाका बारेमा कसैलाई भनेकी छैनन् । उनलाई घरपरिवार र समाजको डर छ । 

'समाजले त्यो बालिकामाथि यत्रो बज्रपात भयो भनेर माया, दयाको दृष्टिले हेर्दैन, सोच्दैन, उल्टै घृणा गरेर घरबाट निकाल्छ,' उनले भनिन् । यस्तै पीडा भोगेका धेरैलाई समाजले छिःछिः र दूरदूर गर्ने गरेको उनले देखेकी छन् । त्यसैले जति पीडा भए पनि उनी अहिलेसम्म आफ्नो पीडा कसैलाई सुनाउने साहस गरेकी छैनन् । उनको सरकारसँग ठूलो माग केही छैन । स्वास्थ्य उपचारका लागि खर्च दिए पुग्छ भन्छिन् । 

सशस्त्र द्वन्द्वको सययमा बलात्कारको पीडा भोग्ने उनी एक्ली होइनन् । यस्ता धेरै अबोध बालिकाले बलात्कारजस्तो जघन्य अपराध सहनुपर्यो । द्वन्द्वकालका बलात्कृत महिलाको पीडा अकल्पनीय छन् । अर्की किशोरीको पीडा पनि त्यतिकै दर्दनाक छ । धारामा नुहाइरहेको अवस्थामा नेपाली सेनाको गस्ती आइपुग्यो ।

हात समातेर जबर्जस्ती उनलाई लगे छाउनीमा । 'पेटिकोट लगाएर नुहाइरहेकी थिएँ, आर्मी आएर आँखामा पट्टी बाँधेर जबर्जस्ती हात तानेर लगे,' उनले भक्कानिँदै भनिन् – 'व्यारेकमा लगेर एउटा सानो कोठामा राखे । ६ जना आर्मी थिए, पालैपालो बलात्कार गरे । एउटा पेटिकोटमा ३३ दिनसम्म मलाई त्यहीँ थुनेर राखे । हरेक दिन आएर बलात्कार गर्थे । म बोल्न, उठ्न सक्ने थिइनँ ।' उनलाई खाना त्यहीँ ल्याएर जबर्जस्ती खुवाउँथे । कसैलाई भनिस् भने मारिदिन्छु भनेर उनीहरुले बन्दूकको नाल तर्स्याउँथे । उनलाई त्यही कोठामा दिसापिसाब गर्ने भाँडो राखिदिएको थियो । तँ माओवादी होस् भनेर बन्दूकको नालले घोच्थे ।'

तेत्तीस दिनपछि आफूलाई जङ्गलमा लगेर छाडिदिएका र त्यसपछि घर गएको उनले सुनाइन् । कसैलाई केही भनिनन् । आफन्तकामा गएर बसेको बहाना बनाए । आमाबुबा र अरु कसैलाई भनिस् भने मारिदिन्छु भनेका घरिघरि सम्झन्थिन् । घटना भएको ६ वर्षपछि उनको विवाह भयो । दुई छोरा जन्मिए । 'कता कताबाट गाउँलेलाई घटनाबारे थाहा भएछ,' उनले भनिन् – 'आर्मीले बलात्कार गरेकी भनेर घृणा गर्छन् । परिवार, समाजमा बस्न गाह्रो छ । मर्न पनि सकिँदैन ।' दुबै हातले आँशु पुछ्दै उनले भनिन् – 'म निर्दोष मान्छे । गल्ती के थियो र मेरो चरित्रमाथि प्रश्न उठाउन ?' उनलाई समाजमा आत्मसम्मानपूर्वक बस्न मन छ । सरकारसँग उनको यही माग छ । 

तेह्र वर्षको उमेरमा बलात्कारको पीडा भोग्न बाध्य अर्की बालिकाको पीडा पनि सुन्नै नसकिने छ । 

सबै परिवार सुतिरहेका बेला राति घरमा ढोका ढक्ढकाएको आवाज सुनियो । बाबुले ढोका खोल्नुभयो । 'चारजना मान्छेले ‘बुबाआमालाई बोलिस् भने मारिदिन्छु’ भनेर मलाई हात समातेर ‘क्रान्तिका लागि हिँड’ भन्दै जबर्जस्ती तानेर लगे,' उनले आफ्नो पीडा सुनाउँदै भनिन् – 'अँध्यारोमा आँखाले देख्न नसकिने, हिँड्नै नसकिने, जङ्गलको बीचमा एउटा ओडारजस्तो भेटियो । त्यही भात पकाएर खाए । मलाई पनि जबर्जस्ती खुवाए ।' 

