‘म त छुइ भएँ नि !’

महिनावारी ब्लुज

२०७६ जेठ ४ शनिबार ११:०७:००

‘अन्त, आज नारी दिवस हो । मेरो भिडियो आउनेवाला छ । बनाउन पनि डल्लै एक हप्ता लाग्यो हो’ गएको मार्च ८ मा बिहान मेरा कानमा परेका पहिला वाक्य हुन् यी । पारिजात उत्साहित देखिन्थिन् । सिक्किम क्रोनिकलमा उनले काम गर्न थालेको करिब एक वर्ष भइसकेको थियो । त्यस अवधिमा थुप्रै स्टोरी गरिन् ।

मल्टिमिडिया पोर्टल भएकाले लेखिनन् मात्रै, भिडियो स्टोरी पनि गरिन् । तीमध्ये अधिकांशमा महिलाका विषय उठान गरिएका रहेछन् । ‘अन्त, तपाई“ आजै फर्किनु हुने ? भिडियो आइन्जेल नकुर्नु हुने ?’ सोही दिन म नेपाल फर्कने योजना सुनाउँदा उनी प्रश्न बर्साउन थालिन् । प्रस्ताव अनुचित थिएन । प्रत्येक घन्टा सिलिगुडीका लागि गाडी पाइन्थ्यो । एउटा भिडियो हेरी एकछिन घुमेर फर्कन त्यति ढिलो पनि हुँदैनथ्यो । 

गान्तोकको एमजी मार्गवरपर भेटिएका केही मान्छेले महिनावारीलाई कसरी बुझेका छन् र त्यसलाई कत्तिको सहज रूपमा लिन्छन् भनी जान्न उनी हातमा माइक लिई प्रश्न गर्दैै हिँडेको प्रतिक्रियात्मक भिडियो केहीबेरमै सिक्किम क्रोनिकलको फेसबुक पेजले अपलोड ग-यो । उत्साह उनको अनुहारमा स्पष्ट देखिन्थ्यो । 

उनले प्रश्न सोधेका केही मानिसले महिनावारीलाई गलत बुझेका थिए भने केही लजाउँदै प्रतिक्रिया दिइरहेका थिए । समूहमा रहेकालाई प्रश्न गर्दा एक–अर्काका मुख ताकी हाँस्ने पनि थिए । केहीलाई त यसबारे रत्तिभर पनि जानकारी थिएन । थोरै मात्र व्यक्तिलाई राम्रो जानकारी भएको र यसबारे बोल्न कुनै संकोच नरहेको भिडियोमा स्पष्ट देखिन्थ्यो ।

 भिडियो सकिएपछि उनी महिनावारीका वेला सिक्किममा अपनाइने चलनबारे बताउँदै गइन् । महिला छुट्टै कोठामा बस्नुपर्ने, घरका पुरुषलाई छुन नपाइने, भान्सा तथा पूजाकोठामा जान नपाइनेजस्ता नियम अझै पनि व्याप्त रहेको जानकारी गराउँदै गइन् । 

ध्यान दिएर उनका कुरा सुनिरहँदा बीचमै प्रश्न गरिन्, ‘तपाईँलाई त अचम्म लाग्यो होला है ?’अहँ । अलिकति पनि अचम्म लागेन । मैले भोग्नुपरेन, त्यो फरक कुरा हो । नत्र चलन त हाम्रामा पनि त्यस्तै हो ।बरु मैले सुनाएका केही कथा सुनेर उनलाई भने अचम्म लाग्यो । आफ्नो समाजलाई रुढीवादी सोच्ने उनी पश्चिम नेपालमा व्याप्त छाउपडी प्रथाबारे सुनेर चकित भइन् । 

कक्षा पाँच, एकदिन स्कुल जाँदै गर्दा घरनजिकैकी साथीकी आमाले बोलाएर हातमा केही कापी थमाइदिँदै भन्नुभयो, ‘नानु बिरामी छे । कक्षामा पढाएका कुरा यिनमा टिपोट गरिदेऊ न है ।’ ‘के भएको आन्टी ? म भेट्न आउँ ?’ मेरो जिज्ञासामा उहाँ आत्तिनुभयो । ‘पर्दैन पर्दैन । दुई हप्तापछि आइहाल्छे नि,’ हडबडाएको आवाजमा उत्तर आयो । ठ्याक्कै दुई हप्तामा ठीक हुने त्यो रोग के हो भन्ने तथ्यबाट म अनभिज्ञ थिएँ । महिनावारी भएको हुन सक्छ भन्ने अनुमान थिएन । सा“च्चिकै बिरामी भएकी होला भन्ने सोचेँ ।

