
बागमती प्रदेशमा सात वर्षपछि पहिलोपटक कांग्रेसले नेतृत्व गर्ने अवसरमा पाउँदै छ । २९ माघ ०७४ मा पहिलोपटक तत्कालीन नेकपाका डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए । त्यसयता बागमतीले तीनजना मुख्यमन्त्री पाए पनि कांग्रेसले त्यो अवसर पाएको थिएन । यसपटक भने कांग्रेस र एमालेबीच बनेको नयाँ सत्तासमीकरणले बागमतीमा कांग्रेसले नेतृत्व गर्ने अवसर पाउँदै छ । तर, कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने विषय चासोका रूपमा हेरिएको छ ।
कांग्रेसबाट मुख्यमन्त्रीका रूपमा प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम चर्चामा छ । कांग्रेस संसदीय दलको विधानमा दलकै नेताले सरकारको नेतृत्व गर्ने व्यवस्था छ। प्रदेश सभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा ‘पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा संसदीय दलको नेताको हैसियतमा सरकारमा नेतृत्व प्रदान गर्ने’ भन्ने उल्लेख छ । कांग्रेसले सरकार बनाउने अवस्था र संसदीय दलको विधान कार्यान्वयन गर्दा लामा मुख्यमन्त्रीका निर्विकल्प पात्र हुन् ।
तर, बागमतीमा कांग्रेसभित्र देखिएको पछिल्लो परिस्थिति र नेतृत्व परिवर्तन गर्नुपर्ने आवाजले दलका नेता लामालाई निर्विवाद मुख्यमन्त्री बन्न सहज नभएको पार्टीवृत्तमा चर्चा चल्ने गरेको छ । प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका बानियाँलाई आगामी मुख्यन्त्रीका रूपमा हेरिएको थियो । मुख्यमन्त्रीको दाबी गर्दै दुवै नेताले बुढानीलकण्ठमा भेटघाटलाई तीव्रता दिएका छन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका हुन् ।
एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको छ । यसका लागि ६ गते प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्रीका लागि दलका नेता लामा र प्रदेश सभापति बानियाँले केन्द्रमा दबाब बढाइरहेका छन् । कांग्रेसका एक प्रदेश सभा सदस्यले दुवै नेताको मुख्यमन्त्रीमा दाबी रहेको जानकारी दिँदै त्यसका लागि पार्टी सभापति देउवालाई भेट्नेदेखि आफूनिकट केन्द्रीय नेतामार्फत सभापतिलाई प्रदेशको अवस्थाबारे जानकारी गराउने गरेको बताए । नेता लामाको भूमिका र सरकारमा रहँदा देखिएको कमजोरीबारे केन्द्रीय तहमा ब्रिफिङ भएको उनको भनाइ छ । पछिल्लोपटक प्रदेश सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको भन्दै दलको नेता परिवर्तनको चर्चासमेत चलेको ती सांसदको भनाइ छ ।
लामा पक्षधर एक सांसदले पार्टी विधानअनुसार लामाको विकल्प नभएको बताए । उनले कांग्रेस विधानविपरीत नजाने दाबी पनि गरे । बानियाँ पक्षका एक सांसदले लामाबाट नेतृत्वदायी भूमिका नदेखिएका कारण उनको विकल्पमा बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने जिकिर गरे । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री बन्नबाट नरोक्ने भएकाले बानियाँलाई मुख्यमन्त्री बनाउन उपयुक्त हुने उनको तर्क छ । मधेश प्रदेशमा जनमत पार्टीका प्रदेश सभा सदस्य सतिशकुमार सिंह मुख्ममन्त्री बनेको उदाहरण दिँदै सोही आधारमा बानियाँलाई मुख्यमन्त्री बनाउन सकिने दाबी गरे ।
कांग्रेस सांसद छिरिङदोर्जे लामाले सरकारको नेतृत्वका लागि दुवै नेताहरूको सम्भावना रहेको बताए । संसदीय दलको नेताको हैसियतमा बाहादुर लामा मुख्य दाबेदार भए पनि कांग्रेसको विधानमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्नुपर्ने भन्ने किटान नभएको हुँदा मुख्यमन्त्रीमा बानियाँको पनि उत्तिकै सम्भावना रहेको उनको भनाइ छ । यद्यपि, मुख्यमन्त्री को बन्ने भन्ने कुरा केन्द्रीय नेतृत्वमा भर पर्ने उनले बताए । ‘मुख्यमन्त्रीमा दुवै नेताहरूको उत्तिकै सम्भावना छ । संयुक्त सरकार बन्ने भएकाले बहुमत सदस्यले समर्थन गर्ने प्रदेश सदस्य मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था भएकाले जो पनि मुख्यमन्त्री बन्न सक्छ । यद्यपि, कसलाई मुख्यमन्त्री बनाउने भन्ने कुरा भने केन्द्रीय नेतृत्वमा भर पर्छ,’ उनले भने ।
मुख्यमन्त्रीमा दुवैको आ–आफ्नै दाबी
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाले बागमतीको मुख्यमन्त्रीमा आफ्नो विकल्प नरहेको दाबी गरे । उनले आफू संसदीय दलको नेता भएकाले अरू कोही मुख्यमन्त्री बन्छ कि भन्ने चर्चाको आवश्यकता नै नभएको बताए । उनले कांग्रेस पार्टी विधि र विधानअनुसार चल्ने भएकाले आफू नै मुख्यमन्त्रीको निर्विकल्प उम्मेदवार भएको बताए । ‘कांग्रेस विधि र विधानअनुसार चल्ने पार्टी हो । म आफैँ दलको नेताको हैसियतले विधानतः मुख्यमन्त्री मै बन्छु । यसमा दुईमत छैन । पार्टीबाट अरूको नाम चर्चामा ल्याइनु निरर्थक हो,’ उनले भने ।
कांग्रेस प्रदेश सभापतिसमेत रहेका बानियाँले भने पार्टीले चाहेको अवस्थामा आफू मुख्यमन्त्री बन्न सक्ने बताए । उनले प्रदेश सभाको अघिल्लो कार्यकालमा राजेन्द्र पाण्डे मुख्यमन्त्री भएको समयमा आलोपालो सरकार बनाउन सहमति भए पनि पार्टीको केन्द्रीय निर्देशनअनुसार आफूले मुख्यमन्त्री बन्ने अवसर त्यागेको स्मरण गराए ।‘स्वाभाविक रूपमा नेतृत्वको अवसर पाउँदा मुख्यमन्त्रीमा मेरो पनि दाबी हुन्छ । विगतमा मैले पाएको अवसर राजनीतिक सहमतिका लागि पार्टीको निर्णयअनुसार छाडेको पनि छु । त्यसकारण अहिले पार्टीले मेरो विगतको भूमिकालाई हेरेर नेतृत्वको अवसर प्रदान गर्छ भन्ने लाग्छ,’ उनले भने ।
४ मंसिर ०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट कांग्रेस बागमतीमा ठूलो दलको हैसियतमा उपस्थित छ । ११० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन् । सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा कांग्रेस र एमालेको नयाँ गठबन्धनसँग ६४ सांसद छन् । बागमतीमा सरकार गठनका लागि कांग्रेस र एमालेलाई अरूको भर पर्नुपर्दैन ।