उज्यालो भयो भने सेनाको गस्ती आउँछ भनेर उनीहरुले सबै सामान झोलामा राखेको उनलाई सम्झना छ । उनीहरुसँगै लैजालान् भन्ने उनलाई लागेको थियो तर, उनले कल्पना नगरेको घटना भयो । 'चारजनाले मलाई पालैपालो बलात्कार गरे, म बेहोश भएछु, मरे तुल्य बनाएर जङ्गलको बीचमा छाडेर गएछन्,' त्यो घटना सुनाइरहँदा उनको गला अवरुद्ध भयो र विस्तारै उनले भनिन् – 'होश आउँदा म रगतमा डुबेको थिएँ । शरीरमा कुनै कपडा थिएन ।'

जङ्गलको बाटो उनलाई थाहा भएन । हिँड्ने शक्ति पनि थिएन । उनले भनिन् – 'पीडाले म रातभर बेहोश भई लडिरहें । उज्यालो भएर घाम लागिसकेछ । गाउँका एक व्यक्तिले परबाट मलाई देखेर अस्पताल लगेछन् ।' 

घरमा उनलाई बाबुआमाले खोजिरहेका थिए । अस्पतालमा सामान्य उपचार भएपछि उनी आफैँ विस्तारै घर गइन् । बाबुआमालाई पनि घटना सुनाइनन् । 'शरीर पूरै दुःखेको थियो, ज्वरो आयो भनेर म केही दिन सुतें तर, अहिलेसम्म पनि त्यो घटना कसैलाई पनि भनेको छैन, मैले न्याय पाउने आशामा पहिलो पटक मुख खोलेकी हुँ,' उनलाई त्यो घटना सम्झँदा अहिले पनि आङ सिरिङ् हुन्छ । उनले पीडा सहेरै एसएलसीसम्म पढिन् । घटना भएको सात वर्षपछि घरमा बिहेको कुरा आयो र बिहे भयो । उनको एउटा छोरो छ । 

'त्यो घटना भएपछि मेरो पाठेघर खसेको थियो तर, मैले त्यो कुरा कसैलाई भनेको छैन, पाठेघर भनेको थाहा नपाउँदै खस्यो, तै पनि म सहेर चुपचाप बसें, अहिलेसम्म बसेको छु,' उनले भनिन् । घटना थाहा पाएमा परिवार तहसनहन हुने पीर छ उनलाई । 

त्यो घटनापछि उनलाई धेरै मान्छे भएको ठाउँमा बस्न मन लाग्दैन । रुन मात्र मन लाग्छ । अरु हाँसीखुशी हिँडेको देख्दा पनि उनलाई आफ्नो जीवन देखेर धिक्कार्न मन लाग्छ । कुर्ताको सलले आँशु पुछ्दै उनले पीडा पोखिन् – 'कति आँशु बग्यो, त्यो आँशु कस्ले देख्यो ? आँशुको मूल्य कति हो ? यतिका वर्षसम्म सरकार कहाँ छ ?' 

उनलाई छोरो पढाउने र स्वास्थ्य उपचार गर्ने व्यवस्था सरकारले मिलाइदिए हुन्थ्यो भन्ने आशा छ । 

द्वन्द्वका बेलामा खासगरी नेपालको पश्चिम भेगमा बालिका बलात्कारका दर्दनाक घटनाहरु भए । अर्की एक बालिकाले पनि द्वन्द्वमा यस्तै अमानवीय पीडा सहनुप-यो । कालीकोट नेपाली सेनाको गस्ती गाउँमा गयो । ती किशोरी, दुई शिक्षक र विद्यालयका अरु दुई दाइलाई अपरहण गरेर लग्यो । त्यो बेला उनी ११ वर्षकी थिइन् । 

उनकै अगाडि चारजनालाई सेनाले गोली हानेर मार्यो । उनको शरीर डरले कामिरहेको थियो । आफ्नो पीडा सुनाउँदै उनले भनिन् – 'शिक्षक र दुई दाइलाई गोली हानेको देखेर डरले मेरो होश हराइसकेको थियो, आठ जनाले पालैपालो बलात्कार गरे । म बेहोश भएँ ।' निकै बेर उनी निःशब्द भइन् । गला अवरुद्ध भयो । उनले विस्तारै आवाज निकालेर भनिन् – 'बलात्कारपछि मलाई मर्न खोजेका रै’छन् । मेरी ठूली आमाले ‘यो बच्चीलाई किन मार्छस्, मलाई मार’ भनेको सुन्दा मेरो होश खुल्यो ।' 