वार्षिक परीक्षा आउन एक महिना मात्र बाँकी थियो । आफ्ना कापीमुनि कार्बन पेपर राखेर त्यसको तल साथीको कापी राखी कक्षाकार्य गर्ने चोरतरिका अपनाइरहेँ । प्रत्येक दिन घर फर्कंदै गर्दा कापी फिर्ता दिन्थेँ । बिहान फेरि लिन्थेँ । यसरी नै दुई हप्ता बिते । ठ्याक्कै दुई हप्ता ।

दुई हप्तापछि साथी स्कुल आउँदा पहिलेको जस्तो चुलबुलेपन निकै कम भइसकेको थियो । अनावश्यक कुरामा लजाउने, सानो आवाजमा बोल्नेजस्ता उसका फेरिएका बानीको कारण हामीले भने ठम्याउन सकिरहेका थिएनौँ । ‘म त छुइ भएँ नि’ खाजा खाने वेलामा गोलो घेरा बनाई बसेका साथीमाझ उसले लजाउँदै सानो स्वरमा भनी ।

पहिले कहिल्यै नसुनेका यी शब्दको अर्थ ऊ आफैँले बुझाई । महिनावारीलाई ‘छुइ हुनु’ पनि भनिँदो रहेछ भनी त्यही वेला थाहा पाएँ । घरमा वेलाबखत कुरा हुँदा ‘पिरियड्स’ भन्ने चलन थियो । प्याडका विज्ञापन आउँदा प्रसंगवश कुरा हुन्थे । कहिलेकाहीँ आमाले छोरीको पनि महिनावारी हुने उमेर पुग्न लाग्यो भनी यस विषयमा अवगत गराउन आवश्यकताबोध गर्नुहुन्थ्यो । 

साथीको पहिलो महिनावारीको अनुभव अचम्मको थियो । घरको सबैभन्दा माथि रहेको भँडारकोठामा उज्यालो नछिर्ने गरी ढाकिएछ । दुई हप्तासम्म त्यही अँध्यारो कोठामा बसेकी ऊ उज्यालो देख्नासाथ हर्षित भएको अनुभव साटिरहेकी थिई । ‘बाबा र दाइको अनुहार पनि हेर्नु हुँदैन रहेछ’ ऊ सुनाउँदै गई । अझ, खाना खाने छुट्टै थाल कचौरा पनि हुने रहेछन् ।

वार्षिक परीक्षा सकिएर अर्को शैक्षिक सत्र सुरु भयो । शनिबार र आइतबार हुने बिदाका लागि गृहकार्यको भारी थियो । आफू बसेको चकटीमा दाग लागेको अत्तोपत्तो थिएन । एकछिनमा उठेर हेर्दा चकटीमा ठूलो टाटो बसिसकेको थियो । रगत हो भन्नेतिर ध्यान नै गएन । फोहोर चकटीमा बस्न मन नलागेर चकटी फेरेँ । केहीबेरमा त्यो चकटीको अवस्था पनि त्यस्तै भयो । के भएको– त्यसपछि बल्ल भान भयो ।

ठ्याक्कै दुई हप्तामा ठीक हुने त्यो रोग के हो भन्ने तथ्यबाट म अनभिज्ञ थिएँ । महिनावारी भएको हुन सक्छ भन्ने अनुमान थिएन । साँच्चै बिरामी भएकी होला भन्ने सोचेँ ।

‘आमा, म छुइ भएँ’ बाथरुम गएर कट्टुमा हेर्दा, अझ त्यतिले पनि नपुगी कट्टु भुइँमा राखी पानी खन्याएर रातो रङ बगेको देख्दा, त्यो रगत नै हो भन्ने निष्कर्षमा पुगेपछि हस्याङफस्याङ गर्दै आमालाई गई सुनाएँ । आमाले बुझ्नुभयो , तर मैले बोलेको वाक्य उहाँका लागि पाच्य थिएन । बाको अनुहार नहेरी बस्न त सकिन्थ्यो । भेटै बेलुका मात्र हुन्थ्यो । तर, अँध्यारो कोठामा गई बस्नुपर्छ भन्ने सोचले मलाई आतंकित बनाइसकेको थियो । 

