मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट
२०७६ जेठ ६ सोमबार ०७:५३:००
Read Time : < 1 मिनेट
समाचार

तामाकोसीवासीलाई निःशुल्क एम्बुलेन्स र ३० हजार उपचार खर्च

Read Time : < 1 मिनेट
दीपक भट्ट
२०७६ जेठ ६ सोमबार ०७:५३:००

लिखु तामाकोसी गाउँपालिकाले स्वास्थ्य सेवामा सुधार गर्न अभियान नै सञ्चालन गरेको छ । स्थानीय बासिन्दाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ भने रोगको प्रकृति हेरी पाँचदेखि ३० हजारसम्म उपचार खर्च दिन थालेको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्स र ३० हजारसम्म उपचार खर्च दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए । ‘निर्वाचनमा मत माग्दै गर्दा उज्यालो लिखु, नागरिकको स्वास्थ्य र गुणस्तरीय शिक्षासँगै खानेपानीलाई प्राथमिकतामा राखेको थिएँ । त्यही वाचाअनुसार, अहिले बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा र रोगको प्रकृति हेरी पाँचदेखि ३० हजारसम्म औषधि उपचार खर्च दिने व्यवस्था गरेको हुँ,’ अध्यक्ष खड्काले भने । 

गाउँपालिकाले दुईवटा एम्बुलेन्स किनेको छ । दुवै एम्बुलेन्स निःशुल्क सेवामा लगाएको छ । बिरामीलाई लिखु तामाकोसीबाट उपचारका लागि मन्थली तथा काठमाडौंसम्म पु-याउने व्यवस्था गरिएको छ । त्यस्तै, आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचार खर्च दिन थालिएको हो । पैसा नभएर कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नहोऊन् भनेर उपचार खर्च दिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 


विशेषगरी, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्सले राहत मिलेको छ । दुवै एम्बुलेन्स बिरामीलाई बोकिरहेका वेला गाउँपालिका अध्यक्षकै गाडीमा अन्यलाई उपचारका लागि लग्ने गरिएको छ । ‘कहिलेकाहीँ म आफ्नै गाडी लिएर बिरामीको घरमा पुग्छु,’ उनले भने । अध्यक्षकै गाडीमा राखेर एक वर्षयता १८ जना गर्भवती महिलालाई अस्पताल पु-याइएको छ । गाउँमै अस्पताल स्थापनाका लागि तयारी भइरहेको छ । कम्तीमा १५ शय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको अध्यक्ष खड्काले बताए ।