मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा
संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा भएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान संशोधन गर्न माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत महासंघले उठाएका जायज मागप्रति सरकार गम्भीर नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । सो विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान विरुद्ध देशव्यापी प्रदर्शन गर्नेलगायतका विरोध कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले आइतबार जारी गरेको विज्ञप्तीअनुसार ६ देखि २५ जेठसम्म चरणवद्ध आन्दोलन हुने जनाइएको छ । संसदमा प्रतिनिधित्वगर्ने पार्टीको ध्यानाकर्षण गराउने, सांसदसँग भेटघाट, र बानेश्वरदेखि बबरमहल सम्म र प्रदेश राजधानीमा मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्नेलगायतका विरोध कार्यक्रम महासंघले गर्ने भएको हो ।
सो विधेयक संसदमा पेश हुने दिन आकस्मिक रुपमा देशव्यापी विरोध प्रदर्शन गर्ने पनि विज्ञप्तीमा जनाइएको छ ।