‘बुझ्दै  जा समाज कस्तो छ भनेर । तैँलेचाहिँ त्यस्तो केही गर्नुपर्दैन । बिदा सकिएपछि स्कुल पनि गए हुन्छ’ साथीको कथा सुनाएपछि आमाले प्रतिक्रिया दिनुभयो । त्यस्तो वेला कसरी स्वस्थ रहने भनी सिकाउनुभयो । दुई हप्ता अँध्यारो कोठामा बस्नु पर्दैन भनिदिँदाको त्यो खुसीको सीमा नै थिएन ।

बार्ने बाध्यता मलाई आइपरेन । सामान्य दिनझैँ खाएँ, बसेँ, खेलेँ र सोमबार आएपछि स्कुल पनि गएँ । स्कुलमा भएको सानो मेडिकल शाखामा धेरै प्रकारका औषधि पाइन्थे । पेट र टाउको दुखेका वेला खाने औषधिदेखि लिएर घाउचोट लाग्दा लगाउने मलमसम्म उपलब्ध थिए । तर, प्याड थिएनन् । 

कहिलेकाहीँ दिन नपुग्दै महिनावारी भइदिन्थ्यो । प्याड बोकिएको हुन्थेन । अहिलेजस्तो मेन्स्ट्रुअल कपबारे ज्ञान थिएन । आपत् पर्दा सबैभन्दा पहिले गुहारिने स्कुल नै महिलामैत्री थिएन । केही दिनअघि मात्र प्याड भेन्डिङ मसिनबारे समाचार देख्दा आफू स्कुल पढ्दा अनुभव गर्न नसकिएको खुसी अनुभव गरियो । त्यस्ता मेसिन अन्य स्कुलमा पनि राखिऊन् । 

नीलो पानी सेता प्याडमा खन्याएर रगत सोस्ने मामिलामा प्याड कत्तिको राम्रो छ भनी देखाउने विज्ञापन टिभीमा खुब आउँथे । अहिले पनि आउँछन् । ‘स्वच्छ’ रङ भएकाले यसको प्रयोग भएको हुन सक्ने केही ब्लगले लेखेका छन् । उक्त स्वच्छ रङझैँ महिलाका शरीरबाट निस्कने रगत पनि स्वच्छ रहने तर्क केही ब्लगमा पस्किइएका छन् । 

‘प्याडमा रातै पानी खन्याएर डेमो दिनचाहिँ केको आपत्ति हो यिनलाई ?’ हजुरआमासँग बसी टिभी हेर्दा प्याडमा प्रत्येक विज्ञापनमा यही प्रश्न दोहोरिन्थ्यो । नीलो रङ प्रयोग गर्नुको कारण जतिसुकै ब्लगले जेसुकै लेखे पनि उहाँलाई स्विकार्य थिएन । ‘कन्डमका विज्ञापनमा कामुक दृश्य देखाउँदा कसैको टाउको नदुख्ने अनि प्याडका विज्ञापनमा चाहि“ रातोलाई रातो नै देखाउन नसक्ने ?’ उहाँ आक्रोश व्यक्त गर्नुहुन्थ्यो ।

आक्रोश जायज थियो । तर, केही नजान्ने नातिनीका अगाडि रिस पोखेर के नै हुन्थ्यो र ? केहीमा भने रगतको रङ घिनलाग्दो हुने र दर्शकलाई त्यसले विरक्त तुल्याउन सक्ने तर्क अघि सारिएका छन् । ‘विज्ञापन हेर्ने दर्शक महिला मात्र होइनन् नि त । उनीहरूलाई दिगमिग लाग्न सक्छ ।’ यस विषयमा छलफल हुँदा एक पुरुष मित्रले आफ्रना विचार राखेका थिए । 