घटनापछि उनी ठूली आमासँग घर फर्किन् । तर, उनले भोगेको त्यो अमानवीय यातना त्यतिमै सीमित भएन । उनले भनिन् – 'नेपाली सेनाको गस्ती फेरि गाउँमा आयो । मलाई परिवारकै अगाडि बलात्कार गरियो । बाबुआमालाई बोलिस् भने गोली हादिन्छु भनेका थिए, डरले केही बोलेनन् ।' 

घटनाका चारवर्षपछि उनको बिहे भयो । एक वर्षसम्म श्रीमान्सँगै बसिन् । तर त्यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन । उनी निकैबेर भक्कानो छोडेर रोइन् । पीडा भन्ने र सुन्ने दुवैलाई सहनै नसक्ने थियो । निकैबेर पछि साहस बटुल्दै उनले भनिन् – 'श्रीमानलाई आर्मीले बलात्कार गरेको भन्ने कुरा कसैले भनिदिएछ, त्यसपछि उनमा अमानवीय व्यवहार मात्र हैन, छिःछिः र दूरदूर गरेर घरबाट निकाले ।' उनी त्यो बेला दुई महिनाकी गर्भवती थिइन् । श्रीमानबाट छुट्टिए । उनलाई त्यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्यो । उनी जिल्लै छाडेर सुर्खेत गइन् । 

बाल्यकालमै सुनौला भविष्यका सपना चकनाचुर भयो । अहिले काम गरेर जीवन निर्वाह गर्न उनलाई कष्टकर भएको छ । 'पाठेघर खसेको छ, भारी बोक्न मिल्दैन, अरुको भाँडा माझेर छोरो पाले, पढाउन सकिनँ,' उनले भनिन् । उनले छोरोको जन्म दर्ता गर्न सकेकी छैन । 

द्वन्द्वपीडित साझा चौतारीले गत मङ्सिर र यही पुसमा सिराहा, कैलाली र पोखरामा मानवअधिकार उल्लङ्घनका घटनामाथि आयोजित द्वन्द्वपीडितहरुको ‘सत्यको बयान’ कार्यक्रममा बलात्कृत महिलाहरुले यसरी आ–आफ्ना कथाव्यथा पोखेका हुन् । गोप्य रुपमा उनीहरुलाई आफ्नो भोगाइ अभिव्यक्त गर्ने व्यवस्था आयोजकले मिलाएको थियो । 

कलिलै उमेरमा द्वन्द्वमा बलात्कारको पीडा भोगेका महिलाकोे पीडा दर्दनाक छ । त्यो पीडा पोख्ने ठाउँ उनीहरुले पाएका थिएनन् । राहत र सहयोगका नाममा एक रुपैयाँ पाएका छैनन् । विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बित्यो तर, उनीहरुको पीडामा मल्हम लगाउने काम भएन । 

सत्य निरुपण तथा मेलमिलाप आयोगका अनुसार यस्ता पीडामा ३०८ जना महिला परेका छन् । 'आयोगमा दर्ता भएका द्वन्द्वमा बलात्कृत महिलाको सङ्ख्या ३०८ छन्, उनीहरुले अहिलेसम्म केही राहत पाएका छैनन्,' आयोगका सदस्य मञ्चला झाले भन्नुभयो – 'आयोगले परिपूरणका लागि सिफारिश गर्छ । उनीहरुको परिपूरण तथा राहतको व्यवस्था सरकारले मिलाउँछ ।' 

बलात्कारपीडित महिलालाई समाजमा घृणाका दृष्टिले हेर्ने गरेको अधिकाँश बलात्कृत महिलाको गुनासो छ । उनीहरु सम्मानपूर्वक बाँच्न चाहन्छन् । निर्दोष बालिकामाथि बलात्कार हुनु उनीहरुको दोष होइन । यो समस्यालाई सरकारले मानवीय ढङ्गले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भने – 'बलात्कारपीडित महिलाका समस्यालाई सरकारले सम्बोधन गर्छ । कुन प्रक्रियाबाट उनीहरुको मागको सम्बोधन हुन्छ भनेर सरकारले आन्तरिक गृहकार्य गरिरहेको छ ।' मन्त्री ढकालका अनुसार बलात्कारपीडितको मागप्रति सरकार गम्भीर छ । 

सरकारले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगको कार्यकाल पनि आगामी माघ २६ मा सकिँदैछ । आयोगमा उजूरी दिएका बलात्कारपीडित महिलाको स्वास्थ्य उपचार तथा जीविकोपार्जनमा राज्यबाट यथासम्भव सहयोग हुनुपर्छ भन्दा अतिशयोक्ति हुँदैन ।