मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २५ मंगलबार ०४:१०:००
Read Time : > 3 मिनेट
सेयर बजार

सकारात्मक दिशामा नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २५ मंगलबार ०४:१०:००

साताको दोस्रो दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन नेप्से १ दशमलव १० प्रतिशत बढेको छ । आइतबारदेखि बजार सकारात्मक दिशामा अगाडि बढेको देखिन्छ । अघिल्लो कारोबार दिन पनि नेप्से करिब १ प्रतिशत बढेर बन्द भएको थियो ।

बजार बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन करिब दोब्बर रकम बराबरको सेयर खरिदबिक्री भएको छ । नेप्सेले आइतबारदेखि पूर्ण अनलाइन प्रणाली सुरु गरेको थियो । सो प्रणाली आएपछि लगानीकर्ताहरूको मनोबल बढेको देखिन्छ । यसका साथै बैंकहरूले घोषणा गरेको लाभांशले पनि अहिलेको बजार प्रभावित भइरहेको एक ब्रोकरले बताए । नेप्सेसँगै कारोबार रकममा आएको सुधारले लगानीकर्ताहरूको मनोबल बढाएको छ । लगानीकर्ताहरूले आगामी दिनमा बजारले सकारात्मक दिशा लिने अपेक्षा गरेका छन् । लगानीयोग्य पुँजी र बैंक तथा वित्तीय संस्थाहरूको उच्च ब्याजदरले घटाएको बजार अहिले प्रविधिको विकाससँगै बढ्न थालेको एक लगानीकर्ताले बताए । बैंकहरूले ब्याजदर घटाए बजारले अझ गति लिने उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन १२ दशमलव ४९ अंक बढेर १ हजार १ सय ४४ दशमलव १९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ८० अंक बढेर २ सय ४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ५ सय ६६ पटकको कारोबारमा ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाँबराबरको १२ लाख ६४ हजार ३ सय ४० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३८ दशमलव ८९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र कारोबार संख्याका आधारमा यस दिन नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ सय ७ पटकको कारोबारमा ५ करोड ४८ लाख ७ हजार २ सय १ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । बैंकले ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् ।

सेयर संख्याका आधारमा भने यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ लाख १९ हजार २ सय १७ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव ७७ प्रतिशत बढेको छ ।

त्यसैगरी, नयाँ नेपाल लघुवित्त विकास बैंक र समित माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य भने यस दिन ६ दशमलव ६ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये यस दिन १ सय १५ कम्पनीको सेयरमूल्य बढेको छ भने २८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएको उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक १ दशमलव ९७ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त र निर्जीवन बिमा समूहको १ दशमलव ४४ प्रतिशत, होटेल समूहको १ दशमलव ३७ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव ३४ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य ४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७५ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव ४४ प्रतिशत बढेको छ ।

अनशनरत लगानीकर्ताले ३ माग थपे
नेप्से निरन्तर ओरालो लागे पनि नियामक निकायहरू मौन रहेको भन्दै केही लगानीकर्ताहरू नेप्सेको कार्यालयअगाडि आइतबारदेखि रिले अनशन बसेका छन् । सेयर बजारको विस्तार र सुधारका लागि विभिन्न माग राखी नियामक निकायहरूलाई दबाब दिन अनशन बसेका लगानीकर्ताहरूले सोमबार तीन मागहरू थप गरेका छन् ।

लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जलाई तत्काल पुनसंरचना गरिनुपर्ने र सो क्रममा नेपाल सरकार र राष्ट्र बैंकको हिस्सालाई एकैचोटि विनिबेश गर्ने, ५१ प्रतिशत सेयर विदेशी रणनीतिक साझेदारलाई, कम्तीमा २० प्रतिशत सर्वसाधारण, नेप्सेका कर्मचारीलाई र सबै सेयर दलाललाई बिक्री गरिनुपर्ने माग थपेका छन् । यसका साथै, बिमा समितिमार्फत भएको बिमा कम्पनीको लाइसेन्स घोटालाको छानबिन गरी खराब र पुँजी पुर्‍याउन नसक्ने कम्पनीहरूलाई तत्काल राम्रा कम्पनीमा समाहित गरी बिमा क्षेत्रमा कुनै पनि सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पर्नबाट बचाइनुपर्ने र सरकारले बढाएको ५० प्रतिशत पुँजीगत लाभकर फिर्ता गरेर हकप्रद तथा बोनसमा लाग्ने करसम्बन्धी व्यवस्थालाई तत्काल स्पष्ट गरियोस् भन्ने मागहरू अघि सारेका छन् । १० बुँदे मागसहित अनशन सुरु गरेका लगानीकर्ताहरूको माग अहिले १३ बुँदे भएको छ । सेयर लगानीकर्ता दबाब समूहको सो अनशनमा केही लगानीकर्ता संघ र विभिन्न ठाउँमा रहेका लगानीकर्ताहरूले ऐक्यबद्धता जनाएका छन् ।

 मूल्य समायोजन
सोमबार नेप्सेले दुई कम्पनीहरूको मूल्य समायोजन गरेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको ४२ दशमलव ७५ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य नेप्सेले १ हजार १ दशमलव शून्य ५ रुपैयाँ तोकेको छ । समायोजनको लागि कम्पनीको औसत आधार मूल्य ८ सय ७९ दशमलव ३२ तोकिएको थियो । त्यसैगरी, तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य नेप्सेले १ सय ५७ दशमलव १४ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य २ सय ३द्ध दशमलव ५७ तोकिएको थियो ।

 अपिको बोनस सेयर
अपि पावर कम्पनी लिमिटेडले गत आवको खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर (करबाहेक) वितरण गर्ने भएको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 नेपाल पुनर्बिमाको विशेष साधारणसभा
नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले पुस १३ गते होटेल हिमालय, कुपण्डोल, ललितपुरमा विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 हिमालयन डिस्टिलरीको बुक क्लोज
हिमालय डिस्टिलरी लिमिटेडले पुस ४ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको साधारणसभा पुस २५ गते कम्पनीको रजिस्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा हुने भएको छ । सभामा २१ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

#नेप्से