कहिलेकाहीँ दिन नपुग्दै महिनावारी भइदिन्थ्यो । प्याड बोकिएको हुन्थेन । अहिलेजस्तो मेन्स्ट्रुअल कपबारे ज्ञान थिएन । आपत् पर्दा सबैभन्दा पहिले गुहारिने स्कुल नै महिलामैत्री थिएन । 

महिलाको शरीरबाट नीलो पानी बग्छ भनी देखाउन खोज्दाचाहिँ दिगमिग लाग्दैन ?त्यस्तै, केही पुरुष साथीलाई प्याडका विज्ञापनमा हाँसीखुसी उफ्रीउफ्री प्रस्तुत हुने महिला देख्ने बानी परेका कारण वास्तविक जीवनमा ठीक उल्टो हुन सक्ने अनुमान हुँदैन । यस समयमा महिलालाई तनाव र पीडा हुन्छ भन्ने वास्तविकताबाट पुरुषलाई पर राख्न यस्ता विज्ञापनको ठूलो भूमिका छ ।

कक्षाका सबै छात्राको महिनावारी पाँच वा ६ मा पढ्दै भइसकेको थियो । तर, हामीलाई यसबारे पढाइयो कक्षा आठमा मात्र । पुरुष शिक्षक अकमकाउँदै स्वास्थ्य तथा जनसंख्याको कक्षामा ‘मेन्स्ट्रुएसन’ भन्दै पढाउँथे । समस्या पुरुष शिक्षक हुनुमा होइन, यस्ता पाठ पढाउनु पर्दा उनी कति लजाए भन्नेमा हो । अहिले हामी यस विषयमा जति खुलेर कुरा गर्छौँ, एक दशकअघिसम्म त्यस्तो अवस्था थिएन । लजाउँथ्यौँ ।

मज्जाले लजाउँथ्यौँ । त्यस्ता परिस्थिति सहज बनाइदिने वातावरण सिर्जना गर्न हाम्रा शिक्षक पनि अक्षम थिए । किताबमा दिइएका विवरण पनि पूर्ण थिएनन् । अन्तरिक्षमा मानव कसरी पठाउने, सानै भए पनि सफ्टवेयर कसरी निर्माण गर्ने, रोबोट बनाउँदा के–कस्ता पुर्जा प्रयोगमा आउँछन् भनी सानै कक्षामा सिकाउने हाम्रा पाठ्यक्रम हाम्रो आफ्नै शरीरमा हुने प्रक्रियाबारे ज्ञान दिने मामिलामा भने किन यति सुस्त ? 

शिक्षक र पाठ्यक्रमलाई मात्र के दोष दिनु ? यस विषयमा पर्याप्त ज्ञान दिने सन्दर्भमा अधिकांश अभिभावक पनि चुक्थे । तर, एकाध अनुकरणीय अभिभावक नदेखेको भने होइन ।स्नातक अध्ययन गर्दैगर्दा ललितपुरको नाम चलेको एक स्कुलमा पढाउँथेँ । खाजा खाने ब्रेकमा साथीभाइसँग ब्याडमिन्टन खेलिरहेकी एक छात्राको स्कर्टमा रगत लागेको रहेछ, उनलाई पत्तै थिएन । आफ्नै सुरमा खेलिरहेकी थिइन् । 

अरू विद्यार्थीले भने थाहा पाइसकेका थिए । कोही मुख छोपेर हाँस्दै त कोही एकअर्काको अनुहार हेरी हाँस्दै गरेका वेला एक छात्र तिनका पछाडि गई उभिए । स्कर्टमा दाग लागेको कुरा बताए र टिचर्स रुममा लिई आए । मैले कल्पना गरेको ‘पिरियड पोजिटिभ’ समाजको सानो अंश त्यहीँ चरितार्थ भयो ।

हरेक वर्ष पढाइ हेरी दिइने ‘सर्वोत्कृष्ट विद्यार्थी पदक’ त्यस वर्ष पढ्नमा खासै रुचि नराख्ने र परीक्षामा सधैँ कम अंक ल्याउने ती छात्रका पोल्टामा प-यो । पदक ती छात्रले होइन, तिनको संस्कारले पाएको थियो । दर्शकको भिडमा बसी ताली बजाइरहेकी तिनकी आमाको खुसी अनुपम थियो ।